सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ

-


     जनहित न्युज    
     कार्तिक १६ गते २०८०


सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए ।

सर्वोच्च अदालतले रिगललाई पक्राउ गर्न आदेश दिएको थियो । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाए लगत्तै रिगललाई पक्राउ गरिएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको थियो । साथै इजलासले रिगललाई पुन: पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको थियो ।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिगललाई दिइएको कैद मिनाहा बदर गर्दै पुन: पक्राउ गर्न पूर्ण इजलासले परमादेश दिएको छ ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए। घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?