काठमाडौंको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

-


     जनहित न्युज    
     वैशाख १२ गते २०७९


काठमाडौँ — नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डंगोलले सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए । यसका साथै उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनीत भएका थिए ।

त्यस्तै उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको थियो ।

डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् । उनले आफ्नो ८ खम्बे विकास मोडेलमा ‘स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट’ लाई समेटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?