टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिवल २०२४ को तयारीमा तिव्रता

-


     जनहित न्युज    
     कार्तिक ७ गते २०८१


नेपाल फेस्टिवलका लागि स्टल बुकिङ खुला

जापानको टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिवल २०२४ को तयारीलाई तिव्र पारिएको छ।
“नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन भन्ने मूल मान्यताका साथ आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोको नाकानो सिकिनोमोरी पार्कमा हुने १४ औं नेपाल फेस्टिवल-२०२४ का लागि आर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयम् सेवकका लागि आवेदन र विभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरुलाई सम्पर्क गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए।

गैर आवासीय नेपाली संघ( एनआरएनए ) राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदुतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटन प्रवर्द्धन गर्ने, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले १४ औं नेपाल फेस्टिवल गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक निउरेको भनाइ छ।
१४ औं नेपाल फेस्टिवल सञ्चालन हुने स्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ अन्तिम रुपमा पुगेको जानकारी दिँदै फेस्टिवल मूल आयोजक समितिका उप संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले विगतका वर्षमा भन्दा यस वर्ष स्टलको सख्या वृद्धि गरिएको र कार्यक्रम हुने स्थान समेत फराकिलो हुने भएको बताए ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य भइरहेको प्रवक्ता खगराज गौतम बताए ।
‘यस पटकको नेपाल फेस्टिवलमा नेपाललाई चिनाउने गरि स्टलको व्यवस्था गरि नियमित रुपमा डकुमेन्ट्री प्रदर्शन र फोटो प्रदर्शन गरिने छ ।’ एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले भने- नेपाल मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थल लगायत समेटिएको डकुमेन्ट्री र सोहि अनुसारका फोटो प्रदर्शन गरिने छ ।
धार्मिक र सामाजिक सत्भावसहितकाे नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस पटकको नेपाल फेस्टिवल गरिन लागेकोले जापानस्थित संघ संस्था, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई खुला हृदयका साथ आर्थिक सहयोग गर्नका लागि आर्थिक संयोजन उप समितिका संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले अनुरोध गरेका छन्।

‘दीर्घकालीन महत्वको योजनासहित यस वर्षको नेपाल फेस्टिवल गरिन लागेकोले यस्तो सुवर्ण अवसरमा मुख्य गरेर जापानवासी व्यावसायी, सामाजिक व्यक्तित्वसहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आफूले सक्दो आर्थिक सहयोग गरेर पुण्यलाभ लिनका लागि विशेष अनुरोध गर्दछु। आर्थिक व्यवस्थापन उप समितिका संयोजक शर्मा गैरेले भने – जापानबासी नेपालीको लागि यस पटकको नेपाल फेस्टिवलमा सहयोग गरेको रकम विशेष भएकोले यस अभियानमा जोडिनका लागि अनुरोध गर्दछु।
नेपाल फेस्टिवलका लागि स्टल बुकिङ खुला

१४ औं नेपाल फेस्टिव-२०२४ का लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।
नोभेम्बर १० तारिखसम्म स्टल बुकिङका लागि समय निर्धारण गरिएको स्टल व्यवस्थापन उप समितिका संयोजक तथा एनआरएनए जापानमा उपाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए।
‘नोभेम्बर १५ तारिख स्टल बुकिङको रकम भुक्तानसहित तोकिएको प्रणाली अनुसार स्टल बाँडफाँड गरिने सबैमा जानकारी गराईन्छ ।’ स्टल व्यवस्थापन उप समितिका संयोजकद्वारा जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ । – यो समयभित्रमा First come first service को मान्यतामा पहिलो बुकिङ र स्टलको तोकिएको शुल्क भुक्तान गर्नुहुनेलाई पहिलो प्राथमिकताका साथ स्टल उपलब्ध गराइने व्यवस्था रहेको समेत जानकारी गराउँदछौं।

