
“प्रथम एनआरएनए जापान रनिंङ पुरुष भलिबल कप २०२३“ प्रतियोगिताको उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले उचालेको छ ।
एनआरएनए जापानको आयोजनामा सोमबार टोकियोको सिन्जुकु कस्मिक सेण्टरमा सम्पन्न प्रतियोगितामा एनवाईएससी जापानलाई सोझो २ सेटमा पराजित गर्दै क्लबले ३ लाख ५३ हजार ५३५ येन नगद, रनिङ कप, ट्रफी, मेडल र प्रमाण पत्र आफनो पोल्टामा पार्दा उप विजेतामा चित्त बुझाउन पुगेको एनवाईएससी जापानले २ लाख ५२ हजार ५२५ येन नगद मेडल र प्रमाण पत्र हात पारेको हो ।

‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने उद्देश्य सहित भएको प्रतियोगितामा जापानमा क्रियाशील बिभिन्न खेलाड़ी समूहका ११ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी)ले जानकारी दिए ।

खेलमा आत्मानुशासन ल्याउन र खेलाड़ीहरूलाई प्रोत्साहित गर्ने उदेश्यका साथ प्रतियोगितामामा खेलेका महेन्द्र साहानीलाई वेष्ट सेटर, रेशम बस्नेतलाई वेष्ट प्लेयर, अभिजीत रायमाझीलाई वेष्ट स्पाइकर, मनोज केसी पाण्डवलाई वेष्ट क्विकर, सुसन राईलाई वेष्ट डिफेन्डर र अम्मर भण्डारीलाई वेष्ट कोचका विधामा उत्कृष्ट छनौट गरि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा खेल क्षेत्रमा योगदान पुर्याउने श्री गुरुङ, रत्नसिंह बस्नेत, मदन साउद, नवीन गुरुङ लगायतलाई सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो भने कार्यक्रम सम्मान गर्नका लागि आर्थिक लगायतका क्षेत्रमा सहयोग गर्नेहरूलाई पनि सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा जापानमा क्रियाशील बिभिन्न संघ संस्था र समाजका व्यक्ति व्यक्तित्वको उपस्थिति रहेको थियो । प्रवासमा यस खालका प्रतियोगिताले खेल र खेलाड़ीको बिकासमा योगदान पुग्नेमा कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए । कार्यक्रम एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षता र महासचिव सिद्दार्थ श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।








