
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गरेका छन्। नेपाल एयरलायन्सको विमानबाट उनी पाँच दिने भ्रमणका लागि शुक्रबार राति जापान प्रस्थान गरेका हुन्।
नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा उनी जापानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

प्रचण्ड शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल फुकुओका-२०२२’को उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। हिरोसिमा घटना भएको भोलि ७५ वर्ष पुग्दैछ।

प्रचण्डले आइतबार नै टोक्योमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन्।

जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। ‘अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा हामी विश्वस्त छौं,’ सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रचण्डको भ्रमणका बारेमा जानकारी दिन पत्रकार भेटघाट

यसैबिच नेपाली जनप्रगतिशील मंच जापानले प्रचण्डको भ्रमणका बारेमा जानकारी दिने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम शुक्रबार गरि हालसम्मको तयारीको बारेमा जानकारी दिएको छ ।
पत्रकार भेटघाटमा बोलदै मंचका अध्यक्ष भवानी पन्तले पूर्व प्रधानमन्त्री प्रचण्डको जापान भ्रमणलाई ऐतिहासिक बनाइने, त्यसका लागि जापानका लागि नेपाली राजदूतावासको समन्वयमा आवश्यक सम्पूर्ण कार्य भैरहेको बताए ।

पूर्व प्रधानमन्त्रीको जापान भ्रमणले दुई देशबिचको सम्बन्ध थप उचाइमा पुर्याउनेमा आफूहरूले बिश्वास लिएको र सोहि अनुसारको कार्यमा सहयोग गर्न नेपाली समुदायलाई अनुरोध समेत गरे ।

आइतबार हुने ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा सहभागी भएर नेपालको आर्थिक विकासमा टेवा पुर्याउने खालका सुझाव प्रदान गर्न समेत उनले आग्रह गरे ।
पत्रकार भेटघाट कार्यक्रममा अरुण श्रेष्ठ, तिलक मल्ल, राजन गौतम, दिपक गौतम उत्तम गौडेल, नारायण रिमाल लगायतले भ्रमणलाई सफल बनाउनका लागि आवश्यक सुझाव प्रदान गरेका थिए । कार्यक्रम महासचिव बाबुराम पौडेलले संचालन गरेका थिए ।



