जापानमा बागलुङका दुई नक्षत्र सम्मानित: गायक सूर्य खड्कालाई ‘बागलुङ रत्न’ र खेलाडी भविन थापालाई विशेष सम्मान

-


     दिनेश थापा    
     चैत्र १० गते २०८२


टोकियो 

नेपाली लोक संस्कृति र खेलकुद क्षेत्रका दुई प्रखर व्यक्तित्वहरू जापानको माटोमा सम्मानित भएका छन्।

बागलुङ जिल्लामा जन्मिएर आफ्नो कर्मक्षेत्र जापान बनाउँदै आएका चर्चित लोक दोहोरी गायक सूर्य खड्का र कुशल भलिबल खेलाडी भविन थापालाई बागलुङ समाज जापानले एक भव्य समारोहका बीच सम्मान गरेको हो। नेपाली कला, संस्कृति र खेलकुदको प्रवर्द्धनमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो।

लोक दोहोरी गायक सूर्य खड्कालाई विशेष गरि नेपाली लोक संगीतको माध्यमबाट विश्वभरका नेपालीहरूलाई जोड्न र प्रवासमा पनि नेपाली पहिचानलाई जीवन्त राख्न पुर्‍याएको योगदानको मूल्यांकन गर्दै “बागलुङ रत्न” बाट विभूषित गरिएको छ। सांगीतिक यात्राका अनेकन् उकाली–ओराली र संघर्षहरूलाई पार गर्दै जापानी भूमिमा नेपाली लोक दोहोरीको जग बलियो बनाउन खड्काको भूमिका महत्वपूर्ण मानिन्छ। विशेष गरी विदेशमा बस्ने नेपालीहरूको पीडा, वेदना र भावनालाई आफ्ना सिर्जनामा उतार्न सिपालु खड्काले यो सम्मान प्राप्त गरेपछि निकै भावुक हुँदै संगीत आफ्नो पेशा मात्र नभई जीवनको धड्कन रहेको बताए। उनले यो सम्मानले आफूलाई भविष्यमा अझ जिम्मेवारीपूर्ण भएर लाग्न प्रेरित गरेको र अग्रजहरूको आशीर्वाद एवं श्रोताको मायाले नै आफू यो स्थानसम्म आइपुगेको उल्लेख गरे।

यसैगरी, बागलुङको गलकोटमा जन्मिएका अनुभवी एवं अनुशासित भलिबल खेलाडी भविन थापालाई चैत्राष्टमी मेला २०२६ को सुखद अवसरमा सम्मानित गरिएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा लामो समयदेखि सक्रिय थापाले जापानमा रहेका नेपाली युवाहरू माझ खेलकुदप्रतिको चासो र अनुशासन जगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको खेल कौशल र खेलप्रतिको समर्पणले नयाँ पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको कार्यक्रममा चर्चा गरियो। थापाले खेलको माध्यमबाट शारीरिक र मानसिक स्फूर्ति मात्र नभई नेपाली समुदायबीच एकता र भाइचारा कायम राख्न समेत ठूलो योगदान दिएका छन्।

कार्यक्रममा बोल्दै बागलुङ समाजका अध्यक्ष गुरुप्रसाद सापकोटाले सम्मानित व्यक्तित्वहरूको प्रशंसा गर्दै सूर्य खड्काले जापानी समुदायमा समेत नेपाली लोकगीत चिनाउन खेलेको भूमिका र भविन थापाको खेलप्रतिको लगाव समाजका लागि गर्वको विषय भएको बताए। यस्ता सम्मानले नेपाली कला र खेलकुदको गरिमा प्रवासमा अझ उच्च हुने विश्वास उनले व्यक्त गरे।

यसै अवसरमा बागलुङ समाजले आफ्नो चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०२६ पनि सफलतापूर्वक सम्पन्न गरेको छ। मार्च ४ तारिखमा तोडा स्पोर्ट्स सेन्टरमा आयोजित उक्त प्रतिस्पर्धामा विभिन्न टिमहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै घुम्टे युवा परिवार जापानले उपाधि हात पारेको छ भने पिरो स्पोर्ट्स क्लब उपविजेता बन्न सफल भयो। खेलकुद संयोजक बसन्त थापाले प्रतियोगिताले जापानमा भलिबलको लोकप्रियता बढाउनुका साथै नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने विश्वास दिलाए। यो सांगीतिक र खेलकुदको संगमले जापानमा रहेका नेपालीहरूको सांस्कृतिक गर्व र एकतालाई थप मजबुत बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?