भूराजनीतिक चपेटाबाट देशलाई बचाउनु पर्छ – उपसभापति गुरुङ

-


     जनहित न्युज    
     फागुन १ गते २०७८


नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले महाशक्ति राष्ट्रको द्वन्द्वमा नेपाल परेकोले राष्ट्रिय सहमतिको आधारमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

आइतबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्दै उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसिसि बारे निर्णय गर्नु पर्ने बताए । एमसिसीलाई नेपालमा राजनीतिक मुद्दाको रुपमा आफ्नो फाईदाका लागि उपयोग गर्न खोज्दा अहिले भूराजनीतिक द्वन्द्वमा नेपाल फस्दै गएको बताएका छन् ।

‘दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनका भूराजनीतिक चपेटामा एमसीसीका कारण नेपाल पर्ने अवस्थामा पुगेको छ’ गुरुङले भने, ‘हामी चाहेर नचाहेर अब शक्ति राष्ट्रको टकराब बन्ने अवस्थामा देखिएकाले विवेकपूर्ण ढङ्गबाट निर्णय गर्नु पर्नेछ ।’ आफै प्रधानमन्त्री हुँदा अगाडि बढाएको योजनाको विषयमा भोटको राजनीतिका लागि प्रचण्डले यो कार्यान्वयन गर्न नहुने तर्क पेश गरेको गुरुङले दाबी गरे ।

‘हामी जानेर वा नजानेर यो विषयलाई बहसमा ल्याउन सकेनौं, अहिले काठमाडौंका महलमा बस्नेदेखि गाउँमा झुपडीमा बस्नेसम्मले एमसिसि राष्ट्रघाती हो भन्न थालेपछि हामीलाई भोटको माया लागेर भोटको राजनीति गर्न थालेका छौं’ गुरुङले भने ।

एमसिसीको विषयमा निर्णय गर्नुपूर्व अस्वीकार गर्ने श्रीलङ्का र एमसिसी कार्यान्वयन गरेको मंगोलियाको अध्ययन गर्नुपर्ने उनले धारणा राखे ।

अहिले स्थानीय तहको निर्वाचन नजिक आइरहेको र एमसीसी चुनावी नारा बनाउने काम हुने खतरा समेत रहेको हुदा यो ठिक भए लागू गर्न नभए फिर्ता गर्नु बुद्धिमानी हुने नेता गुरूङले बताए ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चम्पादेवी खड्का ,नेपाली काग्रेस बागलुङका सभापति जित शेरचन,संविधान सभा सदस्य प्रकाश पौडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम क्षेत्रिय सभापति चण्डीप्रसाद शर्माको अध्यक्षता उपसभापति हरी बहादुर जिसीको स्वागत र सचिव गोपाल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर २ लोकतान्त्रिक चोकमा स्थापना गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को कार्यालय ब्यबस्थित रूपमा संचालन गर्न क्षेत्रीय सभापति चण्डी प्रसाद शर्माले ५०लाखको अक्षयकोष स्थापना गर्न चन्दा अभियान शुरू गरेका छन् ।

कांग्रेसका नेताहरूसंग अक्षयकोषको लागि २५ ,२५ हजार चन्दा सहयोग उठाउने काम भइरहेको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्माले बताए ।

अहिलेसम्म अक्षयकोष स्थापनाको लागि नेपाली कांग्रेसका नेता तथा शुभचिन्तकले चन्दा सहयोग गरि सकेका छन् । अक्षयकोषबाट आउने ब्याजबाट कार्यालयको घर भाडा र कर्मचारी ब्यबस्थापन गर्ने योजना बनाएको सभापति शर्माले बताए ।
यसै विच नेपाली कांग्रेस क्षेत्र नं १ बागलुङको आयोजनामा प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।

सो अवसरमा नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको राजनैतिक र संगठणात्मक रणनीतिको बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका सभापति जित शेरचन,पदाधिकारी र सदस्यहरु,क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु,गाउँ र नगरका पार्टीका नेता तथा कार्यकताहरु र भातृ संस्था र शुभेच्छु संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ बागलुङका क्षेत्रीय सभापति चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्षेत्रीय सचिव जयराम भारीले गरेका थिए ।

तस्वीर : पिपुलखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?