बागलुङ कांग्रेसको चुनावी अभियानको नारा ‘जनतासँग नेपाली काँग्रेस’

-


     जनहित न्युज    
     फागुन ३ गते २०७८


नेपाली काँग्रेस बागलुङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका दश वटै स्थानीय तहका प्रत्येक गाउँ, वडा र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको हो ।

सोमबार जिल्लाको गलकोट हटियामा बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने काँग्रेस बागलुङका सभापती जित शेरचनले बताए । ‘काँग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत भएर अभियान संचालन गरेको छ ।

यो अभियान पार्टीको संगठन सुदृढिकरणका निम्ति सार्थक बन्नेछ, सभापति शेरचनले भने,–‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्ने छ । कार्यकर्तासँग अन्तरक्रिया गछौं ,समस्या बुझछौं र समाधानको बोटो खोज्नेछौं ।’ उनले आगामी स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले छुट्टै रणनीति तय गर्ने बताए । अभियान आगामी सातादेखि संचालन हुने जिल्ला तहकै नेतालाई जिम्मेवारी प्रदान गर्ने काँग्रेस बागलुङले जनाएको छ ।

बैठकले महासमिति सदस्यको निर्वाचनका लागि फागुन ७ गते मनोनयन दर्ता गर्ने र फागुन ९ गर्ने निर्वाचनको मिति तय गरेको काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले बताए ।क्षेत्रीय अधिवेशनमा नै महासमिति सदस्यका लागि निर्वाचन हुनुपर्नेमा केहीको निर्विरोध भएता पनि केहीमा भने बाँकी रहेका कारण केन्द्रिय निर्देशन अनुसार मिति तय गरिएको सचिव शर्माले बताए ।

कांग्रेस बागलुङले निर्माण गर्न लागेको वीपी स्मृती भवनको निर्माणको अभियानमा बैठक मार्फत सबै क्रियाशिल सदस्यहरुलाई सहभागी हुन आग्रह गरिएको छ ।

नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य चम्पा खड्का पूर्वपार्टी सभापति कुलराज शर्मा, निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, जिल्ला

कार्यसमितिका उपसभापति तारानाथ शर्मा, सचिवद्धय गण्डकी थापा अधिकारी, हरिहर शर्मा, सहसचिव ज्ञानु श्रीष शर्मा, महाधिवेशन प्रतिनिधि जगदशिचन्द्र उपाध्याय, क्षेत्रीय सभापति जोकलाल बुढा, प्रदेश क्षेत्रीय सभापति मेषलाल शर्मा, तिलक घर्ति, सन्तोष कुँवर, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, गलकोट नगरपालिकाका सभापति विरजंग भण्डारी, ढोरपाटन नगरपालिका सभापति कल्याण कायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?