गुल्मीको रूरूक्षेत्र गाउँपालिका– ४ स्थायी घर भई हाल बर्दघाट नवलपरासीमा बस्दै आएका नेत्रप्रसाद पन्थ (९७) को विवाह गरेको वर्ष संवत् १९९७ सालमा १३ पाथी कुराउनी र केरा ससुरालीमा लगिएको थियो ।
१३ पाथी कुराउनी बनाउन दार्सिङबास–ठानिडाँडा (साविक गाविसको एउटा वडा)को दूधले नपुगेर २ पटकसम्म खोलापारिको गाउँ दिगामबाट दूध संकलन गरिएको नेत्रप्रसादले स्मरण गरे । ‘त्यो बेला सके धेरै, नत्र एक भारी केरा–कुराउनी अनिवार्य लैजाने चलन थियो । केरा–कुराउनी माइती पक्षले खाएपछि मात्र विवाह पाको (परिपक्व) भएको मानिन्थ्यो । केरा–कुराउनी लैजानु छोरी ल्याएबापतको दस्तुरजस्तो मानिन्थ्यो,’ नेत्रप्रसादले भने ।
विवाहको बेला निम्तो भनेका घरबाट दूध संकलन गरी मध्यरातसम्म तामाको खड्करो (ताउलो)मा कुराउनी घोट्ने चलन थियो । त्यो कुराउनी बेहुलीको घरमा पुर्याउँदा जन्ती पर्छिएजस्तै भरियालाई पर्सेर भित्र्याउने चलन रहेको पन्थले स्मरण गरे । त्यो केरा–कुराउनी छोरी अन्माएको परिवारले छरछिमेकसँग बाँडेर खाने प्रचलन छ ।
बेहुला पक्षले केरा–कुराउनी नलगेसम्म माइती पक्षले छोरीको घर आएर केही नखाने चलन रहेको उनले स्मरण गरे । (विस्तृत कुराकानी बक्समा)
दशैंको त्रयोदशीदेखि नवमीसम्म रातो पछ्यौरीले बेरिएका डोकोमा केरा र कुराउनीको भारी बोकेर भरिया हिँड्ने दृश्य लगभग मेटिएका छन् । २०५० को दशकको अन्त्यसम्म पनि यो प्रचलन गाउँमा थियो । विवाह गरेको वर्ष केरा–कुराउनी नलैजाने दुर्लभै भेटिन्थे ।
झण्डै दुई दशकको अवधिमा परिस्थिति उल्टिएको छ, केरा–कुराउनी लैजाने दुर्लभै भेटिन्छन् । जसरी वर्णशंकर जातको काँक्रोले रैथाने काँक्रोलाई विस्थापन गर्यो, त्यही शैलीमा शताब्दी पुरानो एउटा संस्कृति नामेट हुन लागेकोमा बूढापाकाको चिन्ता छ ।
पछिल्ला वर्षहरूमा त्यो संस्कार क्रमशः विस्थापित हुँदै गएको छ । पश्चिम नेपालका गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, बाग्लुङ, पर्वत, प्युठानलगायतका जिल्लामा विवाह गरेको वर्षको दशैंमा बेहुला पक्षको परिवारले बेहुली पक्षको घरमा कोशेली स्वरूप केरा र कुराउनी (खुवा) लैजाने प्रचलन केही वर्षअघिसम्म नियमितजस्तो थियो ।
यसका लागि सोह्रश्राद्ध सकिएको भोलिपल्टदेखि गाउँमा दूध संकलन गर्ने काम हुन्थ्यो । त्यतिबेला गाउँमा डेरी खुलेका थिएनन् । घटस्थापनादेखि फूलपातीसम्मको दिनमा बिहान बेलुकै ठेकीमा दूध खन्याउनुनपर्ने अहिले उमेरले ५० कटेका पाकाहरू सम्झन्छन् ।
दुलही (पश्चिम नेपालका गाउँमा बेहुलीलाई दुलही सम्बोधन गरिन्छ)का माइती पक्षमा बुवाहरू जति भाइ छन्, त्यति भारी कुराउनी पठाउने प्रचलन थियो । एक भारीमा एक पाथी कुराउनी र एउटा घरी केरा राख्ने गरिएको बूढापाकाहरू स्मरण गर्छन् । डोकोको पिँधमा तामाको तमौरोमा कुराउनी, त्यसमाथि केरा र कतिपयले रोटी समेत पकाएर राख्ने गरेको ९७ वर्षीय नेत्रप्रसादको स्मरण छ ।
