शैक्षिक बेरोजगार र शिक्षा क्षेत्रमा देखिएका समस्याको सुधारका लागि केन्द्रीत रहने छु- शिक्षा मन्त्री पौडेल

-


     जनहित न्युज    
     असाेज २२ गते २०७८


काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताए ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले शिक्षामा भइरहेको सुधारलाई निरन्तरता दिँदै अरोरात्र खटेर आमूल परिवर्तन गर्ने जनाए । मन्त्री पौडेलले सोहीबमोजिम कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पौडेलले भने, “सरकारले पढ्दै, कमाउँदै भन्ने कार्यक्रम पनि ल्याएको छ । शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ निकायसँगको समेत सहयोग लिएर रोजगारमूलक बनाउन नीतिगत पहल गर्न आवश्यक छ । त्यसमा म र मन्त्रालयका तर्फबाट काम हुनेछ । सङ्घीय शिक्षा निर्माण लगायत विद्यमान आवश्यकता र समस्याका लागि मेरो ध्यान जानेछ ।”

मन्त्री पौडेलले कुनै व्यक्तिका लागि नभइ सिंगाे देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

पाैडेलले शिक्षा क्षेत्रको आमूल परिर्वतनका लागि काम गर्ने बताउँदै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनपर्ने काम अहोरात्र खटेर परिणाम निकाल्ने गरी काम गर्ने बताए ।

‘भर्खरै पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सरकारले सुरु भएको बताउँदै शैक्षिक बेरोजगार र शिक्षा क्षेत्रमा देखिएका समस्याको सुधारका लागि आफू केन्द्रीत रहने उनको भनाइ छ ।

‘संविधानमा समाजवाद उन्मुख राज्य प्रणाली भनेका छौं,’ मन्त्री पौडेलले भने, ‘समाजवाद राज्य प्रणालीलाई आवश्यक पर्ने शैक्षिक सुधारका लागि आवश्यक जनशक्ति उत्पादन, नीतिगत सुधार र उत्पादित जनशक्तिलाई विभिन्न रोजगारमा जोड्दै समग्र शिक्षा क्षेत्रलाई गतिदिने काम गर्छु ।’

मन्त्री पौडेललाई मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायत उच्च कर्मचारीले गरेका थिए ।  मन्त्री पौडेलसँगै नवनियुक्त राज्यमन्त्री बोधमायाकुमारी यादवले पनि आज मन्त्रालयमा बहाली गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?