चार महिनापछि जापानमा शुक्रवारदेखि आपतकाल हट्ने, रेष्टुरेण्ट बेलुकी ९ बजेसम्म र रक्सी बिक्री साँझ ८ बजेसम्मका लागि समय तोकियो

- रेष्टुरेण्टहरूले ८० प्रतिशतसम्म सहुलियत पाउने

-


     जनहित न्युज    
     असाेज १२ गते २०७८


कोरोना संक्रमणको दर न्यून हुन लागेकोले र कोभिड-१९ रोकथामका उपायहरु प्रभावकारी देखिएकोले टोकियोसहित १७ प्रान्तहरुमा लगाईदै आएको आपतकाल तथा ८ प्रान्तहरुको स्वास्थ्य संबेदनशील क्षेत्र हटाईन लागेको जापानका प्रधानमन्त्री योशिहिदे सुगाले बताएका छन ।
जापानको कोरोनाभाइरस नियन्त्रण सम्बन्धी सल्लाहकार प्यानलले बिहीबार सकिन लागेको आपतकालिन अवस्था र स्वास्थ्य सम्वेदनशील क्षेत्रको थप गर्नु नपर्ने सरकारी योजनालाई अनुमोदन गरेपछि आपतकाल हटाउन लागिएको हो ।
नयाँ कोरोनाभाइरसका संक्रमित र गम्भीर लक्षण भएका बिरामीहरुको संख्या उल्लेखनीय रुपमा घटेकोले अप्रिल ४ देखि लगाईदै आएको आपतकाल र स्वास्थ्य संवेदनशील क्षेत्र आगामी बिहिबारदेखि राखी राख्नुपर्ने नदेखिएकोले हटाईन लागेको प्रधानमन्त्री सुगाले प्रतिनिधि सभामाको बैठकमा जानकारी गराए ।

अस्पतालका बेडहरुमा संक्रमणका बिरामीहरु ५० प्रतिशतभन्दा कमी रहेका, जापानको सबै क्षेत्रमा कोभिड-१९ को रोकथाम प्रभावकारी भै स्वास्थ सम्वेदनशीलमा व्यापक सुधार आएकोले आगामी बिहिबारपछि आपतकाललाई निरन्तरता दिइ रहनु नपर्ने प्रधानमन्त्री सुगाको भनाई रहेको छ ।
“हामी संक्रमण फ़ैलिन नदिनका लागि स्वास्थ्य सेवा प्रणालीको व्यापक सुधार र स्तरवृद्धि गर्दै कोभिड-१९ विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाई सामाजिक प्रतिक्रियामार्फत र एन्टिभाइरस उपायहरु सन्तुलित र सामान्य जीवन यापनको लागि व्यवस्थित रूपमा काम गर्नेछौ,” प्रधानमन्त्री सुगाले बैठकमा भने।
स्वास्थ मापदण्डलाई पालना नगरी विभिन्न क्रियाकलापलाई जारी राखेमा पुन संक्रमणमा वृद्धि आइ हाम्रो दैनिक जीवनयापन कष्टकर हुन जाने भएकोले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरि कोरोना संक्रमणलाई घटाउन उनले सबैमा आग्रह गरेका छन ।
रेष्टुरेन्टमा रक्सीको बिक्री वितरणको लागि बेलुका ८ बजेसम्म अनुमति दिइएपनि प्रान्तका गभर्नरहरुले संक्रमणको अवस्थालाई ध्यानमा राखेर निर्णय लिनसक्ने समेत बताईएको छ।
एक महिनाको लागि स्थानीय सरकार वा अन्य अधिकारीहरुले संक्रमण नियन्त्रणका उपायहरु अपनाउनका लागि अनुमति प्रदान गरिएका रेष्टुरेण्टहरुमा बेलुका ९ बजे भित्रमा बन्द गर्न भनिएको छ र अन्य स्थानहरुलाई ८ बजे बन्द गर्न अनुरोध गरिने बताईएको छ । रेष्टुरेण्टहरुलाई विगतको कारोबारका आधारमा कम्तिमा पनि ८० प्रतिशत आर्थिक सहयोग प्रदान गरिने भएको छ ।
मानिसहरुलाई अनावश्यक बाहिर ननिस्कन र भीडभाड हुने ठाउँहरुमा नजान र एक महिनाका लागि मानिसको जमघट हुने ठाऊमा ५० प्रतिशत कमी गर्नका लागि आग्रह समेत गरिएको छ । सरकारले चरणबद्ध रूपमा कोभिड-१९ का विरुद्दमा एन्टी भाइरस कदम चाल्ने योजना बनाएको छ।जाडोमा महिनामा स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ र दिगो बनाउनको लागि आवश्यक तयारीको थालनी सरकारको योजना रहेको छ ।
कोरोना सक्रमण फेरि बढ़न थालेमा सरकारले प्रान्तहरुसँगको समन्वयमा आवश्यक कदम चाल्न सक्ने समाचारहरुमा जनाईएको छ ।
जापानमा अगस्ट २० मा २५ हजार ८ सय ७६ जना कोरोनाका बिरामी एकैदिन थप भएका थिए भने सोमवार मात्र १ हजार १ सय ४७ थप भएकामा टोकियोमा मात्र २०० जना संक्रमित भएका हुन ।
टोकियोमा करिब साढे दुई महिनासम्म र ओकिनावामा झण्डै चार महिनासम्म आपतकालिन अवस्था रहेको थियो।जापान कोरोनाभाइरस आपतकालिन र स्वास्थ्य संवेदनशीलताका उपायहरुबाट मुक्त हुनेछ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले सुगाले आफू आगामी दिनमा सरकार प्रमुख नरहने गरेको घोषणासंगै नयाँ नेता छनौट गर्नु भन्दा एक दिन अगाडी आपतकालको अवस्था हटाउने निर्णय भएको छ ।एलडिपीको बैठकमा सुगाले आफ़नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालको अन्त्यतिर आपतकाल हटाउन पाएकोमा खुशी व्यक्त गरे । तर जापानले जाडोमा अझै पनि संक्रमणको एक अर्को वेभको जोखिम सामना गर्नुपर्ने हुनसक्ने विज्ञहरुले आकलन गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?