भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन जग्गा लिएको र उनैले सुविधा सम्पन्न कार्यालय भवन बनाइदिने तयारी गरेकोप्रति सरकार नेतृत्वकर्ता एमालेमा भित्रभित्रै भुसको आगो जसरी असन्तुष्टि चुलिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले दशैंको टीकाको अघिल्लो दिन २५ असोजमा गुरुङले कीर्तिपुरमा दिएको १० रोपनी १० आना जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए । ओली र उनीनिकट केहीबाहेक अधिकांश नेता कार्यकर्ता त्यसको विपक्षमा छन् ।
तर, मुखर भएर कोही पनि बोल्न सक्दैनन् । कारण हो, राजनीतिक भविष्य दाउमा पर्छ भन्ने चिन्ता । ओलीको गलत कार्यशैलीप्रति फरक मत राखेकै कारण तत्कालीन उपाध्यक्ष भीम रावलको राजनीतिक भविष्य करिब संकटमा छ ।
एमालेभित्र ओलीको विरोध गर्दा भीम रावल भइएला भन्ने भय धेरैमा छ । त्यही कारण गलत भएको जान्दाजान्दै कोही पनि ओलीको विषयमा मुख खोल्न सक्दैनन् ।
तर, स्थायी समिति सदस्य डा. बिन्दा पाण्डेले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी कार्यालय बनाउन व्यापारीले जग्गा दिने र कार्यालय भवन वनि उनैले बनाइदिने कार्य गलत भएको भन्दै आपत्ति जनाइन् ।
उक्त कदमले ५ लाख पार्टी सदस्य र २८ लाख कार्यकर्ताको मतदाताको अपमान भएको बताइन् । पाण्डेले उक्त गलत निर्णय तत्काल सच्चाउन माग गरेकी छन् ।
यसै सन्दर्भमा नेता पाण्डेसँग कुराकानी गरेको छ । प्रस्तुत छ पाण्डेसँगको कुराकानी ।
पार्टी कार्यालयको विषयलाई लिएर बाहिरै असन्तुष्टि पोख्नुभयो प्रतिक्रियाहरु कस्ता आइरहेका छन् ?
प्रतिक्रिया धेरै नै आएका छन् । कसै न कसैले सत्य बोल्नुपथ्र्यो बोल्नुभयो भन्नुभएको छ साथीहरुले ।
तलका कार्यकर्ताले त्यसो भनेका छन् कि नेताहरुले ?
तलबाट हो । माथितिरको चाहिं राम्रो वा नराम्रो भनेर केही पनि आएको छैन ।
०७२ को महाभूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्किएपछि स्थायी कार्यालय छैन । कहिले कता कहिले कता गरेर १० वर्षमा तीन ठाउँमा कार्यालय सर्नुपरेको छ । यस्तोमा कार्यालय आवश्यक होइन र ?
पार्टी कार्यालय बनाउन जरुरी थियो । त्यही भएरै केन्द्रीय परिषद बैठकले कार्यालय बनाउने निर्णय गरेको हो । पार्टीको निर्णय नै छ हरेक पार्टी सदस्यबाट कम्तिमा एक दिनको पारिश्रमिक बराबरको सहयोग लिने र कार्यालय बनाउने भन्ने । त्यसो गर्दा कसैको पनि सहयोग लिर्नै पर्दैन ।
एमालेका कार्यकर्ता र शुभेच्छुकहरु नै आफ्नो कार्यालय बनाउन सक्षम छन् । पार्टीको आन्तरिक पंक्तिबाटै थोरै सहयोग जुटाउँदा पनि अर्बौं रुपैयाँ जम्मा हुने अवस्था छ ।
तपाईंको विरोध चाहिं व्यवसायीको सहयोग लिनु हुन्थेन भन्नेमा हो ?
व्यवसायीको सहयोग लिनु हुँदैन वा हुन्थ्यो भन्ने होइन । पहिलो कुरा त जसले जग्गा दिनुभयो र पार्टी कार्यालय बनाइदिने घोषणा गर्नुभएको छ उहाँका बारेमा अदालतमा मुद्धा विचाराधीन छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले त्यस्तो व्यक्तिबाट सहयोग लिने कि नलिने ? कसरी लिने ? लिँदा के हुन्छ र नलिँदा के हुन्छ ? यस्ता कुरामा विचार गर्नुपथ्र्यो ।
सहयोग लिने नै हो भने पारदर्शी हुनुपथ्र्यो । पार्टीमा छलफल र निर्णय गर्नुपथ्र्यो । हामीले पार्टी सदस्यबाट सहयोग संकलन गरेर कार्यालय भवन बनाउने निर्णय गरेको धेरै भएको छैन । अहिले कसरी एक्कासि व्यसायीको सहयोग लिएर पार्टी कार्यालय बनाउनुपर्ने अवस्था आयो । पहिलाको निर्णय अब के हुन्छ ? यसमा प्रश्न त स्वतः उठ्छ नि ।
जे भए पनि भवनको शिलान्यास नै भइसक्यो, अब तपाईं बोलेर केही होला र ?
