दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा एक व्यक्ति खसेको घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।
गत शुक्रबार व्याँस गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकालीमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सो कुरा बाहिरिएपछि मन्त्रालयले आइतबार छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
गृहमन्त्री बालकृष्ण खाँणले छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको प्रवक्ता पोखरेलले बताए।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट समेत पाँच सदस्यीय छानविन समिति गठन भएको हो।
बेपत्ता रहेका धामीको प्रहरीले खोजी गरिरहेको छ। तर उनी फेला पर्न सकेका छैनन्।
शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका छन्।
स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन समेत दिएका थिए।
घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ। टोलीमा नेपाल प्रहरी र अनुसन्धान समूह पनि सहभागी छ।