खाना खेर फाल्न प्रोत्साहन गरेको भन्दै चीनमा चल्यो केएफसी बहिष्कार अभियान

-


     जनहित न्युज    
     माघ १ गते २०७८


चीनमा केएफसीले खाना खेर फाल्न प्रोत्साहन गर्ने गरेको आरोप लागेको छ । चीनको एक प्रमुख उपभोक्तावादी समूहले केएफसीलाई बहिष्कार गर्न अभियान नै चलाएको छ ।

द चाइना कन्जयुमर्स एसोसिएसन (सीसीए)ले केएफसीको प्रचार प्रसारका कारण मानिसहरू त्यसको खाना किन्न होडबाजी गर्न थालेको जनाएको छ । 

गत सातादेखि केएफसीले आफ्नो सानदार र रहस्यात्मक बक्साहरूका लागि चर्चित चिनियाँ खेलौना निर्माता पप मार्टसँग मिलेर आफ्नो प्रचार कार्य थालेको छ । केएफसी खाना खरिद गरेबापत ग्राहकलाई ठूला ठूला आँखा भएका र बाटुलो अनुहारका पुतली निशुल्क प्रदान गरिने गरिएको छ । 

सरकारसँग आबद्ध सीसीएले भनेको छ, “केएफसीले ग्राहकलाई लोभ्याउन र आकर्षित गर्न थोरै मात्र स्टक रहेको ब्लाइन्ड बक्स बिक्री गर्न थालेको छ । पुतली उपहार पाउने आशामा ग्राहकहरूले धेरै भन्दा धेरै खाना किन्नु भनेको सार्वजनिक व्यवस्था, असल परम्परा र कानुन विपरीत छ । पुतली पाउन एकसय पटक भन्दा बढी खाना खरिद गर्दा एक ग्राहकले एक हजार ६ सय ४९ अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने हुन्छ । साथै ग्राहकले अरूलाई पनि खाना किनेर खर्च गर्नुपर्ने हुन्छ । र, वास्तवमा किनिएको खाना नखाइकनै खेर फाल्नुपर्ने स्थिति उत्पन्न हुन्छ ।”

केएफसीले पहिलोचोटि ३५ वर्ष अघि चीनमा आफ्नो आउटलेट खोलेको थियो ।चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको महामारी बढेसँगै खाद्यान्न अभावको समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै जनतालाई खाना खेर नफाल्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?