
जटिल काम तत्काललाई छोडेर अघि बढ्नु सबै पेशाकर्मीको स्वाभाविक कर्म हो । तथापि, संरा अमेरिकाका केही राजनीतिक नेता र सञ्चारमाध्यमले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धानमा गाडीको सबभन्दा पछाडि बसेको चालकको जस्तो व्यवहार देखाइरहेका छन् । कोभिड–१९ को उत्पत्ति गम्भीर र जटिल विज्ञानसँग सम्बन्धित विषय हो । संरा अमेरिकी नेता र सञ्चारमाध्यमहरूको यस्तो व्यवहारले राजनीतिक पूर्वाग्रह पालेर यो अनुसन्धानमा भाँजो हाल्न खोजिरहेका छन् । साथै राजनीतिक जालसाजीको लागि झुटा कुराले तथ्यलाई बङ्ग्याउन खोजिरहेका छन् ।
संरा अमेरिका एउटा वैज्ञानिक शक्ति हो । तर, ऊ यतिबेला विज्ञानको विपरीत किनारामा उभिएको छ । अनि लाजै नमानी तथाकथित ‘प्रयोगशालाबाट चुहिएको सिद्धान्त’ बेच्ने प्रयासमा लागेको छ । कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन अन्तर्राष्ट्रिय सहकार्यलाई यस्ता हाँस्यास्पद प्रयासले बिथोलेको छ । महामारीविरूद्ध विश्वव्यापी सहकार्यमा विषवमन गरेको छ । साथै समस्त मानव जातिका साझा हितलाई न्यूनाङ्कन गरेको छ ।
भाइरसको मूल पत्ता लगाउन जति महत्वपूर्ण छ, त्यत्ति नै जटिल र संवेदनशील पनि छ । यो विषयमा सम्बन्धित विषयका ज्ञाताले निष्पक्ष र रचनात्मक ढङ्गले अध्ययन गर्नुपर्छ । यो प्रक्रिया विज्ञानसम्मत हुनुपर्छ र विश्व स्वास्थ्य सङ्गठनले यसको नेतृत्व गर्नुपर्छ । विश्वव्यापीरूपमा वैज्ञानिक एवम् चिकित्सा क्षेत्रका विज्ञहरूको अध्ययनमा यो प्रक्रिया अघि बढ्नुपर्छ । कुनै पनि राजनीतिक हस्तक्षेपबाट यो प्रक्रिया मुक्त हुनुपर्छ । सबै राष्ट्रको सार्वभौम समानताको सम्मान गर्दै कसैमाथि दोषारोपणको मनस्थितिबाट यो मुक्त हुन जरूरी छ । भाइरससँग सम्बन्ध भएका सबै देशलाई यो प्रक्रियाअन्तर्गत समेटिनुपर्छ । सम्पूर्ण प्रक्रिया खुला, पारदर्शी, वस्तुगत र तर्कसङ्गत हुनुपर्छ ।
भाइरसको स्रोतको खोजीको मूल लक्ष्य भनेको संसारलाई यस्तो खालको भाइरसबारे राम्ररी बुझाउनु हो । भविष्यमा यस्ता खालका सङ्क्रामक रोगको प्रभावकारी ढङ्गले सामना गर्नु हो । साथै यो प्रयासले जनस्वास्थ्य क्षेत्रमा संयुक्त राष्ट्र सङ्घको जिम्मेवारी पूरा गर्न, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्य बलियो बनाउन एवम् विश्वभर प्रणालीगत सुधार र क्षमतामा सुधार तथा अभिवृद्धि गर्न भूमिका खेल्नेछ ।
तथ्य र विज्ञानप्रति सम्मान गर्दै चीन विश्व स्वास्थ्य सङ्गठनसँग मिलेर भाइरसको उत्पत्तिबारे संयुक्त अनुसन्धान गर्ने पहिलो देश बनेको छ । यो अनुसन्धानले मूर्त कामको निम्ति चीनको अग्रसरता देखाएको छ । भाइरसको स्रोत पहिल्याउन वैज्ञानिक सहकार्यको लागि विश्वव्यापी योजनाअन्तर्गत चीनमा दुई पक्षबीच संयुक्त रूपमा काम गरे ।
