जापान मौसम अपडेट: सोमबार ‘कमिङ अफ एज डे’ मा भारी हिमपात र कडा चिसोको चेतावनी, सर्तक रहन आग्रह

-


     जनहित न्युज    
     पौष २७ गते २०८२


जापानमा सोमबार (जनवरी १२) ‘कमिङ अफ एज डे’ (वयस्क दिवस) को सार्वजनिक बिदा मनाइँदैछ। तर, मौसम पूर्वानुमान अनुसार यस दिन जापानका धेरैजसो स्थानमा मौसम प्रतिकुल रहने देखिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले जापान सागर तटीय क्षेत्रहरूमा भारी हिमपात र देशभर कडा चिसोको चेतावनी जारी गरेको छ।

भारी हिमपात र यातायातमा असर पर्न सक्ने सोमबार विशेषगरी होकुरिकु र तोहोकु क्षेत्रको जापान सागर तटीय भागमा दिउँसोसम्म समतल भूभागमा समेत भारी हिमपातको सम्भावना छ। होक्काइडोमा रातिसम्म भीषण हिमपात र हावाहुरी (Blizzard) चल्ने खतरा रहेकोले सचेत रहन आग्रह गरिएको छ।

यसैगरी, किन्की र तोकाई क्षेत्रमा सोमबार बिहान सबेरैसम्म तथा उत्तरी काान्तो र नागानोका पहाडी भेगमा बिहानसम्म हिउँ पर्ने सम्भावना छ। विशेष गरी गिफु प्रान्तमा भारी हिमपातको चेतावनी (Warning level)आइची प्रान्तमा पनि केही स्थानमा ठूलो हिउँ पर्ने सम्भावना रहेकोले सडक यातायातमा अवरोध आउन सक्ने र सडक चिप्लो (Freezing Road) हुन सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ।

यद्यपि, काान्तो क्षेत्र (टोकियो आसपास) का समतल भूभागमा भने बिहानदेखि रातिसम्म मौसम सफा रहने तर हावा अत्यधिक सुख्खा हुने हुनाले आगलागी लगायतका दुर्घटनाबाट बच्न आगोको प्रयोगमा सावधानी अपनाउन सुझाव दिइएको छ।

अत्यधिक चिसो: तापक्रम ह्वात्तै घट्ने आइतबारको तुलनामा सोमबार देशभरको तापक्रम ह्वात्तै घट्ने र ‘मध्य जाडो’ (Mid-winter) को जस्तो चिसो महसुस हुनेछ। वयस्क दिवसका कार्यक्रममा सहभागी हुनेहरूलाई न्यानो कपडा लगाउन र विशेष सावधानी अपनाउन आग्रह गरिन्छ।

प्रमुख शहरहरूको अनुमानित तापक्रम:

  • साप्पोरो: अधिकतम -३°C, न्यूनतम -५°C
  • सेन्दाई: अधिकतम ५°C, न्यूनतम -१°C
  • टोकियो: अधिकतम १०°C, न्यूनतम १°C (अघिल्लो दिन भन्दा १२ डिग्री कम)
  • नागोया: अधिकतम ७°C, न्यूनतम -२°C
  • ओसाका: अधिकतम ७°C, न्यूनतम ०°C
  • फुकुओका: अधिकतम १०°C, न्यूनतम ३°C

चिसोका कारण सडक पेटी र बाटाहरू जमेर चिप्लो (Black ice) हुन सक्ने भएकाले हिँडडुल गर्दा वा सवारी चलाउँदा समयमा नै निस्कन र संयमित रहन सुझाव दिइएको छ।

साप्ताहिक मौसम पूर्वानुमान (जनवरी १३ देखि)

  • पश्चिमी जापान: मंगलबार (१३ तारिख) क्युसु र चुगोकु क्षेत्रमा मौसम बिग्रने र पानी पर्ने सम्भावना छ। तर साताको अन्त्यतिर मौसम सफा हुने र तापक्रम बढ्ने देखिन्छ।
  • पूर्वी जापान (टोकियो/तोकाई): काान्तो र तोकाई क्षेत्रमा धेरैजसो दिन घाम लाग्नेछ। शुक्रबार (१६ तारिख) टोकियोको मौसम मार्चको अन्तिम साताजस्तै न्यानो हुने अनुमान छ। तर होकुरिकु क्षेत्रमा भने मंगलबारपछि पनि हिउँ वा पानी परिरहने छ।
  • उत्तरी जापान: जापान सागर तटीय क्षेत्रमा बुधबार (१४ तारिख) सम्म हावाहुरी र खराब मौसम जारी रहनेछ। सेन्दाई लगायतका क्षेत्रमा तापक्रममा ठूलो उतारचढाव आउने भएकाले स्वास्थ्यको ख्याल राख्न अनुरोध गरिएको छ।

जनहित न्युजका पाठकहरूलाई सुझाव: भोलि बिदाको दिन बाहिर निस्कँदै हुनुहुन्छ भने मौसमको ताजा अपडेट हेर्नुहोला र विशेषगरी हिउँ पर्ने क्षेत्रमा विन्टर टायर (Winter Tire) बिना सवारी नचलाउनुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?