१४ औं नेपाल फेस्टिवल-२०२४ मा स्टल राख्न इच्छुक व्यक्ति, व्यवसायी, संस्था लगायतले १४ औं नेपाल फेस्टिवल आयोजक मूल समारोह समिति अन्तर्गतको स्टल व्यवस्थापन उप समितिका संयोजक सचिन श्रेष्ठ र त्यससँग सम्बन्धित पदाधिकारी तथा व्यक्तिहरुसंग आवश्यक थप जानकारीको लागि सम्पर्क राख्न सकिने र स्टल बुकिङका गराउन इच्छुक व्यक्ति, व्यावसायी, विभिन्न संघ संस्था लगायतले तोकिएको स्टल बुकिङ फाराम अनिवार्य भर्नका लागि समेत अनुरोध गरिएको छ ।
स्टलहरुलाइ व्यवस्थित, छरितो र व्यावसायीमैत्री बनाउन यस पटक रेष्टुरेन्ट अर्थात फुड स्टल प्रयोजनका लागि 6m/ 3m का १२ वटा र अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि 3m/3m का २५ वटा गरि कुल ३७ स्टल रहने भएको छ ।
फेस्टिवल स्थलमा रहने स्टलहरुमा रेष्टुरेन्ट अर्थात् फुड स्टलका लागि तोकिएका स्टलहरुको प्रति स्टल ४० मान जापानी येन भाडा दर र ५ मान येन डिपोजिट गरि ४५ मान येन शुल्क तोकिएको छ भने अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि छुट्याइएको प्रति स्टलको लागि १६ मान येन भाडा शुल्क निर्धारण गरिएको संयोजक श्रेष्ठले बताए।
स्वयम् सेवकका रुपमा कार्य गर्न गरिएको इच्छुकहरुलाई आवेदन खुला

१४ औं नेपाल फेस्टिवल २०२४ को सञ्चालन अवधि भर कार्यक्रम सञ्चालन हुने स्थल र त्यस वरपर नेपाल फेस्टिवललाई व्यवस्थित बनाउन, आगन्तुक तथा दर्शकहरुको सहज आवत जावत र दृष्यावलोकन गर्न गराउन सहयोग पुर्याउन इच्छुक व्यक्ति तथा संघ संस्थालाई स्वयम् सेवकको रूपमा कार्य गर्न आवेदन खुला गरिएको स्वयम् सेवक परिचालन उप समितिका संयोजन तथा एनआरएनए जापान क्षेत्रीय समन्वय परिषद् कान्तोका संयोजक सागर कार्कीले जानकारी दिए।
व्यावसायिक र सेवामुलक स्टलहरुको व्यवस्थित सञ्चालनमा सहयोग गर्नका साथै नेपाल फेस्टिवल प्रभावकारी रुपमा संचालनमा आवश्यक सहयोग पुर्याउनका लागि स्वयम् सेवकको रुपमा १४ औं नेपाल फेस्टिवल २०२४ आयोजक समितिले तोकिएका नियमहरू पालना गरि स्वयम् सेवाको कार्य गर्नका इच्छुक जापान स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्वयम् सेवक परिचालन उप समितिले तयार पारेको गुगल फारम आगामी नोभेम्बर १५ भित्र भरि आवेदन गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको संयोजक कार्कीले बताए।

सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन उप समितिले समेत विभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरुलाई सम्पर्क गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए।

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका मौलिक नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाज, नेपालको प्राकृतिक रुपमा रहेका पर्यटकीय स्थलको प्रचार प्रसार लगायत कुरालाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई जापानमा परिचित गराउने गरी तयारीमा जुटेका छौ। उप संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष श्रेष्ठले भने- विशेष गरि नेपाली कला, संस्कृतिलाई प्रर्वद्धन र संरक्षण गर्दै परम्परा, संस्कृतिहरूको प्रदर्शन गरिने हुदा जापानमा रहनु भएका नेपाली समुदाय अन्र्तगत विभिन्न भेषभूषा मौलिक कला सस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुक महानु‌भावहरूले २०२४ नोभेम्बर १५ तारिकसम्ममा आफूले प्रस्तुत गर्ने विधासहित सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ ।
नेपाल र नेपालीलाई बहुसांस्कृतिक देश जापानमा परिचय गराउन नियमित रुपमा फेस्टिवल आयोजना गर्दै आइरहेको जानकारी दिँदै १४ औं नेपाल फेस्टिवल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले भने- नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुने विश्वास हामीले लिएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?