अन्तर्राष्ट्रिय श्रमिक दिवस: न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन जरूरी

-


     जनहित न्युज    
     वैशाख १८ गते २०७९


राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुुपर्ने बताएकी छन। 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना सन्देश दिँदै उनले न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु सबैको दायित्व भएको उल्लेख गरेकी हुन । 

श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचोसभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सङ्घीय संसद्को नेतृत्वका रूपमा आफू सदैव तत्पर रहेको विश्वास दिलाएका छन ।

नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख सापकोटाले उहाँहरुप्रति सम्मान व्यक्त गरे । दुई वर्षयता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै उनले कोरोनाको प्रभावमा कमी आएसँगै लाखौँ श्रमिक खाली बस्नुपर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छन ।

श्रमिकको जीवनलाई मर्यादित बनाउनुपर्छप्रधानमन्त्री

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मुुलुकको आर्थिक, सामाजिक क्षेत्रको महत्त्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिकको काम र जीवनलाई मर्यादित बनाएरमात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने बताउनुुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना दिँदै प्रधानमन्त्री देउवाले सरकार श्रमिकका श्रमको उच्च सम्मान गर्दै उनीहरूको संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन । 

प्रधामन्त्री देउवाले हरेक वर्ष श्रमबजारमा आएका श्रमशक्तिलाई रोजगारी प्रदान गर्न, सीपमूलक तालिम प्रदान गर्न नेपाल सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताए । 

उनले सन्देशमा भने छ, “श्रमिकका लागि सीपमूलक तालिम, व्यावहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजानेछ ।’’

‘श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ’श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे । 

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उहाँले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध  छ भने ।

 श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि कानुनी, नीतिगत एवं प्रक्रियागत सुधारको प्रयास गरिएको जनाउँदै उहाँले वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगारी प्रवद्र्धन, सेवा प्रवाहमा सुधार, सङ्गठन व्यवस्थापन र विस्तार तथा सामाजिक सुरक्षाको क्षेत्रमा पछिल्ला नवीन कामका थालनी भएको बताए ।

समानताको हक स्थापित गर्ने प्रेरणादायी दिवसकेपी शर्मा ओली

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभरका महिलाहरुमा समानताको हक स्थापित गर्ने प्रेरणादायी दिवस भएको प्रमुख प्रतिपक्ष दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन ।

दिवसको अवसरमा आफ़नो टुइटरमार्फत शुभकामना सन्देश व्यक्त गर्दै अध्यक्ष ओलीले लेखेका छन – “यस दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

‘समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ ’प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनका रूपमा लिन सबै श्रमजीवी जनसमुदायलाई आग्रह गरेका हुन ।

श्रमिक वर्गको बलिदानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।   

‘श्रमको सम्मान र मर्यादा हुनुपर्छ ’माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उहाँले संविधानले व्यवस्था गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्नेमा जोड दिए ।

श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने, त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ विसं २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको उल्लेख गर्दै अध्यक्ष नेपालले नेपाली समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?