सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा छनोट

-


     जनहित न्युज    
     कार्तिक १७ गते २०८०


नेपालले १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान बनाएको हो । 

आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो ।

शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो।

ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका हिर्काए।

युएईको प्रतिस्पर्धात्मक लक्ष्य 
मूलपानीस्थित माथिल्लो मैदानमा युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएको थियो । तेस्रो नम्बर क्रिजमा आएका भृत्या अरविन्दले अर्धशतकीय इनिङ्स खेले । उनले ५० बलमा आठ चौका र दुई छक्कासहित ६४ रन बनाए । भृत्यालाई कुशल मल्लले गुल्सन झाबाट क्याच गराएका हुन्। 

कप्तान मुहम्मद वासिमले २६, अलिशान सराफुले १६, आसिफ खानले १३ रन बनाए । नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट लिए । यसबाहेक, सोमपाल कामी, कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए। 

यसअघि तेस्रो ओभरमा नेपालले युएईका दुई ओपनरको विकेट लिएको थियो । ३.१ ओभरमा सोमपाल कामीले ओपनर खालिद शाहलाई रनआउट गराएका हुन् । ओपनर खालिद चार बलमा तीन रन बनाएर आउट भएका थिए। 

३.४ ओभरमा कप्तान तथा ओपनर मोहम्मद वासिम आउट भए । १६ बलमा २७ रन बनाएर वासिमलाई सोमपालले करण केसीको हातबाट क्याचआउट गराएका हुन् । वासिमले तीन चौका र दुई छक्का प्रहार गरे । सन्दीपले पहिलो विकेट लिने क्रममा ९.६ बलमा आसिफ खानलाई एलबिडब्लु धरापमा पारे। १४ बलमा १३ रन बनाएका आसिफले एक चौका प्रहार गरेका थिए । जुन समय युएई ६२–३ को स्थितिमा रह्यो। 

कुशल मल्लले चौथो विकेटको रूपमा एलिशान सराफुलाई सोमपाल कामीबाट क्याचआउट गराए । १४ बलमा १६ रन बनाएर सराफु १३.४ ओभरमा पेभिलियन फर्किए । पाँचौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेलले सात बलमा चार रन बनाएका अली नासिरलाई आउट गरे। १५.५ ओभरमा एक सय रन जोड्दा नासिर आउट भएका हुन्। घाइते भएपछि दुई खेल बाहिर रहेका दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?