शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
प्रहरी र स्थानीयका अनुसार हालसम्म रुकुममा मात्र २८ जनाको मृत्यु भएको छ ।
जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिए ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा ठूलो क्षति भएको छ ।
६.४ म्याग्निट्यूडको भूकम्प, केन्द्र विन्दू जाजरकोट
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्प मापन गरिएको छ।रातीको समय र प्रभावित क्षेत्र दुर्गम भएका कारण घाइतेको उद्धार तथा क्षतिको विवरणहरू संकलनमा कठिनाइ भैरहेको बताइएको छ।जाजरकोटको खलंगामा कतिपय घरहरू भत्किएको र मानिसको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।त्यस क्षेत्रमा त्रासका कारण मानिसहरू रातभर घरबाहिर बसेका जनाइएको छ।