नेकपा एमालेका उपमहासचिव समेत रहेका पूर्व संस्कृति मन्त्री प्रदीप ज्ञवाली केरा–कुराउनी लैजाने संस्कृतिको तीन महत्त्वपूर्ण पक्ष भएको ठान्छन् । केरा–कुराउनी लैजाने क्रममा गाउँमा सामूहिकताको अनुपम नमूना देखिने गरेको उनको भनाइ छ । ‘त्यसले नातेदारको वृहत् वृत्त (सर्कल) निर्माण गर्थ्यो । कुराउनी घोट्नकै लागि पनि मान्छेहरू रातभर जम्मा हुने । कुराउनी लैजाँदा त्यसले माइती र घर पक्षको आत्मीयतालाई प्रबर्द्धन गर्ने काम गर्थ्यो भन्ने मलाई लाग्छ,’ ज्ञवालीले भने, ‘एउटा मूल्यवान र स्वादिष्ट परिकार उपहार पठाउने कुराले घर र माइती पक्षको सम्बन्धलाई बलियो बनाउने हिसाबले पनि लामो समयसम्म निकै महत्त्वपूर्ण माध्यमका रूपमा रह्यो भन्ने लाग्छ ।’
पछिल्ला वर्षहरूमा डेरीमा किनेर पठाइएका कुराउनी या पसलमा किनेर पठाइएका मिठाइले त्यो आत्मीयता नहुने ज्ञवालीको ठम्याइ छ । (विस्तृत कुराकानी बक्समा)
‘त्यो परम्परा सत्य युगजस्तो थियो’
गुल्मीको मुसिकोट नगरपालिकाबाट झण्डै ४ दशकअघि कीर्तिपुर बसाईं सरेका प्रा.डा. पारसमणि भण्डारी (७०) दशैंको समयमा नवविवाहित बेहुलाले केरा–कुराउनी लैजाने परम्परा पश्चिम नेपालका जिल्लामा अनिवार्यजस्तै रहेको स्मरण गर्छन् ।
९६ वर्षको उमेरमा निधन भएका बुवा यज्ञलाल भण्डारीले दशैंको बेलामा केरा–कुराउनी लैजाने चलन आफ्ना बुवाको पालामा पनि रहेको बताएकाले यो संस्कृति शताब्दी पुरानो रहेको डा. भण्डारीको ठम्याइ छ ।
‘दुई वर्षअगाडि ९६ वर्षको उमेरमा निधन भएका मेरो बुवाले हजुरबुवाको पालमा पनि यो प्रचलन रहेको सुनाउनु भएको थियो, कतै अभिलेख नभएपनि पश्चिम नेपालमा यसलाई शताब्दी पुरानो प्रचलन मान्न सकिन्छ,’ भण्डारीले लोकान्तरसँग भने ।
डा. पारशमणि भण्डारी
उमेर शताब्दी नजिक पुगेका स्व. भण्डारी र अहिले ९७ वर्षका नेत्रप्रसादका कुराले त्यो प्रचलन शताब्दी पुरानो रहेको अनुमान लगाउन सकिन्छ ।
आफ्नो विवाहको वर्ष ३ भारी केरा– कुराउनी लिएर गुल्मीको आँपचौरदेखि अर्घाखाँचीको केरूङ्गा गएको भण्डारीले स्मरण गरे ।
‘मेरो माइलो भाइको विवाह भएको वर्ष त ५ भारी केरा–कुराउनी लिएर बुवा स्वयं जानुभएको थियो,’ भण्डारीले स्मरण गरे ।
त्यो बेला गाउँमा भारतीय नोट सर्वसुलभ रहेकाले दशैंको दक्षिणा र केरा–कुराउनीको दक्षिणामा आईसी नोट प्रचलनमा रहेको भण्डारीको स्मरण छ ।
