जापानको राजधानी टोकियो बाहिर नेपालीद्वारा पहिलो इन्टरनेशनल स्कुल नागोयामा संचालन  

-


     जनहित न्युज    
     चैत्र २३ गते २०७८


जापानमा नेपालीको सङ्ख्या बढेसँगै नेपालीको लगानीमा स्कुल खोल्ने क्रम पनि बढेको छ । पछिल्लो समय जापानको राजधानी टोकियो बाहिर पहिलो स्कुल सञ्चालनमा आएको छ । जापानको आईची प्रिफेक्चरमा अवस्थित कासुगाई सिटीमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन साथै अङ्ग्रेजी माध्यमका कक्षाहरू सञ्चालन गर्ने उद्देश्यका साथ ‘तोकाई बाटिका इन्टरनेशनल स्कुल’ उद्घाटन गरिएको हो ।

मंगलबार स्कुल प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी स्कुल विधिवत् शुभारम्भ भएको घोषणा गरिएको छ । कार्यक्रम तोकाई बाटिक इन्टरनेशनल स्कुलका अध्यक्ष डा. सुदिप अधिकारीको अध्यक्षता एवं एनआरएनए एसिया प्यासिफिकका संयोजक पारसमणि पोखरेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन स्कुलकी शिक्षिका कुसुम शर्माले गरेकी थिइन् भने स्वागत मन्तव्य शिक्षक विमल अधिकारीले राखेका थिए ।
कार्यक्रममा एनआरएनए आइसिसी सदस्य दीपक कार्की, एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, उपसंयोजक ददिवल खड्का, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, उपाध्यक्ष राजकुमार अधिकारी, एनआरएनए नागोया क्षेत्रीय समिति संयोजक मनोजबम मल्ल, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय राना, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त, जनसम्पर्क समिति नायोयाका संयोजक कुशल धिताल, नागोयाका व्यवसायीहरू मोहन खत्री, शंकर गिरि, विष्णु प्रसाद घिमिरे, बाबुराम खरेल, रामु खरेललगायतले नागोया क्षेत्रमा इन्टरनेशनल स्कुल आवश्यक भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

केजि (KG)देखि कक्षा ६ सम्म शुरू गर्न लागिएको उक्त स्कुल, प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य रहेको संस्थापक सदस्य सुरज काफ्लेले बताए । उक्त स्कुलमा अन्तर्राष्ट्रियकरण आधारभूत सम्पूर्ण सुविधाहरूअन्तर्गत स्विमिङ पुल, इनडोर स्पोर्ट्स हल, ठूलो ग्राउण्ड, बाल उड्यन रहेको उनको भनाई छ ।

सो स्कुलमा पाठ्यक्रम नेपाल सरकारको शिक्षा मन्त्रालयले तोके बमोजिम अङ्ग्रेजी माध्यममा हुने गरी गरिएको छ । स्कुलको प्रिन्सिपलको रूपमा क्यानेडियन नागरिक Mr. Wickham लाई नियुक्ति गरिएको छ । जसले गर्दा विद्यार्थीहरूको अङ्ग्रेजी भाषाको गुणस्तर वृद्धिमा सहयोग हुने बताइएको छ ।

यसै स्कुलमा शिक्षक, शिक्षिकाहरू ब्रिटिस नागरिक, जापानी नागरिक, इन्डियन नागरिकसहित अनुभवी नेपाली रहने स्कुल श्रोतले बतायो । स्कुलमा नेपाली मात्र नभएर विदेशी विद्यार्थीहरूको लागी पनि अध्ययन सहज वातावरण उपलब्ध गराइने र अध्ययन पश्चात् जापान तथा बाहिरको विश्वविद्यालयहरूमा अध्ययनको लागि चाहीने सम्पूर्ण उच्च गुणस्तरीय शिक्षा उपलब्ध हुने बताइएको छ ।

उक्त स्कुल अहिलेसम्म करिब ४ करोड जापनिज येन लगानी भएको बताइएको छ । हालको लागी भर्ना शुल्क ६ कक्षासम्मको लागि ५० हजार जापनिज येन र मासिक शुल्क खाजा खर्चसमेत ४८ हजार जापनिज येन तोकिएको छ । साथै चाँडै भर्ना गर्ने तथा एक भन्दा बढी विद्यार्थी पढाउने अभिभावकहरूलाई एवं जेहनदार विद्यार्थीलाई विभिन्न छुटको व्यवस्था गरिएको स्कुल व्यवस्थापन समितिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?