मीनबहादुर गुरुङबाट सहयोग लिनु कति उचित, अनुचित वा न्यायोचित भन्नेबारे छलफल गर्नुपथ्र्यो । कोही मान्छेबाट सहयोग लिन हुन्थ्यो कि हुन्नथ्थो भन्ने विषय होइन । अहिले पार्टी कुन ठाउँमा छ, मुलुकको अवस्था के छ र उहाँ (मीनबहादुर) को विचाराधीन मुद्धाले के म्याटर गर्न भनेर सोच्नुपथ्र्याे भन्ने मेरो कुरा हो ।
सामाजिक सञ्जालमा पार्टी अध्यक्ष केपी ओलीको यसरी खुलेआम आलोचना गरेपछि बिन्दा पाण्डे पनि भीम रावल बन्ने हुनुभयो भनेको देख्नुभएको छ ?
सुनेको/देखेको छु । साथीहरुले चिन्ताका साथ पनि भन्नुभएको छ । तर, मलाई केही फरक पर्दैन । म भीम रावलभन्दा पहिला नै बिन्दा पाण्डे भइसकेको मान्छे हुँ । चिन्ता गर्ने साथीहरु र शुभेच्छुकहरुप्रति धन्यवाद छ । भएको कुरा बोल्ने हो । लागेको कुरा बोल्ने हो । पार्टीभित्र र बाहिर पनि मेरो हकमा यो कुरा स्थापित नै छ ।
म राजनीतिमा लाग्दा नै ‘म्याथ’ मा कमजोर हो । यसमा चिन्ता छैन ।
तपाईंको विचारमा व्यवसायीको जग्गामा उनैको पैसाले पार्टी कार्यालय बनाउने कदमबाट नेतृत्व पछि हट्ला त ?
मेरो भनाइ रिभ्यु गरौं भन्ने हो । हुन्छ हुँदैन अहिले भन्न सक्दिन । तर, मेरो विचारमा त्यसका लागि वातावरण बन्छ होला । त्यो बाहेक अरु विकल्प म देख्दिन ।
किन पार्टी कार्यालय पार्टी कार्यकर्ताको लगानीमा बनाउनुपर्ने ?
सबैले पार्टी कार्यालय मेरो पनि हो भन्ने अनुभूति गर्न पाउनुपर्छ । एमाले एक्लैले कार्यालय बनाउन सक्छ । हरेक पार्टी सदस्यको एक दिनको पारिश्रमिक जम्मा गर्दा मज्जाले कार्यालय बनाउन सकिन्छ । अहिले सामान्य ज्याला मजदुरी गर्नेको पनि एक दिनको तलब ७ सयदेखि १ हजार हुन्छ ।
५ लाख पार्टी सदस्यले ७ सयदेखि १ हजार दिँदा करोडौं पैसा जम्मा हुन्छ । पैसा भन्दा पनि अपनत्व जोडिएको हुन्छ यसमा । पार्टी बनाउन मात्र होइन, पार्टी भवन बनाउने मौका पनि कार्यकर्तालाई नै दिनुपर्छ भन्ने मेरो कुरा हो । पार्टीको निर्णय पनि त्यही छ भने हामी किन फरक बाटो हिंड्न खोजेका छौं ?
हामीले सन् ०९६ मै हामीले बागबजारमा चार वर्षे योजनासहित जिफन्टको कार्यालय बनाउन सुरु गरेका थियौं । २०२० सम्ममा आफ्नै भवन बनायौं । त्यतिबेला हामीले पनि संगठनका हरेक सदस्यबाट एक दिनको पारिश्रमिक जम्मा गर्ने अभियान चलायौं ।
आज पनि त्यो भवनभित्र छिर्दा हरेक सहयोगीले यो घरमा एउटा इट्टा मेरो पनि सहयोग थियो भन्छ । अहिले पार्टीमा होला या नहोला । ट्रेड युनियन आन्दोलनमा होला या त्यसभन्दा बाहिरै होला ।
तर, त्यो मान्छेले त्यहाँ पुग्दा एक किसिमको गर्वको अनुभूति गरेकै हुन्छ । पार्टी कार्यालयमा बनाउँदा पनि त्यही फिल आओस् भन्ने हो ।
यो अन्तरवार्ता काठमाण्डुटुडेबाट साभार गरिएको हो ।