बाल शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समिति गलकोटले आज गल्कोट नगरपालिकाको ध्यानाकर्षण गरेको छ।
नेपाल सरकारले तोकेको तलव भत्ताको माग गर्दै संघर्ष समितिका पदाधिकारी र पेशागत शिक्षक संगठनका प्रतिनिधि सम्मलित टोलिले गल्कोट नगरपालिकाको ध्यानाकर्षण गरेको हो । माग पत्र ग्रहण गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बाल विकास केन्द्रमा कार्यरत बाल शिक्षक हरु र सामुदायिक विद्यालयमा कार्यरत लेखापाल तथा विद्यालय सहयोगीको तलव भत्ताका बारेमा नगरपालिका सकारात्मक भएको बताउनु भयो । उहाँले संघीय सरकारले विना कार्य विधि बजेटमा उल्लेख गरे पनि स्रोतका बारेमा कुनै व्यवस्था नगरेको बताउनु भयो । उहाँले यस विषयमा आवश्यक गृहकार्य गरिरहेको बताउनु भयो ।
गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले गलकोट नगरपालिकाभित्र कार्यरत बाल शिक्षकहरुलाई विगतका वर्षहरुदेखि नै प्रोत्साहन भत्ता दिइदै आएको र यस आर्थिक वर्षमा पनि प्रति महिना रु ३ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनु भयो । उहाँले बाल शिक्षक र विद्यालय कर्मचारीका तलब भत्ताका लागि स्रोत र प्रक्रियाका बारेमा नगरले गृहकार्य गरि रहेको बताउनु भयो ।
माग पत्र प्रस्तुत गर्दे बाल शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समिति गलकोटका अध्यक्ष रावित्रा थापाले आगामी भदौ ७ गतेसम्म नेपाल सरकाले निर्धारण गरेको तलबभत्ताको व्यवस्थ ागर्न आग्रह गरिन । अध्यक्ष थापाले माग पूरा नभए सशक्त आन्दोलन र कानुनी बाटोमा अघि बढने बताइन । माग पत्र हस्तान्त्रण कार्यक्रममा संघर्ष समितिका पदाधिकारीसँगै नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष हरि चालिसे, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका सचिव वीरबहादुर चोखाल र गलकोट नगर सचिव हेमबहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक संघ गलकोट नगर अध्यक्ष सोम सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका पूर्व सदस्य दिनेश पन्त र गलकोट नगर अध्यक्ष राम बहादुर खत्रीको सहभागिता रहेको संघर्ष समितिका सचिव सावित्रा शर्माले बताउनु भएको छ ।