यसै वर्षको सुरूमा विश्व स्वास्थ्य सङ्गठनका ३४ सदस्यीय एउटा संयुक्त विज्ञ टोलीले चीनको उहानमा २८ दिन अनुसन्धान गरिसकेको छ । टोलीमा संलग्न विदेशी विज्ञहरूले चीनको खुलापन, पारदर्शिता, जिम्मेवारीपनाको कदर गरेका छन् । टोलीका एक जना सदस्यले आफूले जानचाहेका सबै ठाउँमा पुगेको र आफुले भेट्न चाहेका सबै मानिसलाई भेटेको बताएका छन् । उनीहरूले चीनको खुलापन अपेक्षा गरिएभन्दा बढी र परिणाम पनि अपेक्षाभन्दा परको भएको बताए । टोलीका सदस्यहरूले संरा अमेरिकाका केही सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारको खण्डन गरे । समाचारमा उहानमा विज्ञ टोलीले वास्तविक तथ्याङ्क पाउन नसकेको लेखिएको थियो । टोलीका सदस्यहरूले समाचारले तथ्य बङ्ग्याएको र चित्त बुझ्दो नभएको बताएका थिए ।
विश्व स्वास्थ्य सङ्गठन–चीनले कोभिड–१९ को उत्पत्तिबारे गरेको संयुक्त अध्ययनको परिणाम वस्तुगत, विज्ञानसम्मत र आधिकारिक हो । इतिहासको परीक्षामा खरो उत्तीर्ण हुन त्यो अध्ययन सफल छ । १२० पृष्ठको अध्ययन प्रतिवेदनमा संयुक्त विज्ञ टोलीले कोभिड–१९ को उत्पत्ति कुनै माध्यमबाट ‘आएको हुन सक्ने धेरै सम्भावना’, चिसो खाद्य उत्पादनबाट आएको ‘सम्भावना’ र कुनै प्रयोगशालाबाट आएको सम्भावना ‘अत्यन्त न्यून’ भएको बताएको छ ।
उहान पुगेको अन्तर्राष्ट्रिय विज्ञ टोलीका नेता पिटर के बेन इम्बारेकले वैज्ञानिक निष्कर्षको आधारमा भविष्यमा भाइरसको उत्पतिको निम्ति हुने कुनै पनि खोज प्रयोगशालाबाट चुहिएको सम्भावनामा केन्द्रित हुन नहुने बताएका थिए ।
केही संरा अमेरिकी राजनीतिक नेता र सञ्चारमाध्यमले बनाएको कपोलकल्पित सिद्धान्तले आखिरमा उनीहरूकै हानी गर्नेछ । अमेरिकी सरूवा रोगविज्ञ ह्युम फिल्डले विज्ञानलाई राजनीतिकरण गर्दा ‘सन्देह’ र ‘अविश्वास’ मात्र जन्माउने बताएका छन् । “त्यसकारण आफ्नो पूर्वाग्रह त्याग र म्याद नाघेको सांस्कृतिक साम्राज्यवादलाई बिदा गर”, पश्चिमा सञ्चारमाध्यमहरूका समाचारप्रति खेद पोख्दै ट्वीटरमा उनले लेखेका थिए ।
“कोभिड–१९ को स्रोतको खोजी गर्ने क्रममा ‘निराधार हल्ला वा राजनीतिक अभिप्रायसहितको षड्यन्त्र सिद्धान्त’ लाई कुनै ठाउँ छैन”, द वेलकम कोषका निर्देशक जेरेमी फरारले भनेका थिए ।
विश्व स्वास्थ्य सङ्गठनका एक जना विज्ञले कोभिड–१९ भाइरसको स्रोतको खोजी एउटा जटिल खोज भएको र उहानमा संयुक्त विज्ञ टोलीले गरेको काम त्यो खोजको सानो हिस्सामात्र भएको बताए । उहानबाहेक विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूले सकेसम्म चाँडो संसारकै अन्य ठाउँमा पनि अनुसन्धान थाल्ने भएको छ । त्यसबाट पनि भाइरसको उत्पत्तिको खोज गर्न सहज हुनेछ । त्यसबाट थप बिस्तृत, वस्तुगत र विज्ञानमा आधारित उत्तर पाउन सकिनेछ । भाइरसको उत्पत्तिको खोजीलाई वैज्ञानिक सोचबाट बङ्ग्याउनु भनेको इतिहास र मानव जातिप्रति गैरजिम्मेवार हुनु हो ।
झोङ शेङ चीनको पिपुल्स डेलीमा कलम चलाइरहने लेखकको उपनाम हो ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन