टोकियोमा हाकिमको हत्या गरेको आरोपमा ४५ वर्षीय म्यानेजर पक्राउ, घरबाटै चक्कु बोकेर गएको खुल्यो

-


     जनहित न्युज    
     पौष २६ गते २०८२


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा आफ्नै हाकिम (सुपरभाइजर) को हत्या गरेको आरोपमा प्रहरीले एक ४५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। टोकियोको ओता वार्डमा भएको उक्त घटनामा प्रहरीले मासाहिरो यामानाका नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार यामानाकाले आफ्ना ४४ वर्षीय हाकिम अकिहिरो कावाशिमाको हत्या गरेको स्वीकार गरेका छन्। यद्यपि, उनले हत्या गर्ने पूर्व मनसाय (Intent to kill) भने नभएको दाबी गरेको जापानी सञ्चार माध्यम टिभी आसाहीले जनाएको छ।

के हो घटना ?

मृतक कावाशिमा कार्यक्रमहरूको लागि ध्वनि र प्रकाश उपकरण (Sound and lighting equipment) को व्यवस्थापन गर्ने एक कम्पनीका प्रतिनिधि थिए भने अभियुक्त यामानाका सोही कम्पनीमा सेल्स म्यानेजरका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार नजिकैको सीसीटीभी फुटेजमा कावाशिमा बुधबार साँझ करिब ७ बजे एक्लै घर फर्किएको देखिएको थियो। तर, बिहीबार बिहान ९ बजे दुई जना साथीहरूसँग तय भएको भेटमा उनी उपस्थित भएनन्। त्यसपछि साथीहरू उनको अपार्टमेन्टमा पुगेर ढोकाको घण्टी बजाउँदा कुनै प्रतिक्रिया नआएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

शवको अवस्था

प्रहरीले कावाशिमाको शव डाइनिङ किचेनमा लडेको अवस्थामा फेला पारेको थियो। अपार्टमेन्टभित्र रगतले लतपतिएका पाइलाहरू भेटिए पनि घटनास्थलमा हत्यामा प्रयोग भएको हतियार भने फेला परेको थिएन।

कावाशिमाको शरीरमा घाँटी र पेटको तल्लो भागसहित विभिन्न पाँच ठाउँमा १० पटक चक्कु प्रहार गरिएको पाइएको छ। साथै, उनका हात र पाखुरामा पनि चक्कुको चोटहरू देखिएका छन्, जसले आफूलाई बचाउने क्रममा उनले संघर्ष गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

सिसिटीभी फुटेजले खोल्यो पोल

अनुसन्धानका क्रममा कम्पनीका कर्मचारीहरूसँग सोधपुछ गर्दा यामानाकाले आफू बुधबार साँझ ५ बजेदेखि तीन घण्टाको पैदल यात्रामा निस्किएको र राति ८ बजे साथीहरूसँग खाना खाएको बयान दिएका थिए।

तर, सीसीटीभी फुटेजको विश्लेषण गर्दा यामानाका जस्तै हुलिया भएका र मास्क लगाएका एक व्यक्ति साँझ ५:४० बजे (कावाशिमा घर पुग्नुअघि नै) अपार्टमेन्ट भित्र प्रवेश गरेको र साँझ ७:३० बजे बाहिर निस्किएको देखिएको थियो। यामानाका अपार्टमेन्टभित्र कसरी प्रवेश गरे भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

बयान र प्रमाण बाझिएपछि शुक्रबार पुनः गरिएको सोधपुछका क्रममा यामानाकाले अपराधमा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। प्रहरीका अनुसार उनले घरबाटै फलफूल काट्ने चक्कु (Fruit knife) ल्याएर कावाशिमालाई प्रहार गरेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको नालीबेली र ‘टर्चर’ को दाबी

अनुसन्धानका क्रममा यामानाकाले आफ्ना हाकिम ४४ वर्षीय अकिहिरो कावाशिमाको व्यवहारप्रति लामो समयदेखि असन्तुष्ट रहेको बताएका छन्। उनले प्रहरीसँग भनेका छन्, “मलाई उनको व्यवहार र काम गर्ने शैलीप्रति गुनासो थियो। त्यसबारे कुरा गर्न म उनको घर गएको थिएँ, तर उनी एक्कासी आक्रोशित भएपछि हाम्रो बीचमा झगडा भयो र मैले साथमा लगेको चक्कुले प्रहार गरें।”

यद्यपि, उनले आफूले चक्कु प्रहार गरेको स्वीकार गरे पनि ज्यान मार्ने नियत भने नभएको दाबी गरिरहेका छन्।

यसरी रचिएको थियो योजना

घटना भएको दिन (बुधबार, ७ तारिख) यामानाकाले स्वास्थ्य अवस्था खराब भएको भन्दै अफिसबाट बिदा लिएका थिए। तर, उनी साँझ ५:३० बजे नै फलफूल काट्ने चक्कु बोकेर कावाशिमाको अपार्टमेन्ट पुगेको खुलेको छ।

अपार्टमेन्टको सीसीटीभी फुटेज अनुसार, हत्या गरेपछि उनी करिब ७:३० बजे बाहिर निस्किएका थिए। बाहिर निस्कँदा उनले भित्र लगाएको लुगा फेरेर अर्को लुगा लगाएका थिए। त्यसलगत्तै उनी आफ्ना साथीहरूसँग रेस्टुरेन्टमा डिनर गर्न गएको पाइएको छ।

अपराध लुकाउन खोज्दा फसे

घटनाको भोलिपल्ट (बिहीबार) कावाशिमा काममा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए। अचम्मको कुरा त के छ भने, प्रहरी घटनास्थल पुग्दा यामानाका आफैँले कम्पनीमा रहेको ‘डुप्लिकेट’ साँचो बोकेर प्रहरीलाई सहयोग गर्न पुगेका थिए। आफूमाथि शंका नहोस् भन्नका लागि उनले यस्तो नाटक गरेको प्रहरीको अनुमान छ।

भाग्ने तयारीमा रहेका बेला पक्राउ

प्रहरीले शुक्रबार बिहान ६ बजेतिर जेआर टोकियो स्टेसनको सिन्कानसेन (बुलेट ट्रेन) गेट नजिकै यामानाकालाई फेला पारेको थियो। उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, “म धेरै तनावमा थिएँ, त्यसैले टाढा कतै भागेर जान चाहन्थेँ।”

पोस्टमार्टम रिपोर्ट र घटनास्थल

पोस्टमार्टम रिपोर्ट अनुसार कावाशिमाको शरीरमा १० पटक चक्कु प्रहार गरिएको छ। उनले आफ्नो ज्यान जोगाउन हात र पाखुराले छेक्न खोज्दा त्यहाँ पनि गहिरो चोट लागेको छ। प्रहरीले घटनास्थलमा रगत लतपतिएको पाइलाका डोबहरू फेला पारेको छ, जुन यामानाकासँग मेल खाने अनुसन्धान भइरहेको छ।

स्रोत: जापान टुडे/टिभी आसाही

प्रस्तुति: जनहित न्युज डेस्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?