माओवादी जनयुद्दको जगमा प्राप्त उपलब्धीको रक्षाका लागि आठौ महाधिवेशनले तय गरेको कार्यदिशा समातेर अघि बढ्नु आजको आवश्यकता- नेता प्रभाकर

-


     जनहित न्युज    
     फागुन २ गते २०७८


सामन्तवादको विरुद्ध र नेपाली सर्वहारा वर्गको मुक्तिका निम्ति संचालन गरिएको नेपाली मौलिकताको जनयुद्दमार्फत हाल मुलुक माओवादीकै एजेण्डामा संचालन भएकोले आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबैले आफ़नो ठाउबाट लाग्नुपर्ने आवश्यकता रहेको माओवादी केन्द्रका प्रभावशाली नेता तथा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन ।
२७ औं जनयुद्द दिवशको अवसरमा नेपाली जनप्रगतिशील मंच जापानले भर्चुवल रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रभाकरले पछिल्लो समयमा बिश्व कम्युनिस्ट क्रान्तिलाई नै सकारात्मक सन्देश दिने गरि भएको जनयुद्दको जगमा गणतन्त्र, संघीयता, सामवेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धी हासिल भएकाले तिनीहरूको विरूद्दमा एकथरि क्रान्ति विरोधीहरू लागिरहेकोले त्यसको रक्षाको लागि सबै आफ्नो ठाउॅबाट लड्नुपर्ने पनि आवश्यकता रहेको बताए ।
कार्यकर्ता र नेता बिचको सम्बन्ध टुटेको आभाष भएको प्रति चिन्ता व्यक्त गर्दै नेता प्रभाकरले पार्टीको आठौ महाधिवेशनले तय गरेको कार्यदिशा समातेर अघि बढ्न सकियो भने त्यो समस्यापनि समाधान भै पुन ऊर्जाका साथ देशभर माओवादीले अंगिकार गरेको समाजबादको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले जनयुद्द दिवसलाई जापानमा रहेका साथै विश्वभरी रहेका जनप्रगतिशिल मंचले शानदार रुपमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुमा गौरवको कुरा भएको बताए । शर्माले पार्टीलाई विपक्षी तथा दुष्मनहरुले लगाउने भ्रमहरुलाई शसक्त रुपमा चिर्दै पार्टीले निश्चित गरेको कार्यदिशालाई सफल बनाउन लाग्नुपर्ने सबै माओबादी क़्याडरहरुको दायित्व रहेको बताए ।”हाम्रो बिचार ठिक भयो भने हामी जित्छौ” भन्ने मान्यतालाई आत्मसात् गर्दै हालै सम्पन्न महाधिवेशनबाट नया विचारसहित पार्टी आएकोले अब जनयुद्दको मर्म अनुरूप नै गतिविधि संचालन हुने बताए ।

जनतासँग नेताको सम्बन्ध टाढिंदै गएको पार्टीको वर्तमान अवस्थामा अब नेतातर्फ नभई जनतातर्फ हामी फ़र्किन सकेऔ भने पार्टीले महान जनयुद्दका क्रममा जुन खालको जनतासॅग सम्बन्ध थियो, त्यो सम्बन्ध पुनर्स्थापना हुने विश्वास प्रवास समन्वय कमिटीका सदस्य तथा पूर्वी एसिया संयोजक हर्क थापाले व्यक्त गरे ।
आमुल परिबर्तनका लागि भएको जनयुद्दपछि शान्ति प्रक्रियामा आईसकेपछि पार्टी पटक पटक सरकार रहेपनि जनभावना अनुरूपका कार्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रवास समन्वय समितिका सदस्य डा भुपालमान श्रेष्ठले जनयुद्दको भावना र मर्म अनुसारका कार्य गर्दै विगतका कमजोरीको सुधारमार्फत पार्टीको आगामी यात्रा तय गर्न सुझाब दिए ।
मंचका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक हवलचन्द्र लामाले शुभकामना व्यक्त गर्दै जनयुद्दको उद्देश्य परिपूर्तिका लागि सबै माओबादीहरु एकजुट भएर अघि बढ्नु पर्ने आजको आवश्यकताम जोड दिए ।
जनयुद्दको क्रममा घाईते अपांग भएकाहरूको जीवनस्तर निकै कष्टकर रहेको उनीहरूको स्वास्थ्य सुधारसहित आवश्यक सहयोगका लागि जापान मंचले पहलकदमी लिनको लागि मंचका इन्चार्ज रामहरी पुडासैनीले सुझाब व्यक्त गरे ।
मंचका निवर्तमान सचिव शालिकराम भण्डारीले जनयुद्दले नै शोषक सामन्तहरुको जरा हल्लाएर फाल्न सफल भएको सन्देश तल्लो तहका जनतासम्म पुर्याउनु आजको आवश्यकता रहेको बताए ।
भर्चुअल माध्यमबाट भएको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रगतिशिल मॅच जापानका अध्यक्ष भवानी पन्तको अध्यक्षता महासचिब बाबुराम पौडेलको कार्यक्रम संचालन तथा उपाध्यक्ष श्यामहरि पाण्डेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?