
नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन् ।
उनले जबसम्म दलहरुबीच टाउका गनेर सरकार बनाउने र सरकार गिराउने खेल चलिरहन्छ तबसम्म मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसक्ने ठोकुवा गर्दै संविधानमा रहेका यस्ता लुप होल (क्षिद्र) हरुलाई सच्याउनुपर्ने बताए ।
नेता भट्टराई नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय समितिको गत आइतबार भएको पाँचौ अधिवेशनका लागि जापान आएका हुन् ।
नेता भट्टराईले घरदेशदेखि यति टाढाको परदेशमा आएर पनि नेपाली पत्रिका, नेपाली मिडिया, नेपाली स्कुल र आफ्नो सँस्कृति र संस्कारजन्य उपस्थिति एवं नेपालीपन भेट्न पाएकोमा ज्यादै खुशी लागेको बताए । उनले भने – ’सिष्टमले चल्ने देश जापानबाट हामीले धेरै सिक्नुपर्ने छ, हाम्रो देशमा यो प्रणाली स्थापित गर्न सकेका छैनौं, श्रमको सम्मान गर्ने सँस्कार र कामप्रति इमान्दार प्रतिबद्धताका कारण आजको जापान संभव भएको हो, राष्ट्रभक्ति भावनाकासाथ श्रम गर्ने संस्कार र सिष्टमले देश चल्ने जापानको प्रणालीबाट म निकै प्रभावित भएको छु, यो खालको प्रणाली नेपालमा पनि स्थापित होस भन्ने चाहान्छु ।’
नेता भट्टराईले पार्टीको बिचार लिएर शुभचिन्तक-शुभेच्छुक कार्यकर्तामा ऊर्जा भर्न आफु जापान आएको र उनीहरुका अनुभवजन्य उपयोगी बिषयवस्तु र नेपालीले भोग्नुपरेका पीडा केहीछन् भने समाधानका लागि पहल गर्न त्यो लिएर जान चाहेको बताए ।
प्रवासमा रहेका नेपालीहरुले अपेक्षागरेअनुरुप मुलुक बन्न नसक्नुमा अर्थात पछाडि पर्नुमा राजनैतिक अस्थिरता पहिलो कारण, दोस्रो कारण दुरदर्शी राजनेताको अभाव र तेस्रो कारण भनेको हरेक नागरिकमा देशभक्तिको भावनाको अभाव अर्थात यो देश बनाउने जिम्मा मेरो पनि हो भन्ने संकल्पको अभाव जस्ता कारण रहेको नेता भट्टराईको धारणा थियो ।
एक अर्को प्रसंगमा नेता भट्टराईले नेपालको कर्मचारी संयन्त्र धेरै पुरानो भईसकेकोले यसको रिफर्म गरिनुपर्ने धारणा ब्यक्त गरे । त्यसका लागि प्रमुख राजनीतिक दलहरु बीच सहमति गरेर जान सकिने उनको भनाई थियो । ’समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने संकल्पलाई पूरा गर्न प्रमुख दलहरुबीच साझा धारणा बनाएर जान सकिने उहाँको जिकिर छ ।
संघ तथा प्रदेशको निर्वाचनको मिति घोषण भईसकेको परिस्थितिमा सत्ताधारी दलहरुको गठबन्धनसंग एक्लै भिड्न नेकपा एमाले सक्षम रहेको नेता भट्टराइले बताए । उनले अगाडि भने -’गठबन्धनले मुलुक निर्माण गरेको इतिहास कतै छैन ।’
नेता भट्टराईले गैर आवासीय नेपालीहरुका लागि नागरिकता ऐन लागू भएकोमा प्रसन्नता ब्यक्त गदै खुशी बाँड्न चाहेको बताए । यसैगरी भट्टराईले गैरआवासीय नेपालीहरुलाई मताधिकार दिलाउनका लागि पनि अधिकतम पहल गरिने विचार ब्यक्त गरे ।उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षित, सम्मानित र मर्यादित श्रमको ग्यारेन्टी हुनुपर्छ भन्ने आफ्नो पार्टीको लाइन रहेको पनि स्पष्ट पारे ।
प्रतिनिधि सभाका सदस्य समेत रहेका एमाले नेता भट्टराई आजै स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष सुरेश केसीले जानकारी दिए ।