घर–गृहस्थी गरेको वर्ष आफ्नो घरमा नभए दूध मागेरै भएपनि केरा–कुराउनी लैजाने र कसैकोमा कुराउनी घोट्न गाउँले सबैले सहयोग गर्ने प्रचलन ‘सत्य युग’जस्तो भएको त्रिविबाट निवृत्त प्राध्यापक भण्डारीको बुझाइ छ । साविकको लुम्बिनी, गण्डकी र धौगागिरी अञ्चलका जिल्लाहरूमा त्यस्तो प्रचलन रहेको भण्डारीले बताए ।
२०३४/०३५ सालमा आफू दाङ जिल्लामा रहेको समयमा पनि दशैंको बेला केरा–कुराउनी लैजाने प्रचलन आफूले देखेको भण्डारीले स्मरण गरे । बसाईं सरेर जानेहरूले नयाँ ठाउँको संस्कृति अवलम्बन गर्दा पनि पुरानो संस्कार हराउँदै गएको उनको बुझाइ छ ।
बुटवलमा बसेर कलम चलाउँदै आएका लेखक साहित्यकार नारद गौतम (७०)को अनुभवमा छोराको विवाह गरेको वर्ष दस्तुरका रूपमा केरा–कुराउनी लैजाने चलन निकै पुरानो हो । ‘नयाँ ज्वाइँ दशैंमा टीका लगाउन जाँदा केरा–कुराउनीको भारी बोकाएर जान्थे । दुलहीका बाउ र दाजु पर्ने जति छन्, तिनी सबका घर केरा–कुराउनी पुर्याइन्थ्यो,’ गौतमले विगत स्मरण गर्दै भने, ‘कुराउनी लैजाने वर्ष भनेपछि जुन घरमा गए पनि खुरुक्क दूध दिन्थे । जम्मा गरेर तामाको ताउलामा कुराउनी घोटिन्थ्यो ।’
नारद गौतम
गौतमका अनुसार नातापाताले आफैं तत्पर भएर सहयोग गर्छु भनी स्वयं कुराउनी घोटेर ल्याइदिन्थे । ‘ठूलो कोसे र मालभोग केरा पकाएर २/३ घरीसम्म पनि लैजान्थे चलन थियो । दुलहीलाई दुलही पोको भनेर अलग छुट्याउँथे,’ गौतमले भने, ‘दशैंमा कुराउनी घोट्ने र केरा पकाउने चहलपहल नै अर्कै हुन्थ्यो । आधुनिकताले अँचेट्यो, क्रमशः त्यो प्रचलन सामान्य दस्तुरमा झर्यो र थोरैमात्र लैजान लागे । अहिले त्यो प्रचलन लगभग मेटियो ।’
दाइको पालामा ३० पाथी कुराउनी लगे, मैले परम्परा तोडें– चित्रबहादुर केसी
स्थायी ठेगाना बाग्लुङ भएका चित्रबहादुर केसी (८४)का दाइ स्व. मानबहादुर केसीको विवाह भएको वर्ष (विक्रम संवत् २०१० साल)मा झण्डै ३० पाथी कुराउनी संकलन भएको थियो । ‘हाम्रा पिताजी (नरिश्वर शर्मा) दरबारको भान्से (गलकोटे राजाको भान्से) भएकाले गाउँमा उहाँको हैकम थियो । उहाँले भनेपछि गाउँका मान्छेले दूध संकलन गरेर कुराउनी घोटेर ल्याएका थिए,’ केसीले झण्डै ७० वर्ष पहिलेको घटना स्मरण गरे ।
तर, आफ्नो पालामा त्यो तामझाम घटाएर २ पाथी कुराउनी र एकघारी केरा लगेको केसीले स्मरण गरे ।
चित्रबहादुर केसी
‘केरा–कुराउनी लगेर माइती पक्षको ढाड सेक्ने काम हुन्थ्यो । केरा–कुराउनीको दोब्बर दक्षिणा दिनुपर्ने । त्यसले गर्दा बेहुलीको माइती पक्षलाई ठूलो आर्थिक भार पर्थ्यो, ऋण लाग्थ्यो,’ केसीले लोकान्तरसँगको कुराकानीमा भने, ‘परम्परालाई पूरै तोड्न सकिनँ, तर मैले थोरै कुराउनी लैजाँदा मेरो सासूससुरा खुसी हुनुभयो । उहाँहरूले राहत मान्नुभएको थियो ।’ त्यो बेला केसीको घरमा लैना–बर्केना गरेर ५ वटा भैँसी थिए ।
