काठमाडौं। सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) छ। निर्यात उद्योगतर्फ शशिरञ्जन मिश्र, डाबर नेपालले सर्वाधिक कर बुझाएको छ।
विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन्। उनी एसियन पेन्टसका प्रमुख हुन्। कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाएको भन्दै सम्मानित भएको छ।
सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएएको छ। छिमेकबाट गणेश घिमिरे र नबिल बैंकबाट अनिल शाहले सम्मान ग्रहण गरेका छन्।
सेवामा नोबेल हस्पिटलले पनि धेरै कर तिरेर सम्मानित भएको छ भने पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) बढी कर तिरेर सम्मानित भएको छ। भाटभटेनी पनि बढी कर तिर्नेमा परेको छ। भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका छन्।
हिमाल पावर कम्पनीले पनि सम्मानित भएको छ। कम्पनीबाट उमेश शर्माले सम्मान ग्रहण गरेका छन्।
यता व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणाले सम्मानित भएका छन्। उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका चेयरम्यान हुन्।
सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ। कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले सम्मान ग्रहण गरेका छन्। भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ। कम्पनीका संजय बन्सलले सम्मान लिएका छन्।
बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ।
कर तिर्नेमा उत्कृष्ट व्यक्ति तथा संस्था
- सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
- निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: डाबर नेपाल (प्रा) लि
- विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: एसियन पेन्ट्स (नेपाल) प्रालि
- कृषि एवं पशुपक्षीजन्य उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: पूर्वाञ्चल एग्रिटेक प्रालि
- सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
- बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: नबिल बैंक लिमिटेड
- बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: नेपाल पुनर्बीमा कम्पनी लिमिटेड
- स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि
- पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता: तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
- वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताः भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि
- मध्यमस्तरीय करदातामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताः कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड
- ऊर्जामूलक उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताः हिमाल पावर लिमिटेड
- व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताः सिद्धार्थ शमशेर जबरा
- सबैभन्दा बढी कर तिर्ने करदाता : सूर्य नेपाल प्रालि
- २०६६ साउनदेखि ०७८ असारसम्म मूअकको मासिक कर विवरण र सोबमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदातामध्ये आव ०७७÷०७८ मा सबैभन्दा बढी मूअक तिर्ने करदाता : घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड