फलिङ लभ विथ डेथ

-


     राधिका कल्पित    
     जेठ २२ गते २०७८


……र
उ नजिकै आयो
निधार छाम्यो ज्वरो बुलन्द थियो
नाडी छाम्यो
धड्कन मन्द थियो
सारा शरीर छाम्यो
शरीर क्लान्त थियो ।

म निद्राबाट ब्युँझिएँ
उसले मुसारिरहँदा
म बिरालोले चाटिरहेको मुसो झैँ
डल्लो परेर कामिरहेँथे
उसले मलाई उत्तानो पार्यो
हाम्रा आँखा जुधे
म कम्पन सहित मुस्कुराएँ
म मुस्कुराएको देखेर उ तीन छक्क पर्दै बोल्यो
किन हाँसिस्? मलाई चिनिनस्?

चिने नि! किन नचिन्नु?

उ अवाक भएर हेर्दै सोध्यो कसरी ?
मैले भने, हजुरसँग पहिले पनि भेट भएको हो नि!
ऊ अलमलिएको देखेर पुन: मै बोलेँ!
`केही बर्ष अगाडि जब म बाँच्न नसक्ने अवस्थामा मृत्युसैयामा लडिरहेको थिएँ । पीडा सहन नसकेर तपाईंको धेरै आरधना गरेँ, पुकारेँ र सायद पुकारा सुन्नुभयो र तपाईं आउनुभयो। तपाईंले किन बोलाइस् भनेर कड्किँदा बिनम्रतापूर्वक बिन्ती बिसाएँथेमलाइ सारै गार्हो भयो मेरो पालो चाँडै मिलाइदिनुस् न´ भनेर तर तपाईंले तेरो पालो अहिले आएको छैन´ भन्दै मेरो कुरै नसुनी एक्लै फर्कनुभयो ।´ याद छ हजुरलाई यो घटना? उ घोरियो र बोल्यो,अम् अलिअलि याद आयो । एकछिन पछि अनुहार उज्यालो पार्दै बोल्यो, हो, बेड नम्बर ११० होइन? हजुर हो नि । भन्दै म मुस्कुराएँ। फेरि डराउँदै सुस्तरी बोलेँ एउटा कुरा भनूँ? के भन् न उ गर्जियो । त्यतिखेर तपाईंलेतेरो पालो अहिल्यै आएको छैन´ भन्ने बित्तिकै ममा आत्मविश्वास बढ्यो, म तङ्रिदै गएँ । जीवनप्रति अगाध माया लाग्दै गयो । त्यसपछि यो छोटो जीवन किस्ताकिस्तामा होइनकि एकमुष्ठ बाँच्नु पर्छ भन्ने लाग्यो र त्यसपछिका समय उर्जामय बनाउन थालेँ । जीवनवोध गराइदिनुभएकोमा म तपाईंलाई प्रेम गर्न थालेँ र तपाईंसँग डराउन छाडेँ । र जब डराउन छाँडे तपाईं मेरो एकदम नजिकको साथी बन्नुभयो ।

उसले मेरो कुरा सुनेर गम्भीर हुँदै भन्यो, सबै मलाई घृणा गर्छन्। म आउने बाटो छेक्न पुजा -व्रत ृ धार्मिक अनुष्ठान गर्छन् । मलाई नदेख्दै होस हवास गुमाउछन् । मैले भेटेको तिमीमात्र एउटा यस्तो मनुष्य हो जसले मसँग प्रेम गर्छ।
उसले मलाई बसायो । एकचोटि पिठ्युँमा धाप मार्यो र भन्यो ! ल बधाई छ! यो जीवन तिमीलाई बक्सिस भयो।
मैले नबुझेर ट्वाल्ल परेर उसको अनुहारमा हेरेँ ।
के भन्न खोज्नुभएको मैले बुझिन ।

लाटी! आफ्नो प्रेमिकालाई पनि कसैले मार्न सक्छ?
यति भन्दै ऊ एक्लै फर्कियो । म बिरालोको पन्जाबाट फुत्केको मुसो झैँ खुरुरुरु दुलो भित्र छिरेँ । र यो सुरुङभित्र `हिडन ट्रेजर´जस्तो जिन्दगीको जालोमा फूलबुट्टा भर्दै छु।
अजम्वरी त अवस्य छैन तर मृत्युसँग भने रत्ति डर छैन😊

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?