
अब विदेशबाट आएका यात्रुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ।
गत फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले हवाई मार्ग तथा स्थल मार्ग भई आउने यात्रुका लागि सो मापदण्ड बनाउने निर्णय गरेको हो।
विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
अध्यागमन विभागले आज विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद् बैठकको निर्णणअनुसार शर्तहरु अनीवार्य पालना गर्नुपर्ने सूचना सार्वजनिक गरेको हो ।
अब हवाई तथा स्थलमार्गबाट यात्रु निर्वाध नेपाल आउन पाउने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा. टाेकराज पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।
विभागले जारी गरेको सूचना अनुसार हवाई मार्ग वा स्थल माग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले ७२ घन्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
त्यस्तै, नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुहरुको लागि गन्तब्य मुलुकको कोभिड १९ सम्बन्धी स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धीत एयरलाईन्सले आफ्ना यात्रुलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।
नेपालबाट प्रस्थान गर्ने यात्रुहरुले पेश गर्नुपर्ने स्वास्थ्य सम्बन्धी कागजपत्रहरु गन्तब्य मुलुकको स्वास्थ्य सम्बन्धी मापदण्ड हुने गरि एयरलाईन्सले तोके बमोजीम हुने जनाइएको छ ।
साथै कोभिड १९ सम्बन्धी यसअघि जारी भएका विभागका सूचनाहरु भने खारेज भएको जनाइएको छ ।
खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन पनि बस्नु नपर्ने अध्यागमन विभागले जनाएको छ । नयाँ व्यवस्थानुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु खोप कार्ड वा पीसीआर नेगेटिभको रिपोर्ट देखाए निर्वाध नेपाल आउन पाउने छन् ।




