५ फीट ४ इञ्च उचाइ भएकी सारा मिजोगुची किशोरी हुँदा उनको वजन निकै कम थियो।
“म जुन बेला पनि खानेकुराबारे सोचिरहेकी हुन्थेँ र सधैँ भोकै हुन्थेँ। मैले वर्षमा एक दिन आफ्नो जन्मदिनमा बाहेक केक खाँदैन्थेँ। त्यो क्रम तीन चार वर्ष चल्यो। म पटक्कै खुसी थिइनँ।”
अहिले २९ वर्ष पुगेकी साराको जस्तै अवस्था जापानमा धेरैको छ। त्यसैले युवतीहरूमा कम वजन एक गम्भीर समस्या बनेको छ।
सन् २०१९ मा जापानको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणले २०.७ प्रतिशत अर्थात् २० देखि २९ वर्षका पाँच महिलामध्ये एक जनामा बडी मास इन्डेक्स बीएमआई १८.५ भन्दा कम अर्थात् चिकित्सकीय हिसाबमै कम वजन देखाएको थियो। साराको पनि बीएमआईले निर्धारण गरेको दायराभन्दा वजन कम नै थियो।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका मानिसको बीएमआई १८.५ देखि २५ सम्म हुनुपर्ने सुझाएको छ।
जापान उच्च आय भएको एकमात्र त्यस्तो देश हो जहाँ ठूलो सङ्ख्यामा कम वजन भएका महिलाहरू छन्।
सन् २०२४ मा दुब्लो वा मोटोपनको विश्वव्यापी प्रवृत्तिबारे गरिएको एक अध्ययन अनुसार पृथ्वीका गरिब ठाउँहरू जस्तै टिमोर-लेस्टे, बुरुन्डी, इरिट्रिया र निजेरमा मात्रै जापानको जस्तो कम वजन भएको दर भेटिन्छ। उक्त अध्ययन लान्सेट मेडिकल जर्नलमा प्रकाशित गरिएको थियो।
सन् १९९० पनि जापानमा कम वजन भएका महिला थिए तर तिनको वजन अहिलेको जस्तो कम थिएन। अनि अन्तर्राष्ट्रिय तालिकामा जापान अहिलेको जस्तो कम वजनको अवस्थामा थिएन। अहिले त्यस्तो अवस्था छ।
कैयौँ अध्ययनहरू र राष्ट्रिय सर्वेक्षणहरूले भर्खरैका युवतीहरूमा दुब्लो हुने प्रवृत्ति बढ्दो रहेको खुलासा गरेका छन्।
केही वर्षअघि “सिन्डरेला वेट” भन्ने शब्दावली जापानमा युवतीहरूमाझ फैलिएको थियो। जापानमा सिन्डेरेला वेट भन्ने शब्दावलीले १८.५ भन्दा कम बीएमआईलाई जनाउँछ जुन भनेको आधिकारिक दायराभन्दा कम वजन हो। तर धेरै महिला यस्तै कम वजन होस् भन्ने चाहन्थे।
यद्यपि, सिन्डेरेला वेट (किलोग्राममा) – जुन एक व्यक्तिको उचाइ मिटरमा निकाल्ने त्यसलाई वर्गमा परिवर्तित गर्ने र त्यसरी आएको अङ्कलाई १८ ले गुणा गर्ने- ले अनलाइनमा बहस नै चर्कायो। केही मानिसले त्यस्तो वजनलाई यथार्थपरक नभएको र अस्वस्थकर लक्ष्य भन्दै त्यसविरुद्ध बोले।
साँस्कृतिक मान्यता
जापानको हामामात्सु सहरमा रहेको शेइरेइ क्रिस्टोफर विश्वविद्यालयस्थित स्कूल अफ नर्सिङका प्राध्यापक टोमोहिरो एसुडाले कम वजन भएका जापानी नवयौवनाबारे अध्ययन गरेका छन्।
उनको अध्ययनले युवतीहरूले आफूले वजन बढाउनुपर्ने आवश्यकता ठानेको स्वीकार गरे पनि त्यो बढाउन चाहेकै वजन पनि बीएमआईभन्दा निकै कम हो।
