काठमाडौं : ६० को दशकदेखि नेपालमा लोकदोहोरीको बजार झाङ्गिएको देखिन्छ। त्यसताका खासगरी पूर्वी र सुदूर-पश्चिमका जिल्लाहरूमा लोकदोहोरी गीतले राम्रो बजार पाएका थिए। ०६२/६३ को राजनीतिक परिवर्तनपछि भने पश्चिमका केही जिल्लाहरूमा मेला-महोत्सव हुँदा एकैपटक १० हजार बढी लोकदोहोरीका दर्शकहरू झुम्मिने गर्थे। त्यसपछि क्रमशः फराकिलो हुँदै गएको लोकदोहोरीको बजार युट्युब लगायतका सामाजिक संजालको बढो प्रयोग सँगै पछि केही समययता भने यसको बजार साङ्घुरिएको छ।
राजु परियार, बद्री पङ्गेनी, राधिका हमाल, रमिला न्यौपाने, सम्झना भण्डारी, शीला आले लगायतका कलाकारले उर्भर बनेको लोकदोहोरीको भूमि पछिल्लो समय छाडापनले उजाडिँदै गएको छ। युट्युबको बढ्दो प्रयोग सँगै लाइभ दोहोरीका दर्शक पनि बढ्न थालेका छन्। टीका सानु, अस्मिता डल्लाकोटी, रविन लामिछाने, सुशीला लामा, डिला विक, तारा थापा, कल्पना दाहाल, मानसिंह खड्का, प्रकाश पराजुली, बबिता बानियाँ (जेरी), सुमन थापा, श्याम राना, भीम पौडेल, आशा बीसी, रेसम निर्दोष, चीज गुरुङ लगायतका नामहरू लाइभ दोहोरीबाटै चिनिएका गायक-गायिकाहरू हुन्। यीमध्ये कतिपय अहिले पनि लाइभ दोहोरीमा सक्रिय छन् तर, यिनीहरूले दोहोरीको मर्यादा भुलेका छैनन्।
तर, केही अग्रजसहित नयाँ भनिने गायक-गायिका भने लाइभ दोहोरीको नाममा छाडापनको मलजल गरिरहेका छन्। यसले गर्दा दोहोरीप्रति हेर्ने आम मानिसको नजरिया नै बदलिँदै गएको छ। हुन पनि हिजोका दोहोरीमा मौलिकता, शिष्टता हुन्थ्यो, समाजका दुःख र वेदना अटाउँथे तब पो मेलापात, गोठालो अनि परिवारसँगै बसेर सुन्ने गरिन्थ्यो। तर, आजभोलि छिट्टै भाइरल हुने लोभले दोहोरी गीतको मर्मविपरीत दोहोरी गीतमा छाडापन मिसाइदिए पछि यसको सांस्कृतिक पाटोमाथि प्रश्न उठेको छ।
‘लाइभ दोहोरी’ भन्दै युट्युब च्यानल खोल्ने सामाजिक संजालमा केही थान फलोवर भएका कलाकार बोलाउने र दोहोरी भन्दै अश्लील गीत गाउन लगाउने ट्रेन्ड नै बन्दै गएको छ। यसबाट ती संचालकहरूले युट्युब, फेसबुक पेज लगायतका प्लेटफर्महरूबाट पैसा कमाउँछन्। त्यसैको लागि पनि उनीहरूले दोहोरीमा द्विअर्थी शब्द अनि अश्लीलता झल्काउने शब्द प्रयोग गर्ने गरेको पाइन्छ। जसको कारण सामाजिक संजालमा बढी भन्दा बढी भ्युज बटुल्ने र बढी पैसा कमाउने। त्यसो त् यस्ता गीत हेर्ने दर्शक पनि उल्लेख्य हुने गरेका छन्।
यसरी हेर्दा लाइभ दोहोरीमा छाडापन भित्रिएको लामो समय भइसक्यो। बीचमा केही मत्थर भएपनि पछिल्लो केही महिनायता भने यो क्रम उग्र रूपमा देखिन्छ। केही वर्षअघिदेखि यसबारे बहस पनि चल्दै आएको छ। आफूलाई मौलिक लोक तथा दोहोरी गीतको संरक्षक दाबी गर्ने संगठनहरूले यसबारेमा कलाकारहरूलाई सचेत गराउँदै आएको पनि छ। यस क्षेत्रका अग्रज तथा सचेत कलाकारहरूले यसबारे चिन्ता व्यक्त गर्दै पटकपटक आवाजसमेत उठाइरहेका छन्।
एक वर्षअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक संगीतसँग मेल नखाने र अराजक गीत निकालेको भन्दै दुर्गेश थापा लगायतका कलाकारलाई कारबाही पनि गरेको थियो।
त्यसपछि केही साम्य भएको लाइभ दोहोरीको छाडापन पुनः देखिन थालेपछि प्रतिष्ठान कडा रूपमा प्रस्तुत भएको छ। समाजलाई विभाजित गर्ने र उच्छृङ्खलतालाई प्रसय दिने गीतहरूलाई नियन्त्रण गर्न यस्तो कदम चालिएको प्रतिष्ठानका पदाधिकारीहरू बताउँछन्।
यसअघि छिटपुट कलाकारलाई कारबाही गरेजस्तो गरेको प्रतिष्ठानले यस पटकभने एक दर्जन कलाकारमाथि एक्सनमा उत्रिएको छ। सामाजिक सञ्जाल तथा युट्युबमा परिवारसँग बसेर सुन्नै नसकिने किसिमका गीतहरू सार्वजनिक हुन थालेपछि प्रतिष्ठानको चर्को आलोचना भएको थियो।
