
फुकुओका। जापानको फुकुओका सहरस्थित एक व्यापारिक भवनमा आइतबार साँझ छुरा प्रहारको घटना भएको छ। घटनामा चर्चित जापानी आइडल समूह ‘HKT48’ का एक कर्मचारीसहित दुई जना घाइते भएका छन्। आक्रमणमा संलग्न संदिग्ध व्यक्ति घटनालगत्तै फरार भएका छन्।
आइतबार (१४ तारिख) साँझ ५ बजेतिर फुकुओका सहरको चुओ–कु, जिग्योहामास्थित ‘मिजुहो पेपे डोम’ (Mizuho PayPay Dome) सँगै जोडिएको ‘BOSS E・ZO FUKUOKA’ नामक व्यावसायिक भवनमा यो घटना भएको हो।
के हो घटना?
स्थानीय प्रहरीका अनुसार, एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी दुई जनालाई पछाडिबाट आक्रमण गरेका थिए। घाइते हुनेहरूमा ४४ वर्षीय एक पुरुष र ओकायामा प्रिफेक्चरको कुराशिकी सहरकी २७ वर्षीया महिला रहेका छन्।
- पुरुष घाइते: ४४ वर्षीय पुरुषको छातीमा चोट लागेको छ। उनी सोही भवनमा थिएटर रहेको आइडल समूह HKT48 को सञ्चालन कम्पनीका कर्मचारी भएको पुष्टि भएको छ।
- महिला घाइते: २७ वर्षीया महिलाको ढाडमा चोट लागेको छ। उनी सोही डोममा आयोजित लाइभ कार्यक्रम हेर्न आएकी थिइन्।
दुवै घाइतेलाई तत्काल अस्पताल पुर्याइएको छ र उनीहरूको होस खुलेको बताइएको छ।
आक्रमणकारीको हुलिया र खोजी
प्रहरीले आक्रमणकारीलाई ‘ज्यान मार्ने उद्योग’ (Attempted Murder) को अभियोगमा खोजी गरिरहेको छ। संदिग्ध व्यक्तिको हुलिया यस प्रकार बताइएको छ:
- उचाइ: करिब १६० सेन्टिमिटर।
- पहिरन: कालो रङको लुगा (माथि र तल), टोपी, चस्मा र सेतो मास्क लगाएको।
- उमेर: घाइते महिलाका अनुसार उनी करिब ६० वर्ष उमेर समूहको जस्तो देखिन्थे।
घटनास्थल वरपर आक्रमणमा प्रयोग भएको हतियार फेला परेको छैन।
कार्यक्रम रद्द, कलाकार सुरक्षित
घटना भएको भवनमा HKT48 को थिएटर रहेको छ र त्यस दिन त्यहाँ ‘अनलाइन ह्यान्डसेक’ कार्यक्रम भइरहेको थियो। HKT48 को व्यवस्थापन कम्पनीले आफ्ना सबै सदस्यहरू कार्यालयभित्र सुरक्षित रहेको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। घटनापछि साँझ ६ बजेपछिका सबै कार्यक्रमहरू रद्द गरिएको छ।
घटनास्थलमा प्रहरी र एम्बुलेन्सको बाक्लो उपस्थिति रहेको छ। एक प्रत्यक्षदर्शीका अनुसार, ५-६ जना प्रहरी अधिकारीहरूले भवनभित्रको शौचालयमा खानतलासी गरिरहेका थिए। सप्ताहन्तको समयमा धेरै मानिसहरूको भीडभाड हुने सो क्षेत्रमा भएको यस घटनाले आगन्तुक र फ्यानहरू त्रसित बनेका छन्।朝日新聞