उनको अध्ययनमा सहभागीहरूले आफ्नो वजन बढाउनुपर्ने स्वीकार गरे पनि उनीहरूले बढाउन चाहेको तौल नै स्वस्थ्यकर बीएमआईका लागि आवश्यक पर्नेभन्दा निकै कम थियो।
उनको अध्ययनमा भाग लिएका कम वजनका महिलाले २२ बीएमआई पुर्याउनका लागि १०.३ केजी वजन औसतमा बढाउनुपर्छ। तर उनीहरूलाई सोध्दा भने उनीहरूले केवल ०.४ केजी वजन बढाउन चाहेको बताए।
“जापानमा, युवतीहरू एकदमै दुब्ली हुने, प्रजननमा जोखिम हुने, कम वजनका बच्चा जन्मिने सार्कोपेनिया भनिने वृद्धावस्था वा हलचल नगरिकन बसेका कारण मांशपेशी कमजोर हुने जस्ता समस्या देखिएको छ,” उनले बीबीसीसँग भने।
कुपोषणले गर्दा हड्डी खिइने, रक्त अल्पता हुने र महिनावारी असन्तुलित हुने जस्ता समस्या हुन्छ। प्रोटिन पर्याप्त नहुँदा त्यसले मांसपेशीमा पनि समस्या हुन्छ।
प्राध्यापक एसुडाको मोटोपना र दुब्लोपनासम्बन्धी कक्षामा केही विद्यार्थीहरूले आफ्नो मन पर्ने सेलिब्रेटी वा प्रभावशाली व्यक्तिहरूको जस्तै दुब्लो आफू पनि बन्न चाहेको बताएका थिए।
“लामो समयसम्म अमेरिका र युरोपको फ्याशन र अन्य पक्षको जापानमा प्रशंसा गरियो र त्यसबाहेक जापानी सञ्चारमाध्यमले पनि यस्तो सोच बन्नुमा ठूलो भूमिका खेलेको छ,” उनले भने।
प्राध्यापक एसुडाले जापानी सञ्चारमाध्यममा पुरुषहरू फरक उमेर र फरक आवरणमा देखा परे पनि महिलालाई भने सधैँ युवा नै देखाइने गरेको व्याख्या गरे।
“धेरै युवतीहरूलाई दुब्लो नै देखाइने भएकाले मलाई लाग्छ दुब्लो हुनु राम्रो हो भन्ने प्रभाव परेको छ,” उनले थपे।
यदि यो सामग्रीमा भएका विषयले तपाईँलाई असर गरेमा तपाईँले व्यावसायिक स्वास्थ्यकर्मी वा संस्थाबाट सहायता लिनुपर्छ।
सारा कसरी फूड ‘इन्फ्लुएन्सर’ बनिन्
अहिले फूड इन्फ्लुएन्सर भएकी सारा मिजुगोची जापानको राजधानी टोकियोमा बस्छिन्। उनी सानी छँदा उनका अभिभावकले नै उनलाई दुब्लो हुन प्रोत्साहन गर्थे।
“मेरो आमा म मोटी बनुँ भन्ने चाहनुहुन्नथ्यो,” उनले बीबीसीसँग भनिन्।
खाना खाने बेला उनलाई आमाबुवाले भातमा कार्बोहाइड्रेट धेरै र कम पोषण हुने भन्दै भातको सट्टा मासु र तरकारी खान भन्थे।
त्यो बानी उनमा धेरै वर्षसम्म रह्यो।
उनले विद्यालय जाँदा लैजाने सानो टिफिन बक्समा सधैँ तरकारी र मासु मात्रै हुन्थ्यो: “मलाई भात खानै मन लाग्दैनथ्यो।”
१२ देखि १५ वर्षको हुँदासम्म सारालाई मोडल बन्न मन लाग्थ्यो। त्यसैले खाना खाँदा कति क्यालोरी हुन्छ भन्नेबारे उनी चिन्तित हुन्थिन्।
“विद्यालयमा यसबारे मेरो प्रतिस्पर्धा अर्की साथीसँग हुन्थ्यो। एक दिन उनको खाजामा सलाद, हरियो भटमास र थोरै सुँगुरको मासु थियो। म सम्झिन्छु मैले उनलाई तिम्रो खानेकुरामा क्यालोरी धेरै छ भनेकी थिएँ!”
