
जापानले कोभिड-१९ को रोकथामका लागि गरेको सीमा नियन्त्रणहरूलाई थप सहज पार्दै अप्रिलको सुरुदेखि हालको ७००० विदेशी आगमनको दैनिक सिमालाई १०,००० मा पुर्याउने विचार गरिरहेको सरकारी स्रोतहरूले बताएका छन ।
हाल जापानले गरेको सीमा नियन्त्रणका उपायहरु अत्यन्त कडा भएको आलोचना भएपछि प्रधानमन्त्री फुमियो किशिदाले स्वदेश तथा विदेशमा संक्रमणको अवस्था र अन्य राष्ट्रले लागू गरेको सीमा नियन्त्रणका कदमलाई मध्यनजर गर्दै चरणबद्ध रुपमा खुकुलो बनाउने सोच अन्तर्गत अप्रिल १ देखि दैनिक १० हजार आगन्तुकलाई प्रवेश अनुमति दिने बताएका छन ।
ओमिक्रोनको फैलावट स्पष्ट रूपमा देशका धेरै भागहरूमा सुस्त भइरहेको, टोकियो र ओसाका लगायतका स्थानीय सरकारहरूले क़ोरोना संक्रमण घट्दै गएपछि १८ प्रान्तहरूमा लगाईदै आएको अर्ध आपतकालीन उपायको आगामी हप्तादेखि अन्त्य गर्दै सामाजिक गतिविधिलाई सहज बनाईने भएएकोले पनि सीमा नियन्त्रणका कदमलाई खुकूलो बनाउन लागिएको बताईएको छ।
अत्यधिक ट्रान्समिसिबल भेरियन्टको ओमिक्रोनको संक्रमणसंगै जापानले नोभेम्बरको अन्तमा गैरआवासीय विदेशी नागरिकहरूको सहज प्रवेशमा प्रतिबन्ध लगाएको थियो।
सरकारले मार्चदेखि क्रमशः नियमहरू खुकुलो बनाएको छ र विदेशबाट फर्केका जापानी नागरिकहरू सहित जापान प्रवेश गर्ने व्यक्तिको दैनिक सीमा सोमबारबाट ७००० मा बढाइएको छ। तर अझैपनि विदेशी पर्यटकहरूलाई अझै प्रवेश निषेध गरिएको छ।
अप्रिलबाट जापानको आर्थिक वर्ष र विद्यालय वर्षको सुरुवात पनि रहेकोले पनि आगमनमा सहजता ल्याउन लागिएको हो ।
धेरै विदेशी विद्यार्थीहरू जापानमा अध्ययनको लागि पर्खिरहेका छन्, सरकारले उनीहरूलाई प्रवेश प्राथमिकता दिने योजना सार्वजनिक गरिसकेको छ। तीमध्ये अधिकांश मे महिनाको अन्त्यसम्म आइपुग्ने अपेक्षा गरिएको सरकारका शीर्ष प्रवक्ता हिरोकाजु मात्सुनोले बताए।



