
Screenshot
टोकियो, जापान, जापानको अग्रणी क्रेडिट कार्ड कम्पनी ‘राकुतेन कार्ड’ (Rakuten Card) ले व्यवसाय सञ्चालनका लागि जुटाएको पुँजीमा लाग्ने उपभोग कर (Consumption Tax) सम्बन्धमा विवाद हुँदा कर कार्यालयले भारी रकम थप कर (Back Taxes) तिर्न निर्देशन दिएको छ।
टोकियो क्षेत्रीय कर ब्युरो (Tokyo Regional Taxation Bureau) ले गरेको अनुसन्धानमा कर गणनामा त्रुटि भेटिएको भन्दै कम्पनीलाई करिब ४ अर्ब २० करोड येन (नेपाली रुपैयाँ करिब ३ अर्ब ८० करोड भन्दा बढी) थप कर तिर्न लगाएको हो।
विवादको मुख्य कारण के हो?
यो विवाद कम्पनीले बजारबाट पुँजी जुटाउने (Fund raising) तरिकासँग सम्बन्धित छ।
- कम्पनीको तर्क: राकुतेन कार्डले आफ्ना ग्राहकहरूबाट उठ्न बाँकी रहेको रकम (Credit Receivables) लाई धितोको रूपमा प्रयोग गरेर वित्तीय संस्थाहरूबाट रकम जुटाएको थियो। कम्पनीको दाबी अनुसार, यो प्रक्रिया “उपभोग कर कानुन अन्तर्गत कर लाग्ने कारोबार होइन।”
- कर कार्यालयको निष्कर्ष: तर, टोकियो कर ब्युरोले भने यो प्रक्रियालाई केवल ऋण लिएको नभई ‘सम्पत्ति वा कर्जाको बिक्री/हस्तान्तरण’ (Assignment of Receivables) को रूपमा व्याख्या गरेको छ। नियम अनुसार, यस्तो वित्तीय कारोबारलाई ‘करयोग्य बिक्री अनुपात’ (Taxable Sales Ratio) गणना गर्दा समावेश गर्नुपर्ने हुन्छ, जुन राकुतेनले गरेको थिएन।
४ वर्षको हिसाब मिलान
कर कार्यालयले सन् २०२३ को डिसेम्बरसम्मको ४ वर्षको अवधिको हिसाब पुनः जाँच गरेको थियो। यस क्रममा कम कर घोषणा गरेकोमा लाग्ने जरिवाना (Underreporting penalty) समेत जोडेर कुल ४ अर्ब २१ करोड येन कर निर्धारण गरिएको छ।
कम्पनीको प्रतिक्रिया: “हामीले नियम संगत नै गरेका थियौं”
यस विषयमा राकुतेन कार्डले सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिदै तोकिएको थप कर रकम भुक्तानी गरिसकेको जनाएको छ।
कम्पनीले भनेको छ, “हामीले बाह्य विज्ञहरूको सल्लाह लिएर कानुन बमोजिम नै उचित कर प्रक्रिया अपनाएका थियौं। कर तिरिसकेको भए पनि हामी आफ्नो कर प्रक्रियाको वैधानिकता (Legality) पुष्टि गर्नका लागि निरन्तर आफ्नो पक्ष राख्नेछौं।”
राकुतेन कार्ड जापानको सबैभन्दा धेरै प्रयोगकर्ता भएको क्रेडिट कार्ड सेवाहरू मध्ये एक हो। यो घटनाले जापानका ठूला कर्पोरेट संस्थाहरूको कर व्यवस्थापनमा हुने जटिलतालाई सतहमा ल्याएको छ।



