लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि एमसीसीमा सहमतिः प्रचण्ड (भिडियो सहित)

- एमसिसीको विरोध गर्ने नारायणकाजीलाई प्रचण्डको सुझाव : दोस्रो बामदेव नहुनु

-


     जनहित न्युज    
     फागुन १६ गते २०७८


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना(एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा गर्व गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन हुँदा नेपाली समाज विभाजित हुनबाट बचेको बताएका हुन् ।

उनले भने, ‘केही साथीहरु व्याख्यात्मक टिप्पणीलाई कागजको खोस्टो हो भन्नुहुन्छ । तर होइन नेपाली समाज विभाजित हुनबाट बचेको छ । गर्व गर्नुपर्छ हामीले । राष्ट्रिय स्वभाभिमानलाई स्वतन्त्र अडान स्थापित भएको छ ।’ उनले एमसीसी सम्झौता अनुमोदन नहुँदा शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने खतरा, संविधान डिरेल हुने खतरा, गठबन्धन टुट्ने खतरा रहेको बताए ।

उनले भने,‘अर्को सरकार आउने मात्र थिएन धेरै चीज उल्टिने खतरा थियो । अब गठबन्धन अघि बढ्छ । सरकार चुनावमा केन्द्रित हुन्छ।’ उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने तत्कालीन नेकपाको सरकारमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

उनले भने,‘पोहोरसाल नै व्याख्यात्मक टिप्पणीबारे सोचेको थिएँ । सार्कका पूर्वमहासचिव डा. अर्जुनबहादुर थापासँग यसबारे छलफल गरें । सन्धिका बारेमा भियना कन्भेन्सन अनुसार एउटा पक्षले आधिकारिक व्याख्यात्मक घोषणा गरेको कानुनी मान्यता हुन्छ । अर्को पक्ष मान्नुपर्छ भन्ने कुरा रहेछ । उहाँले यस्तो बताएपछि उज्यालोतिर गयो । कानुनविदसँग पनि कुरा भयो । गोविन्द बन्दीले पनि यो बाटो छ भनेर विस्तारपूर्वक बताउनुभयो । त्यही क्रममा गगन थापाहरु पनि यसैमा लागेको थाहा पाइयो । घोषणासहित गर्दा महाकालीमा जस्तो नहुने रहेछ भन्ने भयो र मलाई एकजना विद्धान कानुन व्यवसायी सुर्यप्रसाद सुवेदीले मलाई एउटा चीठी दिनुभयो र त्यसबाट ठूलो मनोबल दियो । उहाँले दिएको चार पेजको चीठीले एमसीसी निकास दिने कुरा कानुनीरुपमा छर्लंग भएको छ ।’ अध्यक्ष प्रचण्डले यी सबै कुरा हेरेपछि पार्टीमा दायाँबायाँ गर्नुहुँदैन भनेर अनुमोदन गर्ने निर्णय गरेको बताए । उनले भने,‘यो भएपछि हाम्रो पार्टीमा दायाँबायाँ गर्नुहुँदैन र देशलाई दुर्घटनामा जान दिनु हुँदैन भनेर निर्णय गर्यौं ।’

उनले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा मतभेद पार्टीमा व्यवस्थित रुपमा राख्न सुझाव दिए । उनले फरक विचारको सम्मान गर्नेसमेत बताए । उनले एमसीसीको विरोध गर्दैमा जनतमत आफ्नो पक्षमा नआउने भएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे ।

उनले भने,‘नारायणकाजीले मतभेद राख्नु भएको छ । त्यसलाई सम्मान गरिन्छ । मैले पनि यो बाटो क्लियर नहुँदासम्म समस्या हुन्छ भनेकै हो । उहाँलाई लागेको छ यस्तो भनेपछि जनता म तिर आउँछन् भन्ने लागेको होला । केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्नुहोला । नत्र प्रेम सुवालले मुर्दावाद भनेर कति नारा लगाउनु भएको छ । उनकोमा सवै नेपाली जनता जानुपर्ने नि ? खै त गएका ?महाकालीमा विरोध गरेर वामदेव आधा नेता कार्यकर्ता लिएर जानुभयो तर चुनावमा भोट आयो शून्य ।’

एमसिसीको विरोध गर्ने नारायणकाजीलाई प्रचण्डको सुझाव : दोस्रो बामदेव नहुनु

एमसिसी सम्झौतामा पार्टी सहमत भए पनि विपक्षमा धारणा सार्वजनिक गरेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बामदेव गौतमको बाटोमा हिँडेको सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गरेका छन् ।

उनले एमसिसी सम्झौता पारित भएकोमा भावुक नहुन पार्टीका नेताहरूलाई आग्रह गर्दै महाकाली सन्धि भएपछि असहमति जनाउँदै एमालेका तत्कालीन नेता बामदेव गौतमले नेकपा माले गठन गरेको प्रसङ्ग उप्काएका थिए।

बामदेवले महाकाली सन्धिप्रति असहमति जनाउँदै एमाले फुटाएर माले बनाए पनि निर्वाचनमा लज्जास्पद हार भएपछि पछि एमालेमै फर्किएका थिए। उनले आफ्नो पार्टीमा रहेका कुनै नेताले गौतमको बाटो रोजे रोक्न नसक्ने भन्दै श्रेष्ठलाई असहमति भए पार्टी छाड्न अप्रत्यक्षता चुनौती दिए।

सोमबार उनले व्याख्यात्मक प्रस्तावसहित एमिसिसी सांसदबाट पारित गर्नेबारे पार्टीमा भएको छलफलमा असहमत साथीहरूलाई पार्टीभित्रै छलफल गर्न आग्रह गरेको बताएका थिए। तर एमसिसी सम्झौता पास भएपछि श्रेष्ठले ट्विट गर्दै आफ्नो असन्तुष्टि राखेका थिए।

श्रेष्ठले आइतबार बेलुका ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको सङ्घर्षलाई निरन्तर जारी राखौँ’ भन्दै ट्विट गरेका थिए।

उनले यति भनेपछि माओवादी केन्द्रका कार्यकर्ता आफूतिर आउने श्रेष्ठले सोचेको हो भने त्यस्तो नहुने दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?