माध्यमिक तहमा जीवविज्ञान पढ्न जाँदा साराले पर्याप्त खानेकुरा खान किन आवश्यक छ भन्ने महसुस गर्न थालिन्।
“मैले मानव शरीरबारे सिकेँ र त्यो मेरा लागि हल्का झट्का लगाउने क्षण थियो। हो, हामी सबैलाई पोषण आवश्यक पर्छ।”
सन् २०११ मा, देशको उत्तर-पूर्वमा गएको भूकम्प र सुनामीको झट्काले जापानमा आणविक विपद् निम्त्यायो।
“टीभीमा एक विज्ञले तपाईँ स्वस्थ हुनुहुन्छ भने आणविक विकिरणबाट तपाईँलाई असर गर्ने सम्भावना कम हुन्छ भनेर व्याख्या गरे। जीवविज्ञानको पाठ र ती विश्लेषकको टिप्पणीपछि मैले धेरै खान र वजन बढाउन थालेँ। मेरो वजन बढेर ४५ किलो पुगेको थियो।”
त्यसपछि उनी यूके गइन् र थाहा पाइन् कि त्यहाँ मानिसहरूले क्यालोरी धेरै भएको खानेकुराबारे त्यति ध्यान दिँदैनन्। उनको थप तीन किलो वजन बढ्यो।
“विश्वविद्यालयमा हुँदा मेरो जीवनमा खुसीयाली थियो। म बिदामा जापान फर्किएँ। मेरो आमासहित वरपरका मानिसले मलाई मोटो देखिइस् भने। त्यसैले फेरि केही वजन घटाएँ। तर त्यो लामो समय रहेन।”
चार वर्षअघि २५ वर्षको हुँदा साराले पुनः भात खान थालिन्।
“म धेरै खुसी र स्वस्थ छु; मैले ७ किलो वजन बढाएँ र अहिले म स्वस्थ मानिसमा हुनुपर्ने वजनको दायराभित्र छु। व्यायाम गर्ने भएकाले मेरो मांसपेशी पनि बलियो छ।”
जापानमा सुन्दरताको मापनलाई चुनौती दिँदै
जापानमा अन्य मानिसहरूले सुन्दरताको मापन र कम वजन राख्ने प्रवृत्तिलाई चुनौती दिन थालेका छन्।
टोकियोको दक्षिणमा पर्ने तटीय क्षेत्र कानाकावामा बस्ने २५ वर्षीया डुल्मी ओबाटा आधा जापानी र आधा श्रीलङ्काली हुन्।
उनको गहुँगोरो वर्ण, ठूलो शरीर र कपालको फरक रङका कारण विद्यालयमा उनलाई मानिसहरूले जिस्काउँथे।
प्राथमिक विद्यालयमा केही केटाहरूले उनलाई काली केटी भनेर बोलाउँथे। उनीसँग खेलौना लिन पनि साथीहरू चाहँदैन्थे।
“उनीहरू मेरो हात फोहोर छ भन्ठान्थे। मलाई चित्त दुख्थ्यो,” डुल्मीले भनिन्।
करिब १३ वर्षकी हुँदा उनले आफ्नो शरीरमा आएको परिवर्तन याद गर्न थालेकी थिइन् तर त्यसले उनलाई खासै सताएको थिएन।
सन् २०२१ मा “प्लस-साइज” मोडलहरूबारे अनुसन्धान गरेपछि डुल्मी मिस युनिभर्स जापान प्रतियोगितामा प्रवेश गरिन्। त्यति बेला उनलाई अन्य महिलाको दुब्लो र “चलनचल्तीको” शरीर हुनेछ भन्ने थाहा थियो।
“प्रतिस्पर्धाका क्रममा मैले वजन कम गर्न चाहिनँ। म ‘बडि पोजिटिभिटी’ र आफू प्लस-साइज मोडल भएकोबारे देखाउन चाहन्थेँ। म जापानमा सुन्दरताको मापनलाई परिवर्तन गर्न चाहन्थेँ।”
डुल्मी फाइनलसम्म पुगिन्। उनलाई लाग्छ प्रतिस्पर्धामा त्यहाँसम्म पुग्ने उनी एक मात्रै प्लस-साइज महिला हुन्।
“पक्कै पनि, म आफैँमा गर्व गर्छु। मेरो बाल्यकालको अनुभवले समय समयमा म आत्मविश्वास गुमाउँन पुगेँ। मसँग अहिले पनि शत प्रतिशत आत्मविश्वास छैन, तर ठिकै छ,” उनले भनिन्।
पुरुष प्रभुत्व
अमेरिकाको क्यान्ससमा जापानको आधुनिक समय पूर्वको इतिहास र खाना संस्कृतिबारे अध्यापन गर्ने एरिक र्याथले जापानी संस्कृतिमा दुब्लोलाई लामो समयदेखि सौन्दर्यका रूपमा लिइँदै आएको बताए।
