वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा

-


     जनहित न्युज    
     कार्तिक १० गते २०७८


वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । 

आजको बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । 

उनले आपसी द्वन्द्वलाई कम गरौं भन्ने मनसायले नै आफूले मार्ग प्रशस्त गर्ने निर्णय लिएको बताइन् । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।

प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । विपक्षी गठबन्धनको पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरिसकेको छ ।

यससँगै नेकपा एमालेले वाग्मती प्रदेश सरकार गुमाएको छ । यसअघि केन्द्र, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गुमाएको एमालेलाई अब अर्को धक्का लागेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?