
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार दुई दिन मनोनयन दर्ता भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगलबार भने दाबी विरोधको सूचना दिन सकिन्छ । स्थानीय तह निर्वाचन ऐन अनुसार अयोग्य उम्मेदवारबारे सूचना दिन सकिने प्रवाधान छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद–४ को १२ र १३ अनुसार योग्यता भएका विरुद्धमा उजुरी दिन सकिन्छ । यसरी उजुरी परेका उम्मेदवारको बुधबार र बिहीबार निर्वाचन अधिकृतको कार्यालयले छानविन गर्नेछ । त्यसपछि योग्य उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गर्छ ।
कस्ता व्यक्ति अयोग्य उम्मेदवार हुन्छन् ?
– गैर नेपाली नागरिक : नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको
– कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको
– निर्वाचनसम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको
– भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको
– संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको
– जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको
– खण्ड च र छ मा उल्लेखित कसुरबाहेक अन्य कसुरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको
– प्रचलित कानून बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर कैदमा बसेकोमा कैद बसेको अवधिभर मानसिक सन्तुलन ठीक नभएको
– प्रचलित कानुनले अयोग्य भएका