“यदि तपाईँले किमोनो (जापानको राष्ट्रिय पोसाक)बारे सोच्नुभयो भने यसले पातलो शरीर देखाउँछ र महिलाहरू दुब्लो देखिन त्यसलाई कस्सिने गरी गरेर लगाउँछन्,” उनले भने।
उनले जापानमा पुरुषको रोजाइको प्रभुत्व रहेको उल्लेख गरे।
अहिले जापानी महिलाहरूले विभिन्न किसिमका पूर्वाग्रहको सामना गरिरहेको उनले बताए।
“उनीहरूले विवाह गर्नुपर्छ, बच्चा जन्माउनुपर्छ,” उनले भने। “यदि उनीहरूले काम गरे भने कार्यस्थलमा विभेदको सामना गर्नुपर्छ। उनीहरूले यस्ता कुनै पनि कुरा काबुमा राख्न सक्दैनन्। तर वजन कम गर्ने कुरा भने उनीहरूले आफ्नो काबुमा राख्न सक्छन्। त्यसैले कतिपय युवती अति कम वजनसम्म पनि पुग्छन्। ”
कम वजन सँस्कृतिलाई चुनौती दिँदै
जापानका विभिन्न सरकारले महिलाको कम वजनसम्बन्धी समस्यासँग जुझ्न विभिन्न उपाय अपनाउँदै आएका छन्। त्यस्ता उपायमा विद्यार्थीहरूलाई पोषणसम्बन्धी निर्देशिका पनि जारी गरिएको छ।
सन् २००० को मार्च महिनामा सरकारले जापानी नागरिकका लागि ‘डाइटरी गाइडलाइन्स’ जारी गरेको थियो। उक्त निर्देशिकामध्ये एउटा बुँदाले जनसङ्ख्याले उचित वजन हुनुपर्ने र सन्तुलित आहार र आवश्यक अभ्यास गर्नुपर्ने र वजन धेरै घटाउने प्रयास गर्न नहुने उल्लेख गरेको थियो।
सन् २०२२ मा सरकारले समाजका विभिन्न क्षेत्रमा अभियान सुरुवात गर्यो। उक्त अभियानले पोषणसम्बन्धी र युवतीहरूमा कम वजनसम्बन्धी समस्याहरू रहेको स्वीकार गरेको छ।
टोकियोबाहिर रहेको यामाटो शहरका स्थानीय स्थानीय निकायहरूले कम वजन हुनु आकर्षक हो भन्ने धारणालाई कमजोर पार्न कोसिस गर्दै माध्यमिक विद्यालयदेखि विश्वविद्यालयसम्म पोषणबारे शिक्षा दिने प्रयत्न गरेका थिए।
त्यसका लागि उनीहरूले मासिक रूपमा महिलाको स्वास्थ्य परीक्षण र पोषणसम्बन्धी छुट्टाछुट्टै परामर्श दिएका थिए।
यद्यपि, जापानमा रहेको प्लस-साइज मोडलिङ कम्पनीको प्रतिनिधित्व गर्ने यासुको (थर लेखिएको छैन) जापानमा प्लस-साइज महिलाबारे अझै पनि पूर्वाग्रही धारणा रहेको ठान्छिन्। प्लस साइजका महिलाहरूलाई दुब्लो शरीर भएका महिलाभन्दा “कम भाउ भएका” रूपमा लिइने उनले बताइन्।
उनले प्लस-साइजका धेरै महिलाहरूलाई उनीहरूका आफ्नै आमाबुवाले निन्दा गरिदिने, साथीहरूले जिस्काउने, समाजमा “अदृश्य” महसुस गर्नुपर्ने बताइन्।
उनीहरूले आफ्नो नाप अनुसारको लुगा पनि नपाउने उनले बताइन्।
पश्चिमा देशमा भन्दा एसियामा लुगाको नाप सामान्यतया सानो हुन्छ।
तर जापानमा भने विश्वका अन्य देशमा भन्दा उल्लेख्य रूपमा अझै सानो पाइन्छ। केही सपिङ वेबसाइटहरूले त पश्चिमाहरूलाई जापानमा लुगा किन्दा सामान्यभन्दा चार गुणा ठूलो किन्न सुझाउँछन्।
यासुकोले सार्वजनिक यातायातमा आफूसँग भएको एउटा खास घटना सम्झिइन्।
“एक जना वयस्क पुरुषले भीड रेलमा मलाई भनेको कुराले मलाई एकदमै चित्त दुखायो: ‘यस्तो भद्दा र उत्तेजक शरीर भएर तिमी कसरी बाँच्न सक्छौँ? तिमीलाई लज्जा बोध हुँदैन?,'” उनले भनिन्।
यस्ता टिप्पणीहरूलाई उनी बेवास्ता गर्न खोज्छिन्। बरु जापानमा भावी पुस्ताका प्लस-साइज महिलाका लागि मानिसका पूर्वाग्रहविरुद्ध लड्नमा उनी आफू केन्द्रित हुन चाहन्छिन्।