प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

-


     जनहित न्युज    
     असार ३२ गते २०८१


काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि रहेका छन् । 

राष्ट्रपति कार्यालयका अनुसार सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको भएका छन्।

कांग्रेसबाट प्रकाशमान सिंह उप प्रधान तथा शहरी विकास, रमेश लेखक गृह,आरजु राणा परराष्ट्र, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, अजय चौरसिया कानून, तेजुलाल चौधरी युवा खेलकुद, बद्री पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ र रामनाथ अधिकारी कृषिमन्त्री भएका छन्।

कांग्रेसबाट ऊर्जा मन्त्री बनेका दीपक खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर सत्ता र शक्तिको बलमा १२ रोपनीमा कब्जा जमाएको आरोप छ। खड्काले सम्झौताविपरीत नेपाल स्काउटको थप नौ रोपनी जग्गा हडपेर ब्यांक्वेट, रेस्टुराँ र वर्कसपलगायत व्यवसाय चलाएका छन्।

यस्तै परराष्ट्रमन्त्री आरजु राणा भुटानी शरणार्गी जग्गा प्रकरण नाम जोडिएकी हुन्। यस्तै टीकापुरमा सार्वजनिक जग्गा आफ्नो र परिवारको नाममा ल्याएको आरोप पनि उनीमाथि छ।

एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मानवीर राई रक्षामन्त्री र राजकुमार गुप्ता मन्त्री बनेका छन्।

देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बनेका छन्।

कांग्रेसबाट को को ? 

प्रकाशमान सिंह- सहरी विकास
रमेश लेखक- गृह
आरजु राणा- परराष्ट्र
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का- ऊर्जा
ऐनबहादुर शाही- वन तथा वातावरण
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी

एमालेबाट को को ? 

विष्णु पौडेल- अर्थ
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई- रक्षा

जसपा

प्रदीप यादव- खानेपानी
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपा

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?