बिदेशबाट फर्किएर गाउँमा बाख्रा पालेका घर्तिमगर भन्छन, ‘कतैबाट सहयोग पाइन, फेरी बिदेश जानु पर्ने भयो’

-


     ढोरपाटनन्यूज डट कम     
     मंसिर १० गते २०८१


तारागाउँ (बागलुङ)/  ७ कक्षामा पढ्दापढ्दै उनी माओवादी युद्धमा लागे । केही समय माओवादीमा हिनेपछि भागेर भारत गए । उतैबाट किशोरावस्थामै बैदेशिक रोजगारीको लागि खाडीमुलुक दुवई पुगे । २१ वर्षसम्म बिदेशी भूमीमा पसिना बगाए । छुट्टीमा घर आउँदा बिहे गरे । श्रीमतीलाई पनि दुवई लगे ।

कोभिड–१९ ले बिश्वव्यापी रुपमा महामारी लिएको बेला २०७७ सालको सुरुमा गाउँ फर्के । सधैभरी बिदेशमा काम गर्ने रहर थिएन । गाउँमै केही गर्नुपर्छ भन्ने हुट्हुटी उनमा थियो । ताराखोला गाउँपालिका– ४ तारागाउँका ४० वर्षीय जंगबहादुर घर्तिमगरले जनप्रतिनिधि र गाउँलेसंग सरसल्लाह गरे । बाख्रा पाल्दा राम्रो हुने सुझावसहित गाउँपालिकाबाट अनुदानलगायत सहयोगको आश्वासन पनि पाए ।

चरनका लागि प्रशस्त व्यक्तिगत जग्गा र घाँस पर्याप्त थियो । यसले उनको बाख्रापालनमा मन गयो । कोरोनाकालमै २०७७ भदौ २८ मा गाउँपालिकामा तारागाउँ बाख्रा फर्म दर्ता गरे । अन्य कानुनी प्रक्रिया पनि पुरा गरे । सुरुमा २ वटा बाख्राबाट फर्म संचालनमा ल्याए । एक सय २० सम्म बाख्रा पुराए । ‘सुरुमै १९ लाख लगानी गरेको हुँ’ घर्तिमगरले भने, ‘तर कतैबाट पनि सहयोग पाइएन । अव बाख्रा घटाएर फेरी बिदेश जाने सोंचमा छु ।’ उनको खोरमा अहिले पाठापाठीसहित ७० बाख्रा छन । जमुनापारी र बोयर जातको क्रस बाख्रा उनीसंग छन् । फर्म सुरु गरेपछि पनि केही लगानी थपिएको उनको भनाई छ ।

बिदेशमात्रै गएर हुँदैन गाउँमै केही गर्नुपर्छ भन्नेहरु थुप्रै थिए । जनप्रतिनिधिले पनि अनुदान दिन्छौ भन्थे । तर अहिलेसम्म कोही पनि बाख्रा हेर्नसम्म नआएको गुनासो जंगबहादुरको छ । ‘छिमेकी र गाउँलेले राम्रै गरेको भन्छन । सरकारले हेर्दिनुपर्ने भन्छन्’ उनले भने, ‘तर कतैबाट कुनै सहयोग पाउन सकिएन । सबै टाठाबाठाको जमाना रहेछ ।’ गाउँपालिकाबाट नियमितरुपमा आएर मात्र हेर्दिए पनि मन शान्त हुने उनले सुनाए । उनकोमा ५ वटा बंगुर पनि छन् ।

जंगबहादुर र श्रीमती जसमती बाख्राको स्याहार सुसारमा खटिन्छन् । खसीबोका बागलुङ र पोखरा बजारमा पठाउथे । वर्षको ३ लाख जति आम्दानी हुन थालेको थियो । तर पछिल्लो समय पाठापाठी मर्न थालेका छन् । पछिल्लो एक महिनामा मात्रै दुई दर्जन बढी पाठापाठाी मरेको उनले बताए । पाठापाठीको नाकबाट सिंगान बग्ने, झोक्राउने र दुईतीन दिनमै मर्ने गरेको उनको भनाई छ । ‘एकै दिनमा ५ वटा पाठापाठी मरे’ उनले भने । सुरुमा पाठापाठी बिरामी भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई खबर गर्दा फोन उठेन । ‘आफै ‘इलाज’ गर्ने कुरा भएन् । केही दिनको अन्तरालपछि आएका प्राविधिकले पनि गलत उपचार गरेछन्’ उनले भने, ‘ठूलो क्षती भयो । अब बाख्रा नपाल्नेकी भन्ने मनस्थितिमा पुगेको छु ।’ उनले गाउँपालिका देखि विभिन्न निकायमा कर तिर्छन् । विदेश कति बस्ने, आफ्नै गाउँमा केही गरम भनेर बाख्रा पाल्न थालेको तर साथसहयोग नमिलेपछि फेरी विदेश जाने सोंच बनाएको उनले बताए । उनका २ छोरा विद्यालय पढ्दैछन् । श्रीमतीले रेखदेख गर्नेगरी अब केही बाख्रामात्रै राखेर आफु बिदेश जाने योजनामा रहेको उनले सुनाए ।

चिसोका कारण पाठापाठी मरेको उनको भनाइ छ । तर समयमै प्राविधिक नआइदिएकाले क्षति ब्यहोर्नुपरेको उनको गुनासो रहेको हो । नजिकै रहेको नेपाल माविको पशु चिकित्सालयबाट एकजना प्राविधिक गएर पाठापाठीको उपचार गरेका थिए । तर उक्त उपचार गलत भएको जंगवहादुरले बताए । ‘पछि आएका पशु प्राविधिकले गलत उपचारका कारण मरेको भनेर गए’, उनले भने, ‘जे भए पनि पालिकाबाट क्षतिपूर्ति पाउन पाए हुन्थ्यो । कम्तीमा पालीकाबाट जनप्रतिनिधि आएर हेरिदिए पनि मन शान्त हुन्थ्यो ।’

गाउँपालिका अध्यक्ष धनबहादुर बिकले घर्तिमगरका पाठापाठी मरेको ढिलो गरी थाहा पाएको बताए । चिसोको कारण पाठापाठी मरेको भन्ने पशु प्राविधिकले बताएको उनको भनाई छ । ‘पाठापाठी मर्नु चिन्ताको विषय रह्यो’ बिकले भने, ‘पालिकाबाट केही मात्रामा भए पनि राहत उपलब्ध गराउने योजनामा छौ ।’ ‘गाउँपालिकामा पशु प्राविधिक र औषधीको कुनै कमी छैन । वडैपिच्छे पशु प्राविधिक छन्, पालिकामा पशु चिकित्सक नै छन’, उनले भने, ‘पाठापाठीमा लक्षण देखिनसाथ पशु प्राविधिकलाई खबर गर्नुपर्ने थियो । तर खबरमा केही ढिलाई भएको रहेछ ।’ घर्तिमगरलाई केकस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा वडाध्यक्षसंग सल्लाह गरी अघि बढ्ने उनले जनाए ।ढोरपाटनन्यूज डट कमबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?