जापान पठाउने भन्दै साढे २ करोड ठगी गर्ने अजयकुमार पक्राउ

-


     जनहित न्युज    
     जेठ ७ गते २०८०


कोटामा जापान जान पाउने प्रलोभनमा ३६ जना ठगिएको घटना सार्वजनिक भएको छ।उनीहरूबाट दुई करोड ५३ लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी पक्राउ परेका छन् ।

उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको दाहालले बताए ।

बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेका थिए । ठगी प्रकरणमा उनका भाइ, बुहारी र बहिनी पनि आरोपित छन् । एक वर्षअघि जापानमा बसेर उनले आफन्त र साथीभाइलाई फोन गरेर जापान लैजाने लोभ देखाएका थिए ।

एक वर्ष जापान बसेर नेपाल फर्किएका उनले जापानमा राजवंशी कोटामा जान पाइने भन्दै युवाहरूलाई छक्काएर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।प्रारम्भिक अनुसन्धानमा उनले जापान लैजाने भनेर जना व्यक्तिबाट पाँच देखि १६ लाख रूपैयाँसम्म लिएको उजुरीमा देखिन्छ। अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको हो।  

अजयबाट ठगीएको बताउने सुनबर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी अजयकै साथी हुन् । निजी विद्यालय पढाउने मदनलाई २०७९ वैशाखमा जापानबाट अजयले फोन गरेर रोजगारीको अफर गरेका थिए । मासिक २ लाख ५० हजार तलब आउने भन्दै त्यसका लागि १६ लाख रुपैयाँ खर्च गर्नुपर्ने बताए ।

जापान जाने आशाम जग्गा र स्कुटर बेचेर उनले १६ लाख रुपैयाँ बुझाए । तीन महिनाभित्र विदेश उडाउछु भन्ने अजय सम्पर्कविहीन भएपछि आफू ठगिएको थाहा पाएको मदनले बताए । मदनजस्तै १६ लाख रुपैयाँ बुझाएका विवेक राजवंशी पनि आफू ठगिएको बताउँछन् ।

रंगेली नगरपालिका-९ का हरि राजवंशीले पनि अजयलाई पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् । वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनलाई अजयले फोन गरेर जापान बोलाएपछि कतार पुगेको १० महिनामै नेपाल फर्किए । इलेक्ट्रिक कम्पनीमा मासिक एक लाख ५० हजार रुपैयाँ तलब पाउने लोभ देखाएपछि काम छाडेर फर्किएको हरिले बताए ।

अजयले एक जना व्यक्तिबाट न्यूनतम पाँच लाख देखि १६ लाख रुपैयाँसम्म असुल गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् । अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको थियो । अजयका बाबु विसमलाल भने केही महिनाअघि पक्राउ पछि हाजिर जवानीमा छुटेका थिए ।

अजयले जापान बसेर व्यक्तिगत रुपमा सम्पर्क गरेर रोजगारीको प्रलोभन देखाएर ठगी गरेको पाइएको डीएसपी दाहालले बताए । ‘व्यक्तिगत रुपमा सम्पर्क गरेर अफर गर्दै ठगी गरेको देखिन्छ’ उनले भने ।

जो ठगीमा परे उनीहरू सहजै विदेश जान पाइने लोभमै परेका देखिन्छन्। तर यसरी फसेका सबै अझै प्रहरीमा उजुरी दिन समेत आएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?