
जापान पोस्ट (Japan Post) ले आफूमाथि लागेका फ्रीलान्स कानुन उल्लङ्घनका आरोपहरूको आन्तरिक अनुसन्धानपछि ठूलो सङ्ख्यामा अनियमितता फेला पारेको छ। कम्पनीको प्रधान कार्यालय र देशभरका १३ वटा क्षेत्रीय शाखाहरूले गरेको सर्वेक्षणमा कुल ३८० वटा कारोबारमा फ्रीलान्स कानूनको उल्लङ्घन भएको देखिएको छ।
यो मामिलामा २२३ जना फ्रीलान्सरहरू संलग्न रहेका छन्, जसलाई कामको जिम्मेवारी दिँदा आवश्यक कारोबारका सर्तहरू (जस्तै: मिति, विवरण, पारिश्रमिक र भुक्तानीको समय) स्पष्ट रूपमा उल्लेख गरिएको थिएन। यो सङ्ख्या यसअघि जापानको सार्वजनिक निष्पक्ष व्यापार आयोग (JFTC) ले कारबाही गरेका अन्य कम्पनीहरूको तुलनामा निकै ठूलो हो।
के हो ‘फ्रीलान्स कानून’?
जापानमा सन् २०२४ को नोभेम्बर महिनामा फ्रीलान्स कानून (Freelance Act) लागू भएको हो। यो कानूनले कम्पनीहरूले सङ्गठनमा आबद्ध नभएका फ्रीलान्सरहरूलाई काम लगाउँदा कारोबारका सर्तहरू अनिवार्य रूपमा लिखित रूपमा (कागजात वा इमेल) उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ।
यो कानून ल्याउनुको मुख्य उद्देश्य बलियो पक्ष (कम्पनी) द्वारा कमजोर पक्ष (फ्रीलान्सर) माथि मौखिक आदेशको आधारमा प्रतिकूल सर्तहरू लाद्न नदिने र पारिश्रमिक सम्बन्धी विवादहरू रोक्नु हो।
उल्लंघनको स्थिति अन्य कम्पनीभन्दा ठूलो
यसअघि, सार्वजनिक निष्पक्ष व्यापार आयोग (JFTC) ले सन् २०२५ को जुनमा शोगाकुकान (Shogakukan) र कोबुन्शा (Kobunsha) जस्ता प्रकाशन गृहहरूलाई सर्तहरू स्पष्ट नगरेको आरोपमा कारबाही गरेको थियो। ती कारबाहीहरू पछि नै जापान पोस्टभित्र पनि यस्तो अनियमितता भएको हुनसक्ने आशङ्का बढेको थियो।
जापान पोस्टको प्रधान कार्यालय र १३ क्षेत्रीय शाखाहरूमा सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको मध्यसम्म गरिएको अनुसन्धानमा:
- क्षेत्रीय शाखाहरूमा २०२ जना फ्रीलान्सर सँग सम्बन्धित ३५७ वटा उल्लङ्घनका घटना भेटिएका छन्।
- प्रधान कार्यालयमा २१ जना फ्रीलान्सर सँग सम्बन्धित २३ वटा उल्लङ्घनका घटना पुष्टि भएका छन्।
यी उल्लङ्घन गरिएका कारोबारहरूमा बाह्य प्रशिक्षकहरूबाट तालिम लिनु वा विशेषज्ञहरूको राय लिनु जस्ता कामहरू समावेश छन्, जसमा काम सुरु गर्नुअघि लिखित रूपमा सर्तहरू स्पष्ट पारिएको थिएन। यदि यो उल्लंघन प्रमाणित भएमा, यो घटना सङ्ख्या र प्रभावित व्यक्तिहरूको सङ्ख्या दुवैमा JFTC ले कारबाही गरेका अन्य घटनाभन्दा ठूलो हुनेछ।
निर्देशिकामा त्रुटि र कार्यान्वयनमा कमजोरी
जापान पोस्टको क्षेत्रीय शाखाहरूको आन्तरिक निर्देशिका (Manual) मा कानून विपरीतका प्रावधानहरू बाँकी रहेको पाइएको छ। विशेषगरी, ‘५ लाख येनभन्दा कमको ठेक्का’ वा ‘गोष्ठी वा तालिममा सहभागी हुने’ जस्ता कारोबारमा ठेक्का सम्झौता प्रक्रियालाई छोट्याउन सकिने नियम निर्देशिकामा बाँकी नै थियो।
जापान पोस्टले जनवरी २०२५ मा फ्रीलान्सरहरूसँगको कारोबारमा पूर्व-सर्तहरू स्पष्ट गर्नुपर्ने नियम थपे पनि, माथिको पुरानो अपवादसम्बन्धी नियम र नयाँ नियममध्ये कुनलाई प्राथमिकता दिने भन्नेबारे प्रधान कार्यालयबाट क्षेत्रीय शाखाहरूमा स्पष्ट निर्देशन नभएको पाइएको छ, जसकारण कार्यस्थलमा पुरानै प्रक्रिया जारी रहेको हुन सक्छ।
जापान पोस्टको भनाइ
जापान पोस्टका अनुसार, उनीहरूले फ्रीलान्स कानूनको पूर्ण पालनाका लागि आवश्यक कदम नचालेको पुष्टि भएको छ। कम्पनीले हाललाई प्रधान कार्यालय र क्षेत्रीय शाखाहरूमा काम गर्ने तरिका परिवर्तन गरेको छ।
कम्पनीले यस वर्षको अन्त्यसम्ममा हुलाक कार्यालयहरूमा पनि सञ्चालन विधि परिवर्तन गर्ने र सन् २०२६ को फेब्रुअरीमा सम्पूर्ण निर्देशिका परिमार्जन गर्ने योजना बनाएको जनाएको छ। साथै, उनीहरूले सार्वजनिक निष्पक्ष व्यापार आयोग (JFTC) सँग परामर्श गर्ने तयारी गरिरहेको पनि बताएका छन्।
जापान पोस्टको यस अनुसन्धानले हुलाक कार्यालयको तहमा फ्रीलान्सरहरूसँग भएका कारोबारहरूको जाँच भने बाँकी नै रहेको र समग्रमा उल्लङ्घनका घटनाहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिइएको छ।



