जापानमा यसअघि कहिल्यै अनुभव नगरेको जस्तो खतरनाक ताइफु आउदै, ताइफुपूर्व नै सुरक्षितस्थलमा जान आग्रह

-


     जनहित न्युज    
     असाेज १ गते २०७९


जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ ताइफु आउने जोखिम रहेको बताएको छ। ताइफुबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई ताइफुपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ। 

‘नानमाडोल’ नाम दिइएको ताइफुले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ ताइफुका रूपमा वर्गीकृत गरिएको छ। दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो।
यो ताइफु आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र त्यसपछि जापानको मुख्य टापुतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

एजेन्सीका पूर्वानुमान निर्देशक रयुता कुरोराले पत्रकार सम्मेलनमा शुक्रबार रातिदेखि आएको ताइफु तीव्र गतिमा बढेको र “हामीले यसअघि कहिल्यै अनुभव नगरेको जस्तो खतरनाक (तुफान)” भएको बताए।
उनले थपे, “अधिकतम सावधानी आवश्यक छ। जोखिमको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई चाँडो भन्दा चाँडो खाली गर्न आवश्यक देखिन्छ। यो निकै खतरनाक ताइफु हो।” 
कुरोराका अनुसार कागोशिमा क्षेत्रका लागि शनिबार पछि पनि उच्च चेतावनी अपनाउन आवश्यक छ। जेएमएले केही दशकमा एकपटक देखिएको अवस्थाको पूर्वानुमान गरेपछि मात्र ‘विशेष चेतावनी’ चेतावनी जारी गर्छ।
सन् २०१३ मा वर्तमान प्रणाली सुरु भएयता ओकिनावा क्षेत्रबाहिर जारी गरिएको यो पहिलो आँधीसँग सम्बन्धित विशेष चेतावनी हो।
कुरोराले पत्रकारसँग भने, “हावाहुरी यति भीषण हुनेछ कि केही घरहरु ढल्न सक्छन्। बाढी र पहिरोको जोखिम पनि उत्तिकै छ।”
देशमा केही दशकहरूमा एक पटक कुनै असाधारण प्राकृतिक घटना भएको खण्डमा मात्र यस्तो आपतकालीन चेतावनी जारी गरिन्छ।ओकिनावा प्रिफेक्चरबाहेकका क्षेत्रहरूमा यो पहिलो यस्तो चेतावनी जारी गरिएको हो।

एजेन्सीका अनुसार शनिबार रातीदेखि सोमबारसम्म अमामी टापु र दक्षिणी क्युशुको धेरै नजिकबाट बिस्तारै चलिरहेको ताइफु जाने बताईएको छ ।
अधिकतम २७० किलोमिटर प्रतिघण्टाको हावासहित १९८ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण सोमबारदेखि तीन दिनसम्म जापानका विभिन्न भागमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
एजेन्सीका अनुसार दक्षिणी क्युसुमा २४ घण्टादेखि आइतबार बिहान ६ बजेसम्म ५०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ भने पश्चिम र मध्य जापानको शिकोकु र टोकाइ क्षेत्रमा ३०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ ।
रेल र खुद्रा चेनका केही अपरेटरहरूले आइतवार क्युसु क्षेत्रमा आफ्ना सेवाहरूको आंशिक निलम्बन गर्ने निर्णय गरिसकेका छन्।
जापानमा अहिले आँधीबेहरीको मौसम छ र एक वर्षमा लगभग २० आँधीबेहरीको सामना गर्नुपरिरहेको छ। आँधीका कारण भारी वर्षा हुने र पहिरो वा आकस्मिक बाढी आउने खतरा भएको बताएपछि प्रभावित क्षेत्रका मानिसहरू भयभित बनेका छन्।
सन् २०१९ मा जापानमा रग्बी विश्वकप आयोजना गर्ने क्रममा ह्यागिबिस नामक आँधीका कारण १०० भन्दा बढीको ज्यान गएको थियो। एक वर्षअघि जेबी आँधीले ओसाकाको कान्साई विमानस्थल क्षेत्रमा असर पारेको थियो। यसमा करिब १४ जनाको मृत्यु भएको थियो।

सन् २०१८ मा पश्चिमी जापानमा वर्षेनी आएको बाढी र पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको थियो।
जापान एयरलाइन्स र अल निप्पोन एयरवेजको वेबसाइटका अनुसार नानमाडोल आँधी आउनुअघि नै उडान रद्द हुँदा कागोशिमा, मियाजाकी र कुमामोतोलगायत क्षेत्रीय विमानस्थलको गतिविधि प्रभावित हुन थालेको छ। 
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापानमा आँधीबेहरीको गम्भीरता बढिरहेको छ र अत्यधिक गर्मीको लहर, खडेरी र बाढीजस्ता चरम मौसमहरू बारम्बार र तीव्र हुँदै गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?