‘२०३७ सालमा पार्टीको बैठक हाम्रो घरमा बसेको थियो । त्यो बेला मोही दिएको हाम्रो महामन्त्री (मोहनविक्रम)ले दही भन्ठान्नुभएछ । मोही पनि त्यति बाक्लो थियो,’ केसीले स्मरण गरे ।
गाउँमा परम्परा धान्ने काम चलिरहेको छ– गाउँपालिका अध्यक्ष ज्ञवाली
गुल्मीको रूरूक्षेत्र– ४ तलिगाउँका सन्दीप क्षेत्रीले चलिआएको परम्परा धान्नका लागि भन्दै यो वर्ष कुराउनी घोटे । भाइको विवाहका बेला तोडिएको परम्परा उनले फेरि शुरू गरे ।
‘मंगलबार साँझ दूध संकलन गरेर राति १२ बजेसम्म कुराउनी घोट्ने काम सम्पन्न भयो । बुधबार रोटी पकाउने काम चलिरहेको छ । बिहीवार ससुरालीमा लैजाने तयारी छ,’ गत वर्ष मंसिरमा विवाह गरेका सन्दीपले भने ।
उनले केरा–कुराउनीको कोशेली रूरूक्षेत्र– ४ कै मुसीगाउँमा लैजादै छन् ।
‘कुन ठाउँमा विवाह गरियो भन्ने कुराले पनि निर्धारण गर्दोरहेछ । भाइको विवाह शहरतिर भयो, उताबाट कुराउनी नल्याउन भनेपछि घोट्ने झञ्झट गरिएन,’ सन्दीपले भने ।
केरा–कुराउनी लैजाने तयारी गर्दै सन्दीपको परिवार । ताउलोमा कुराउनी पकाइदै
विगतमा जस्तो भरियालाई बोकाएर नभई मोटरसाइकलमा राखेर केरा–कुराउनी लैजाने तयारी भएको उनले सुनाए ।
रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले परम्परा धान्न छिटफुट रूपमा कुराउनी घोट्ने चलन गाउँमा रहिआए पनि विगतमा जस्तो उत्साह नरहेको बताए ।‘विगतमा जस्तो गाउँभरी दूध संकलन गरेर कुराउनी घोट्ने चलन त लगभग हरायो । तर, डेरीबाट कुराउनी किनेर कोशेली लैजाने चलन भने अझै बाँकी छ,’ ज्ञवालीले भने ।
माइती र घर पक्षको आत्मीयता प्रबर्द्धन गर्ने काम गर्थ्यो– प्रदीप ज्ञवाली
विवाहपछि बेहुलाको घरबाट माइती पक्षमा केरा–कुराउनी पठाउने चलन निकै पुरानो हो जस्तो लाग्छ । हामीले बुवा हजुरबुवाबाट पनि त्यही सुन्दै आयौं । ठ्याक्कै कहिलेदेखि शुरू भएको थियो, यकिन भन्न सकिँदैन ।
यो प्रचलन शुरू हुनुमा सम्भवतः दुईवटा कारण होलान् जस्तो लाग्छ । त्यतिबेला बाहुन–क्षेत्री समुदायमा खाद्यान्न/मिष्ठान्नको सबैभन्दा महत्त्वपूर्ण र पवित्र वस्तु दूध । दूधको पनि परिष्कृत रूप कुराउनी, जो लामो समयसम्म पनि नबिग्रने र असाध्यै स्वादिष्ठ तथा स्वस्थ्यवर्द्धक पनि हुन्छ ।
दोस्रो, मध्यपहाडी क्षेत्रमा सहज ढंगले उपलब्ध हुने फलफूलको रूपमा केरा, जसलाई लामो समयसम्म सुरक्षित ढंगले राख्न सकिन्थ्यो । अहिले रासायनिक पदार्थ प्रयोग गरेर छिट्टै पाक्ने र बिग्रने समस्या छ । प्राकृतिक रूपले पाक्ने र प्राकृतिक रूपले नै त्यसको साइकल पूरा हुने भएकाले केरा पनि लामो समय टिक्थ्यो । राम्रा र पवित्र उपहार पठाउने हिसाबले यस्तो परम्परा शुरू भएको होला भन्ने लाग्छ ।