आलोचनापछि बिहीबार उसले १२ जना लोक तथा दोहोरीका कलाकारलाई स्पष्टिकरण सोध्यो। त्यसका अतिरिक्त ती कलाकारहरूलाई छ महिना संस्थाको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्यो।
प्रतिष्ठानले अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्याउने गायन प्रस्तुति दिएको भन्दै शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुइली’, रिया खड्का, शङ्कर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ‘जीएम’ लाई स्पष्टीकरण सोधेको थियो।
प्रतिष्ठानले आफूहरूलाई कारबाही गरेको भन्दै १२ जना कलाकारले प्रतिष्ठानको आलोचना गरेका छन्। गायिका रिया खड्काले संस्थाकै पदाधिकारीले छाडा गीत गाएको भन्दै आफूहरूलाई कारबाही गर्नुअघि प्रतिष्ठानका उपाध्यक्ष खुमन अधिकारीलाई कारबाही गरेर देखाउन चुनौती दिइन्।
उनी भन्छिन्, ‘पहिला तपाईंको संस्थाकै उपाध्यक्ष खुमन अधिकारीलाई कारबाही गर्नुस्। किनकि हानहान दोहोरीमा ¥याप भनेर गीत गाएर हामीलाई सिकाएको तपाईंकै संस्थाका कलाकारले हो।’
यसबारेमा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अपाच्य शब्द गाएको र प्रतिष्ठानको पटक-पटक सजग गराउँदासमेत नमानेपछि कारबाही गरिएको दाबी गरिन्। लोक तथा दोहोरीलाई फोहोरी बनाएको खण्डमा प्रतिष्ठानका सदस्यलाई समेत कारबाही गर्ने उनको भनाइ छ।
शुक्रबार म्युजिक खबर अवार्डमा भेटिएकी अध्यक्ष थापाले भद्दा शब्द र समाजले पचाउन नसक्ने अपाच्य चिजहरू बहिष्कार गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘जति पनि भद्दापन, समाजले पचाउन नसक्ने अपाच्य चिजहरू छन्, तिनलाई हामीले बहिष्कार नै गर्नुपर्छ। त्यसैगरि हाम्रो देशको मुल संस्कृति, लोक संस्कृति, लोक दोहोरीमा पनि विकार आउनु हुँदैन भन्ने हाम्रो लक्ष्य हो।’
छाडापनका गीत गाउने कलाकारहरूले आम्दानीका लागि मौलिक गीतका भाकामा अश्लीलता मिसाएर गाउन थालेको अध्यक्ष थापाको भनाइ छ।
यता लोक तथा दोहोरी गीतका किङ भनिएका राजु परियारले यसलाई रोक्नका लागि संस्था भएको भन्दै आफूले धेरै बोल्नुनपर्ने बताए।
‘यसका लागि आधिकारिक संस्थाहरू छँदैछन् नि! व्यक्तिगत कुरामा आफ्नो सेन्सर आफैँ नै हो,’ उनले भने, ‘आफ्ना बुवाआमा र घरपरिवारलाई देखाउने किसिमको गीत गाएर आफूले आफैँलाई सेन्सर गर्ने हो।’
उनले थपे, ‘मैले गाएका गीतहरू छिमेकीले सुन्न लायकको होस्। आफैँले गाएको गीत आमासँग बसेर सुन्न हेर्न पाऊँ। मेरी श्रीमती, छोरी सँग–सँगै बसेर सुन्न पाम भन्ने कुरा मनमा राख्यो भने आफैँ सेन्सर हुन्छ।’
गृहमन्त्रालयसम्मै पुग्यो बहस
गएको बिहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापालगायत पदाधिकारीले गृहमन्त्री रवि लामिछानेलाई भेटेर उच्छृङ्खल गतिविधि नियन्त्रण गराउन ध्यानाकर्षण गराए।
अध्यक्ष थापा लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको बताइन।
उनले भनिन, ‘लाइभ दोहोरीमा देखिएका नराम्रा पक्षलाई न्यूनीकरण गर्नेबारे पहल गर्न हामीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हौँ। अनलाइनमा भेटिने छाडा दोहोरी निरुत्साहित गर्न र मेला महोत्सवमा समेत यस्ता अराजक प्रस्तुति रोक्न माग गरेका छौँ।’
जवाफमा गृहमन्त्री लामिछानेले लोकदोहोरीको नाममा भ्युअर्सलाई लक्षित गरेर हुने उत्ताउलो र उच्छृखल नियन्त्रण गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘लाइभ दोहोरीमा जुन विकृति देखिएको छ, त्यसमा स्रष्टाहरू स्वयम् सचेत हुनुपर्छ। मेला महोत्सवमा पनि रोकिनुपर्छ। जुन आयोजक र कलाकारको स्वयंको अनुशासनमा भर पर्छ।’ (समसामयिक विषयवस्तु रहेकोले उकेरामा प्रकाशित सामग्रीलाई जस्ताको तस्तै साभार गरिएको हो )