
सत्ता गठबन्धनको चुनावी तालमेल र अघिल्लो चुनावको मत विश्लेषण गर्दा स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ठाउँमा विजयी भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लागि सवैभन्दा धेरै सकस पर्ने देखिएको छ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले ७५३ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि एमाले एक्लिएको हो । भलै उनीहरुले घोषणा गरेको जस्तो तालमेल हुने लक्षणहरु भने स्थानीय तहमा छैन । हुन त एमाले पनि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने तयारीका साथ जुटेको छ । मधेशमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि चुनावी तालमेल गर्नेगरी अघि बढेको छ । देशका ठूला पार्टी कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पार्टी संयुक्त रुपमा उम्मेदवार उठाएर चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् । देशभर राम्रो जनआधार र संगठन भएका दलहरुले गठबन्धन गर्दा त्यसको मार भने एमालेले खेप्नुपर्ने देखिएको हो । अघिल्लो चुनावमा काँग्रेस–माओवादी तालमेल र संघीय चुनावमा एमाले–माओवादी तालमेलले गठबन्धन भन्दा बाहिरको दललाई मार पर्ने प्रमाणित नै नभएको छ । गत ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकासहित १०६ स्थानीय तह जितेको थियो । सय स्थानीय तहमा झिनो मतले पराजित भएर दोस्रो भएको थियो । यस पटक गठबन्धन हुँदा माओवादी केन्द्रको अढाइ सय स्थानीय तहमा विजयी हुने सो पार्टीका नेताहरुले बताउने गरेका छन् । सो निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ३ सय ४० स्थानीय तहमा कांग्रेस र एमालेकै हाराहारीमा मत ल्याएर तेस्रो भएका थिए । अन्यमा पनि माओवादी केन्द्रका राम्रै मत रहेको छ । किनकि माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेकाले कतिपय स्थानिय तहमा उम्मेदवारी दिएको थिएन । गत स्थानीय तहको मत विश्लेषण गर्दा माओवादी केन्द्र करिब २१० स्थानीय तहमा पहिलो प्रतिस्पर्धी देखिन्छ । निर्णायक शक्ति माओवादी केन्द्र माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा निर्णाय शक्ति देखिएको छ । माओवादी केन्द्रले करिब अढाइ सय स्थानीय तहमा जित्दै गर्दा बाँकी स्थानीय तहमा पनि गठबन्धनमा रहेका दलहरुका उम्मेदवारलाई जिताउनका लागि प¥याप्त मत पुग्ने देखिन्छ । तेस्रो दल माओवादी केन्द्रको देशभरकै स्थानीय तहमा निर्णायक मतदाता रहेकाले पनि गठबन्धनमा रहेका उम्मेदवारलाई निर्वाचनमा जित्न सजिलो हुने भएको हो । यसपटक एमाले आफैमा विभाजित भएको छ । एमाले विभाजन गरेका माधवकुमार नेपालले एकीकृत समाजवादी नामक पार्टी गठन गरेका छन् । उनको पार्टीले पनि देशभर एमालेको भोट घटाउने देखिन्छ । अझ कतिपय समाजवादीका नेताहरुले त पहिले एमाले हराउने दोस्रोमा समाजवादी जिताउने तयारी छ भनेर सार्वजनिक रुपमा भन्ने गरेका छन् । यसको असर एमालेमा पक्का पर्नेछ । एमालेले गत स्थानीय तहको निर्वाचनमा २९३ वटा पालिका जितेको थियो । पाँच सय भन्दा कम मतान्तरले १३६ स्थानीय तह जितेको थियो भने ९६ वटा पालिका १५ सय भन्दा कम मतान्तरले जितेको थियो । एमालेलाई एकातिर पार्टी विभाजनको असर पर्ने देखिन्छ भने अर्कोतिर गठबन्धनका कारण झन् ठूलो सकस पर्ने देखिन्छ । केन्द्रका नेता वर्षमान पुन स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट पार्टीहरूमा पहिलो हुने दाबी गर्छन् । पूर्व अर्थ तथा ऊर्जामन्त्री अनन्तले एक्लै निर्वाचनमा जाँदा पनि वाम शक्तिमा माओवादी केन्द्र पहिलो हुने बताए । ‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । यसले पनि उनीहरू भित्रभित्रै कति हतोत्साहित भएका छन् भन्ने बुझ्न सकिन्छ । बाहिर–बाहिर भने ७० प्रतिशत पालिका जित्छौ भनेर हल्ला गरिरहेका छन्,’ पूर्वमन्त्री अनन्तले भने,‘हामी एक्लै निर्वाचनमा जाँदा पनि २०० पालिका जित्थ्यौं, झन् अहिले गठबन्धन भएको छ । कम्युनिस्ट पार्टीमध्ये माओवादी कन्द्र पहिलो दल हुन्छ । गत स्थानीय तहको निर्वाचमा भन्दा माओवादीको अवस्थामा धेरै सुधार भएको छ । हामी अरूको होइन आफ्नै शक्तिमा भर पर्छौं, चुनाव जित्नका लागि गठबन्धन गरेको हाइनौं, माओवादी केन्द्रले सबै वडाको विश्लेषण गरेर भनेको हो ।’