दोस्रो, यससँग जोडिएको साह्रै रमाइलो पक्षचाहिँ– एउटा सामूहिकता झल्किन्थ्यो । फलानाको घरबाट केरा–कुराउनी जान्छ भनिसकेपछि गाउँघरबाट दूध संकलन गर्ने । सबैको घरमा एउटा दुईवटा भैँसी हुन्थ्यो । ग्रामीण क्षेत्रमा हुने सामूहिकताको एउटा अभिव्यक्तिको रूपमा थियो भन्ने पनि लाग्छ ।
तेस्रोपाटोचाहिँ त्यसले नातेदारको वृहत् वृत्त (सर्कल निर्माण गर्थ्यो । कुराउनी घोट्नकै लागि पनि मान्छेहरू रातभरी जम्मा हुने ।
कुराउनीले माइती र घर पक्षको आत्मीयतालाई प्रबर्द्धन गर्ने काम गर्थ्यो भन्ने मलाई लाग्छ । साह्रै बोेझिलो पनि हुँदैनथ्यो । घरबाट सहयोग गर्ने र त्यसमार्फत एकखालको सामूहिकताको पाटो थियो । एउटा मूल्यवान र स्वादिष्ट परिकार उपहार पठाउने कुरालेचाँहि घर र माइती पक्षको सम्बन्धलाई बलियो बनाउने हिसाबले पनि लामो समयसम्म निकै महत्त्वपूर्ण माध्यम रह्यो भन्ने लाग्छ ।
मान्छेको बदलिँदो जीवनशैलीका कारण यो परम्परा तोडिँदै गएजस्तो लाग्छ । पहिलो कुरा त्यो भन्दा स्वादिष्ठ चिज उपलब्ध हुन थाले, अब कुराउनी लग्नुभयो भने पनि डेरी वा खुवा बनाउने पसलबाट लैजान सजिलो हुन्छ । त्यो एक खालको आत्मीयता नै पाउनुहुन्न । सामूहिकताको कुरा त रहेन, पैसा भएपछि जे पनि पाउनेजस्तो भयो । समाजको बदलिँदो स्वरूप र उपहारका विभिन्न विकल्प भएपछि यसको महत्त्व घटेको हुनुपर्छ । यद्यपि, अहिले पनि गाउँघरमा उपहार पठाउने चलन छँदैछ । शहरी क्षेत्रमा तयारी मिष्ठान्नले त्यसको स्थान लिन थालेका छन् । अघिल्लो दिन पठाउने भन्दा दशैंकै दिन लैजाने चलन छ ।
त्यो उपहारमा जुन आत्मीयता पाउनुहुन्थ्यो, जुन महत्त्व थियो, जुन सन्देश हुन्थ्यो, त्यो अहिले पाइँदैन । उपहार पनि सामाजिक तडकभडक र हैसियत दर्शाउने माध्यमजस्तो भयो । हिजो सक्नेहरूले दुई/तीन भारी पठाउने, नसक्नेले एक भारी पठाउने चलन थियो । पठाउन सकिन्थ्यो, किन भन्दा सहयोग गर्ने सामूहिक भावना थियो । सबैले मिलेर गर्नुपर्छ, भोलि मलाई पनि त्यो पर्छ भन्ने थियो । मानिसहरूले सजिलै सहयोग गर्थे । त्यो खालको सामूहिकता हराउँदै गएको देख्छु ।
(नेकपा एमालेका उपमहासचिव एवं पूर्व संस्कृति मन्त्री ज्ञवालीसँग गरिएको कुराकानीमा आधारित)
मेरो विवाहमा १३ पाथी कुराउनी लगिएको थियो– नेत्रप्रसाद पन्थ (९७)
विवाह गरेको वर्ष केटा पक्ष (दुलाहा)को तर्फबाट दुलहीका माइतीमा दशैंको एक-दुई दिनपहिले आफ्नो गच्छेअनुसार केरा–कुराउनीका भारी लैजाने चलन थियो । सानै उमेरमा विवाह हुने हुँदा विवाह गरेको वर्ष वा बिजोर वर्ष (३ वर्ष)मा दुलहीको घरका सबै सदस्यलाई पाहुरसहित ल्याएर भात चलाउने (सासु र बुहारीले पकाएर) घरका व्यक्तिलाई खुवाउने चलन पनि थियो ।
