
जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा जाँदै छन् । यहाँ उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्नेछन् । यसअघि किशिदा भारत भ्रमणमा थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष विश्वका सात सबैभन्दा उन्नत र विकसित अर्थतन्त्र भएका देशहरूको समूह जी–सेभेनको अध्यक्षता गरिरहेको छ ।
यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । यी देशको बढ्दो दबाबका कारण किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको बताइएको छ ।
जापानको आधिकारिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै किशिदा भारत भ्रमणको समापनपछि मङ्गलवार युक्रेन पुग्ने जानकारी दिएको छ ।
एनएचकेले पोल्यान्डका आफ्ना पत्रकारहरूले किशिदाको श्मिशल सहरमा कारमा घुमिरहेको भिडियो बनाएको बताएको छ ।
यो यस्तो सहर हो जहाँबाट विदेशी नेताहरू प्रायः युक्रेनका लागि रेल चढ्छन् ।
एनएचकेले भन्यो, ‘युक्रेन जाने अन्तर्राष्ट्रिय रेलहरूका लागि प्रयोग गरिने शमशिल स्टेसनको प्लेटफर्मको अगाडि कार्केड राेकिएको थियो । किशिदा कार्केडको पहिलो गाडीबाट निस्किएर उनी रेलको अन्तिम डिब्बामा चढे ।’
समाचार अनुसार यो ट्रेन युक्रेनको समय अनुसार अबेर राती १.३० बजे प्रस्थान गरेको थियो ।
तर, यो भ्रमणको जापान सरकारका अधिकारीहरूले पुष्टि गरेका छैनन् ।
किशिदा युक्रेन युद्ध सुरु भएदेखि नै किभ भ्रमण नगर्ने जी–सेभेन देशका एक मात्र शीर्ष नेता थिए ।
यस वर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अचानक कीभ पुगेपछि भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए ।
किशिदाको युक्रेन भ्रमण पनि यस्तो बेला भइरहेको छ, जब चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न पुगेका छन् ।
जापानले युक्रेनमा युद्ध सुरु भएदेखि रुसमाथि प्रतिबन्ध लगाएका पश्चिमी देशहरूको पक्षमा रहेको छ र युक्रेनलाई सहयोगको प्रस्ताव पनि गरेको छ ।



