
Screenshot
टोकियो/नागोया, जापान । बढ्दो महँगी (मुद्रास्फीति) को चपेटामा परेका नागरिकलाई राहत दिन जापान सरकारले ल्याएको विशेष आर्थिक प्याकेज कार्यान्वयनमा आएको छ। गत डिसेम्बरमा पारित पूरक बजेटअन्तर्गत सरकारले स्थानीय तहहरूलाई २ ट्रिलियन येन (२० खर्ब येन)बराबरको ‘प्राथमिकता सहयोग स्थानीय अनुदान’ (Priority Support Local Grant) उपलब्ध गराएको छ।
प्रधानमन्त्री सानाए ताकाइचीले यो बजेटमार्फत ‘बलियो अर्थतन्त्र’ निर्माणमा सरकारले स्पष्ट दिशा लिएको बताएकी छन्। केन्द्र सरकारले यो अनुदान रकम कसरी खर्च गर्ने भन्ने अधिकार स्थानीय नगरपालिकाहरूलाई नै दिएको छ। यसै सन्दर्भमा आईची र मिए प्रान्तका विभिन्न नगरपालिकाहरूले नागरिकलाई राहत दिन नगद वितरणदेखि पानीको बिल मिनाहासम्मका योजनाहरू सार्वजनिक गरेका छन्।
जापानमा बसोबास गर्ने नेपालीहरूका लागि पनि यी सुविधाहरू जानकारीमूलक हुनेछन्। कुन नगरमा कस्तो सुविधा दिइँदैछ? हेर्नुहोस् विवरण:
१. योक्काइची सिटी (मिए प्रान्त)
मिए प्रान्तको योक्काइची नगरपालिकाले नागरिकलाई सिधै नगद दिने निर्णय गरेको छ।
- नगद वितरण: प्रतिव्यक्ति ५,००० येन को अस्थायी विशेष लाभ रकम (Temporary Special Benefit) वितरण गरिनेछ।
- प्रिमियम भौचर: सहरमा बसोबास गर्नेहरूका लागि ३० प्रतिशत प्रिमियम (बोनस) पाइने डिजिटल सपिङ भौचर बिक्री गरिनेछ। मेयर मोरी तोमोहिरोका अनुसार यो योजना जनवरी ७ मा घोषणा गरिएको हो।
२. इनुयामा सिटी (आईची प्रान्त)
आईची प्रान्तको इनुयामा नगरपालिकाले ६ वटा विभिन्न राहत योजना अघि सारेको छ।
- सपिङ भौचर: नागरिकलाई प्रतिव्यक्ति ३,००० येन बराबरको सपिङ भौचर जुन महिनामा वितरण गरिनेछ। ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने थप ३,००० येन (जम्मा ६,०००) दिइनेछ।
- पानीको बिल निःशुल्क: अप्रिल महिनादेखि लागू हुने गरी ६ महिनासम्म पानीको आधारभूत शुल्क (Basic Charge) निःशुल्क गरिनेछ।
३. ओबु सिटी (आईची प्रान्त)
ओबु नगरपालिकाले बालबालिका र वयस्क दुवैलाई समेट्ने गरी प्याकेज ल्याएको छ।
- चामल वितरण: १८ वर्ष मुनिका बालबालिका भएका परिवारलाई २ किलो चामल वितरण सुरु भइसकेको छ, जुन जनवरी २० सम्ममा घरघरमा पुग्नेछ।
- नगद: १९ वर्षभन्दा माथिका नागरिकलाई ५,००० येन नगद दिइनेछ।
- पानीको बिल: फेब्रुअरीदेखि मे महिनासम्म (४ महिना) पानीको आधारभूत शुल्क ५० प्रतिशतले घटाइनेछ (आधा मात्र लाग्नेछ)।
४. इनाजावा सिटी (आईची प्रान्त)
इनाजावा नगरपालिकाले प्रविधि र खाजा खर्चमा जोड दिएको छ।
- डिजिटल पोइन्ट: सबै नागरिकलाई खाद्य सामग्री खरिद गर्न मिल्ने गरी ‘इना-पे एप’ (InaPAY App) मा ४,००० येन बराबरको पोइन्ट दिइनेछ।
- प्रिमियम भौचर: ३० प्रतिशत अतिरिक्त लाभ पाइने प्रिमियम भौचर जारी गरिनेछ।
- स्कुल खाजा: प्राथमिक विद्यालय (Elementary School) को खाजा खर्च (School Lunch Fee) फेब्रुअरी र मार्च महिनाका लागि निःशुल्क गरिनेछ।
५. नागोया सिटी (आईची प्रान्त)
जापानको प्रमुख सहरमध्येको एक नागोया सिटीले पनि महँगी नियन्त्रणका लागि ‘प्रिमियम गिफ्ट भौचर’ जारी गर्ने विषयमा छलफल अगाडि बढाएको छ।



