गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका २०२४ कार्यक्रम सम्पन्न

-


     जनहित न्युज    
     पौष १९ गते २०८०


सामाजिक सेवाका कार्यमा अग्रणी भूमिकामा क्रियाशील रहेकोले पहिचानलाई कायम राखि राख्न राजदूतको आग्रह

गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका २०२४ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
गलकोट क्षेत्रमा स्वास्थ्य र शिक्षामा अक्षयकोष वृद्धि सहयोगार्थ गरिएको यस वर्षको साँगीतिक धमाका २०२४ मा जापानका मुख्य शहर ओसाका नागोया र टोकियोमा व्यापक दर्शकहरुको उपस्थितिमा सम्पन्न भएको समाजले जानकारी दिएको छ।

हाम्रो गाउँ, हाम्रो ठाउँ हातेमालो गरि समृद्ध बनाउन भन्ने नाराका साथ सन् २००६ स्थापना भएको गलकोट समाज सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कोष अभिवृद्धिका लागि हरेक अङ्ग्रेजी नयाँ वर्षमा गर्दै आइरहेको साँगीतिक धमाकामा यस वर्ष शिक्षा र स्वास्थका क्षेत्रमा दीर्घकालीन सहयोग हुने गरि स्थापना गरिएको अक्षय कोष अभिवृद्धिका लागि थप सहयोग जुटाउने उदेश्य सहित गरिएको समाजकी अध्यक्ष कालिका थापाले बताइन्।

साँगीतिक धमाका २०२४ को अन्तिम दिन मंगलबार टोकियोमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गलकोट समाज जापानमा स्थापित अन्य संघ संस्थाभन्दा सामाजिक सेवाका कार्यमा अग्रणी भूमिकामा क्रियाशील रहेकोले यो आफ्नो पहिचानलाई कायम राखि राख्न लागि आग्रह गरे।
गलकोट समाज जापानले सामाजिक सेवाका क्षेत्रमा मात्र नरहेर नेतृत्व विकासमा समेत फरकता दिइ रहको सन्दर्भ उल्लेख गर्दै भने – “आज जापान जस्तो समृद्ध विकसित मुलुकमा र हामी नेपालीहरु सुसंगठित र सु विचरित भइरहेको सन्दर्भमा गलकोट समाज जस्तो महत्वपूर्ण समाजमा एक महिला नेतृत्वमा छ र सुयोग्य महिलाको नेतृत्वमा छ यो महत्वपूर्ण कुरा हो। अरु संघ संस्था र समाजले पनि यसबाट शिक्षा लिनु पर्दछ।”

गलकोट समाजले आफ्नो जन्मभूमिको लागि आफ्नो थातथलोको विकासका लागि निर्माणको लागि उन्नयनका लागि शिक्षाको क्षेत्रमा होस् स्वास्थ्य क्षेत्रमा होस् एक सानो क्षेत्रबाट सुरु गरेर आफ्नो जन्मभूमि प्रति देखाएको अगाध स्नेहलाई सबैले साथ सहयोग गरिदिनु आवश्यक रहेको राजदूत डा सुवेदीको भनाइ छ।

कार्यक्रममा चर्चित कलाकार खेम सेन्चुरी, रेशम निर्दोश र अमृता नेपालीको विशेष साँङ्गितिक प्रस्तुती रहको नयाँ वर्षको अवसरमा उक्त कार्यक्रम जापानको ओसाका डिसेम्बर ३१ र नागोयामा जनवरी १ सम्पन्न भएको थियो ।

ओसाकाको कार्यक्रममा प्रमुख अतिथि रहेका समाजका संरक्षक आत्माराम शर्मा गैरेले जन्मभूमिको लागि सामाजिक सेवा गर्न संगठित यस संस्थालाई अझै एकताबद्ध र सशक्त बनाएर लैजानु पर्ने बताएका थिए। भने नागोयाको कार्यक्रममा प्रमुख अतिथि रहेका समाजका अर्का संरक्षक गोविन्द प्रसाद श्रेष्ठ रोविन्दले जन्मभूमिको सेवाका लागि गलकोट समाजले स्थापना कालदेखि विभिन्न कार्य गर्दै आइरहेकोले अब दीर्घकालीन सोचका साथ सहयोग गरिनु पर्ने बताए ।
संस्थामा योगदान पुर्याउनेलाई सम्मान
समाजले कार्यक्रको अवसर पारेर समाजका गरेको गतिविधिमा सकारात्मक सहयोग र योगदान गर्ने व्यक्ति व्यक्तित्वलाई सम्मान गरेको छ ।
समाजको स्थापनाकालदेखि समाजका हरेक गतिविधिमा सक्रियता पूर्वक योगदान पुर्याएको भन्दै ओसाका कार्यक्रममा जगत थापालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको समाजका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए ।

उनका अनुसार समाजलाई संस्थागत बनाउन महत्वपूर्ण योगदान प्रदान गरेको र समाजका गतिविधिमा निरन्तर साथ सहयोग प्रदान गरेकोले नागोयाको कार्यक्रममा पदम मल्ललाई दोसल्ला सहित मायाको चिनो सहित सम्मान गरिएको थियो भने समाजमा रहेर लामो समय सम्म कार्य गर्दै महासचिवसम्मकाे जिम्मेवारी निर्वाह गर्दै हाल एनआरएनए जापानको अध्यक्ष रहेका नविन निउरेलाई टोकियोको कार्यक्रममा दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रममा आर्थिक सहयोगदाता तथा चन्दादाताहरुलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको समाजका कोषाध्यक्ष तथा कार्यक्रमका आर्थिक संयोजक दिल बहादुर थापा रामुले बताए।

स्थानीय रुपमा कार्यक्रमको व्यवस्थापन एक क्षेत्रीय संयोजकको नेतृत्वमा समाजका क्षेत्रीय समितिले गरेको हुनाले कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न भएको थियो।कार्यक्रमको सह आयोजकको रूपमा गलकोट स्पोर्ट्स क्लब टोकियो, गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो र घुम्टे युवा परिवार जापान रहेका थिए ।

गलकोट समाज जापानले आफ्नो स्थापना कालदेखि नै सामाजिक सेवाका साथै मानवीय सहयोगका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बारेमा जानकारी दिँदै कार्यक्रमका उप संयोजक तथा समाजका उपाध्यक्ष लोकेश खत्रीले दीर्घकालीन रुपमा सहयोग गर्न सहज होस् भनेर स्थापना गरिएको अक्षय कोष अभिवृद्धिका लागि यस बर्षको साँगीतिक धमाकाको उदेश्य रहेको बारेमा जानकारी गराएका थिए।
क्षेत्रीय संयोजकको रूपमा समाजका उपाध्यक्षहरु टोकियोमा डिला गैरे, नागोयामा राजेन्द्र श्रेष्ठ र ओसाकामा रामप्रसाद गैरे गौरीशंकरले कार्यक्रमको संयोजन गरेका थिए।

गलकोट समाज जापानले नयाँ वर्ष, हरितालिका तीज, नारी दिवसको अवसर पारी कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । उक्त कार्यक्रमले गलकोट क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति लगायतका विषयहरुमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?