जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो, ३३ हजार बढी प्रभावित ‘सेल्टरमा’

-


     जनहित न्युज    
     पौष १८ गते २०८०


जापानको इशिकावा प्रान्तमा सोमवार गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।​​

बुधबार सरकारी अधिकारीले ७३ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सोमवार गएको ७.६ म्याग्निच्यूडको भूकम्पले इशिकावाको बाजीमा शहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ ।

बुधवारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।खराब मौसमबीच उद्धारकर्ताले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेकाले घाइते तथा मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।अधिकारीहरुले भूकम्पपछि पहिरो र भारी वर्षाको चेतावनी दिएका छन् ।

भूकम्पपछि ३३ हजार भन्दा बढी मानिस घरबाहिर आश्रयस्थल (सेल्टर)मा रहेको बताइएको छ । इशिकावामा मात्रै ३३,००० मानिस विस्थापित भएका छन् भने ३०,००० भन्दा बढी घरमा विद्युत्विहीन छन्। इशिकावा र तोयामा र निगाताका दुई छिमेकी प्रान्तहरूमा १ लाख १० हजार घरहरू पानी आपूर्तिविहीन थिए।

भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधवार बिहान ५.४ र मङ्गलवार साँझ पनि ४.६ म्याग्निच्यूडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो ।

स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन ।

प्रधानमन्त्री फुमियो किशिदाले बुधबार पत्रकार सम्मेलनमा सरकारले प्रभावित क्षेत्रमा काम गरिरहेका एसडीएफ सदस्यको संख्या हाल १ हजारबाट बढाएर २ हजार पु¥याउने निर्णय गरेको बताए ।

टोकियोको हानेदा एयरपोर्टमा जापान एयरलाइन्स कम्पनीको विमान र राहत सामग्री बोकेको जापान कोस्ट गार्डको विमान ठोक्किएको एक दिनपछि दुर्घटनाले नोतो प्रायद्वीप र यसको वरपरका क्षेत्रमा आपूर्तिको द्रुत वितरणमा बाधा पुर्‍याउने चिन्ता व्यक्त गर्दै किशिदाले प्रेसलाई भेटेका छन ।

किशिदाले भने, “समग्रमा दुर्घटनाबाट कुनै असर नपर्ने विश्वास लिएका छौं। ती क्षेत्रमा राहत सामग्रीको ढुवानी भने क्रमिक रूपमा भइरहेको छ।”

उनले पछि २,००० फायर फाइटर र ७४० प्रहरी अधिकारी खोज र उद्धार कार्यमा सामेल हुने बताए।

भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् ।

क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् । ​

जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सूचनाहरू हटाएको छ । यद्यपि मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?