
जापानले तीन महिनादेखि लगाउदै आएको सीमा प्रतिबन्ध मार्च १४ बाट सीमा नियन्त्रणहरूमा थप सहज बनाई देशमा प्रवेश गर्न अनुमति दिने दैनिक सीमा हालको ५,००० बाट बढाएर ७,००० पुर्याउदै विद्यार्थीलाई प्राथमिकताका साथ प्रवेश दिने भएको छ ।
धेरै विद्यार्थीहरू अप्रिलबाट विद्यालयको अध्ययन सुरु हुनु अघि जापान प्रवेश लागि लामो समयदेखि पर्खिरहेकाले विदेशी नागरिकहरूलाई सीमाको पर्वाह नगरी हालको दैनिक ५००० जना प्रवेशको सिमालाइ बढाएर ७००० जना सम्मलाई स्वीकार गर्दै विद्यार्थीलाई प्राथमिकताका साथ जापान प्रवेश दिने प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आयोजित पत्रकारमा बताए ।
विगत दुई वर्षदेखि लागू गरिएको कोभिड–१९ यात्रा प्रतिबन्धका कारण करिब १५०,००० विदेशी विद्यार्थीहरू अझै पनि जापान प्रवेशको प्रतीक्षामा रहेको बताइएको छ ।”हामी विद्यार्थीहरूलाई प्राथमिकताका साथ जापान आउन मद्दत गर्नेछौं,” किशिदाले भने-“धेरै विदेशी विद्यार्थीहरू अप्रिलमा स्कूल सुरु हुनु अघि जापान प्रवेश गर्न सकिदैन कि भनेर चिन्तित छन्।”
जापानले विश्वमा अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन स्ट्रेनको उदयसँग जुध्न नोभेम्बरको अन्त्यबाट प्रभावकारी रूपमा गैरआवासीय विदेशी नागरिकहरूमा प्रवेश प्रतिबन्ध लागू गरेको थियो ।
मङ्गलबारदेखि सिमा नियन्त्रणमा गरिएको सहजताबाट ३,५०० बाट ५००० सम्म आगन्तुकहरूलाई जापान प्रवेश गर्न अनुमति दिइएको छ ।जापानले अझै पनि विदेशी पर्यटकलाई प्रवेश गर्न दिएको छैन ।
जापानका ४७ प्रिफेक्चर मध्ये ३१ हाल संक्रमणलाई नियन्त्रण गर्न अर्ध-आपतकालिन अवस्था अन्तर्गत छन्। सरकारले टोकियो, ओसाका र अन्य १६ प्रिफेक्चरहरूमा मार्च २१ सम्मका लागि दुई हप्ताको लागि प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको पनि किशिदाले बताए।
जापानका १० प्रान्तहरूमा कोभिड-१९ का गम्भिर प्रकृतिका बिरामीहरूका लागि अस्पतालको बेड उपयोगको दर उच्च रहेकोले हाल जारी अर्ध-आपतकालिन अवस्थालाई मार्च २१ सम्म विस्तार गरिन लागिएको हो ।
किशिदाले पत्रकार सम्मेलनमा हाल ३१ प्रान्तहरूमा रहेको अर्ध-आपतकालीन उपायहरूको अवधि आगामी आइतबार अर्थात् मार्च ६ तारिकका दिन सकिने भएकोले सरकारले १८ प्रान्तहरू होक्काइडो, आओमोरी, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, टोकियो, कानागावा, इशिकावा, गिफु, शिजुओका,आइची, क्योटो, ओसाका, ह्योगो, कागावा र कुमामोटोका लागि थप दुई हप्ता मार्च २१ सम्मका लागि विस्तार गर्ने बताए।
फुकुशिमा, निगाटा, नागानो, मी, वाकायामा, ओकायामा, हिरोशिमा, कोची, फुकुओका, सागा, नागासाकी, मियाजाकी र कागोशिमा १३ प्रान्तहरूमा अर्ध-आपतकालीन उपायहरू मार्च ६ को निर्धारित समयावधि समाप्त हुनेछन।
आइतवारसम्म कोरोनाभाइरस बिरामीहरूका लागि अस्पतालको ओछ्यान उपयोगको अवस्था टोकियो महानगरीय क्षेत्रका प्रान्तहरूमा ६० देखि ७० प्रतिशतको बिचमा र ओसाकामा ७० देखि ७७.२ प्रतिशतको बीचमा रहेको बताईएको छ।
केन्द्रीय सरकारले फेब्रुअरी १८ मा होक्काइडो र ओसाका सहित १७ प्रिफेक्चरहरू मा अर्ध-आपतकालीन उपायहरूलाई मार्च ६ सम्म लम्ब्याउने निर्णय गरेको थियो । यस बारे सरकारले मार्च ४ मा औपचारिक निर्णय गर्नेछ।