सके धेरै, नत्र एक भारी केरा–कुराउनी अनिवार्य लैजाने चलन थियो । कुराउनी–केरा माइती पक्षले खाएपछि विवाह पाको (पक्का) भएको मानिन्थ्यो । यसलाई अर्काको छोरी ल्याएबापतको दस्तुरजस्तो मानिन्थ्यो । केटा पक्षको तर्फबाट केरा–कुराउनी नलगेसम्म छोरीको घर आएर माइती पक्षले केही नखाने चलन थियो ।
मेरो १३ वर्षमा विवाह भयो । मेरो ससुरा मुखिया जिम्ववाल हुनुहुन्थ्यो । ठूलो घर–घरानामा विवाह भएकाले हाम्रो तर्फबाट धेरै केरा–कुराउनी लैजाने कुरा भयो । गाउँमा फलानाको कुराउनी लाने भनेपछि सबैले दूध घरमा ल्याइदिन्थे । छिमेकमा सहयोगको भावना थियो । मानिसहरू सहयोगी र इमान्दार थिए । मिलेर कुराउनी घोटिन्थ्यो ।
थानीडाँडा र दार्सिङबासमा दूध जम्मा गर्दा नपुगेर दिगामबाट पनि दुईपटक दूध ल्याएर घोटियो । जम्मा १३ पाथी कुराउनी भयो । यसरी संकलन गरिएको दूधको पैसा लिन्थेनन् कसैले । केरा किन्नुपर्यो भने एक पैसामा दुई कोसा केरा पाइन्थ्यो । अरू भन्दा मालभोग केराको घरी खोजेर ल्याइन्थ्यो ।
तामाका तमौरामा कुराउनी भरेर डोकोको पिँधमा राख्ने र माथि केरा राखेर कपडाले छोपिन्थ्यो । बेहुलीकी आमालाई छुट्टै पोको रातो कपडाले छोपेर लगिन्थ्यो ।
कुराउनीको भारी लैजाँदा भरियासँग एकजना सरदार पठाइन्थ्यो । सरदारसहित भरियालाई छोरी पक्षले टीका लगाएर, पर्सेर बल्ल कुराउनी भित्र राख्थे र सबै छिमेकीलाई पनि बाँड्थे ।
कुराउनी लैजाने भरियालाई केटा पक्ष र केटी पक्षबाट एक–एक रुपैयाँ दिने चलन थियो । कसैले ५–१० पैसा थपेर दिन्थे । पातमा पोको पारेर दिन्थे । कुराउनीको भारी बोक्नेलाई थप एक पाथी धान दिने चलन थियो।
मेरो विवाहमा पहिला चार भारी केरा–कुराउनी पठाएको र पछि दशैंका दिन एक भारी लिएर गएको थिएँ । दशैंमा ज्वाइँलाई टीका लगाएर कुराउनी र केराको पैसा दिन्थे । त्यो बेला भारीको १० रुपैयाँसम्म दिन्थे ।
केरा–कुराउनीको पैसा घरमा ल्याएर बुवालाई दिने चलन थियो । ज्वाइँलाई छुट्टै दिन्थे । धेरै लानेले १५ भारीसम्म लगेको मलाई थाहा छ ।
पछि यो प्रचलन हट्दै गयो । दूध मागेर पाइन छाड्यो । दिनेले पनि पानी हालेर दिने, दुःख मान्ने, भैँसीले दिएन भन्ने अवस्था आउन थाल्यो । पैसा दिने (कुराउनी खाने माइती पक्ष)ले पनि धेरै दिनुपर्ने भयो ।
अहिलेको नयाँ पुस्ताले यसलाई झञ्झट मान्न थाल्यो । भरियाको सट्टा गाडी रिजर्भ गर्नुपर्ने भयो । नयाँ पुस्ताले केरा–कुराउनी खान नै कम गरे । अचेल विवाह गरेको ३ रातपछि माइती जाँदा नै थोरै कुराउनी, केरा र फलफूल लैजाने चलन भयो । हाम्रो पालाको जस्तो संस्कार अब रहेन ।
(९७ वर्षीय नेत्रप्रसाद पन्थसँग छोरा गिरिराज पन्थको सहयोगमा गरिएको कुराकानी)
( लोकान्तर अनलाइनका लागि सुशिल पन्तले तयार पारेको सामग्री हुबहु साभार गरिएको छ । सम्पादक)