ढोरपाटनमा शिकार याम सुरु

-


     राम थापा ‘अविरल’    
     असाेज १ गते २०७८


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो । फाइल फोटो: वेव

ढोरपाटन शिकार आरक्षमा शिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो ।

विभागका अनुसार शिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले बोलपत्रमा भाग लिएको हो । बोलपत्रको प्रकृया पूरा गरेपछि मात्र कम्पनीले शिकारका लागि अनुज्ञापत्र पाउँछन् ।

प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक शिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । “प्रतिस्पर्धाबाट छानिएका कम्पनीले तोकिएको कोटाअनुसार आरक्षमा शिकार गराउन पाउँछन्”, उहाँले भन्नुभयो ।

आरक्षमा बर्सेनि (असोज–मङ्सिर), (फागुन–वैशाख) गरी दुई याममा नाउर र झारलको शिकार खुला हुन्छ । बोलपत्रको प्रकृया टुङ्गिएपछि पेशेवर विदेशी शिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली शिकार खेल्न आरक्षमा पुग्ने विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो ।

हरेक वर्ष असोज दोस्रो हप्तातिरबाट आरक्षमा शिकार खेल्न शुरु हुन्छ । गत वर्ष यही याममा भने ढिलो गरी शिकार खुलेको थियो । कोरोना महामारीलाई हेरेर स्वास्थ्य सुरक्षाको सुनिश्चितता र शर्तसहित शिकार खुला गरिएको थियो ।

गत (फागुन–चैत) याममा भने नौ नाउर र चार झारलको शिकार गरिएको थियो । विभागले अनुमति दिएकोमध्ये एउटा मात्र झारलको शिकार हुन नसकेको आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सुर्य खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले दुवै याममा गरी वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्ने गर्छ । शिकारको सबै काम विभागमार्फत हुने गरेको छ । स्थानीय व्यवस्थापन र अनुगमन मात्र आरक्ष कार्यालयले गर्छ ।

“शिकारका लागि आरक्षभित्रको सबै प्रबन्धका लागि हामी तयारी अवस्थामा छौँ”, सहायक संरक्षण अधिकृत खड्काले भन्नुभयो । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक शिकार गन्तव्य हो ।

शिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा शिकारको राजश्व दर घटबढ हुने गर्छ । कुनै याममा शिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् ।

तीन वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर शिकारको रु. तेह्र लाख ५१ हजार र झारल शिकारको रु. तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए । अहिले कोरोना महामारीको जोखिम घटेको, यात्रा प्रतिबन्ध पनि हटेको स्थितिमा विदेशीहरु शिकारका लागि ढोरपाटन आउन आतुर छन् ।

जसका कारण बोलभाउपत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । शिकार खेलाएर आरक्षले बर्सेनि कराडौँ रुपैयाँ राजश्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ । व्यवस्थित शिकारका लागि आरक्षभित्र सात ‘ब्लग’ तोकिएको छ ।

जसमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह छ । शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार गराउने गर्छन् । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउँछन् ।

सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइँमा ढोरपाटन पर्ने गरेको छ । एउटै शिकारीले रु. ३० देखि ३५ लाखसम्म शिकारमा खर्चने गरेको कम्पनी बताउँछन् । शिकारीहरु हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् ।

शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । १,३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

रोमाञ्चक र साहसिक शिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?