
नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकैचरणमा गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो १ बजे बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले दिनुभयो ।
यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४ गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।
प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका थिए।
उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए।
तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौँ : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ ।
बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरे लगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम हुने बताएका हुन् ।
निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न हुँदासम्म १२० दिन समय चाहिने संवैधानिक व्यवस्था भए पनि उक्त मितिमा निर्वाचन गराउन आयोग सक्षम हुने उनको भनाइ छ ।
निर्वाचनको मिति घोषणाको दिन (आज) र मतदानको दिन (४ मंसिर) बाहेक १०७ दिन रहने भए पनि उक्त समयमा निर्वाचन गराउन आयोग सक्षम हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको सिफारिसअनुसार नै सरकारले निर्वाचनको मिति तोकेको हो ।



