एमालेले नक्कली एम अधिकारी बनाउन खोजेपछि मनोजलाई तनाव, फोनै अफ गरेर सम्पर्कविहीन ! 

-


     जनहित न्युज    
     असार ३० गते २०७९


नेकपा एमालेले अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएका छन् ।

एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको भन्दै विभिन्न प्रमाणहरू सार्वजनिक भएपछि एमाले नयाँ एम अधिकारीको खोजीमा लागेको थियो ।

यसबीचमा बिहीवार केही नेताले मिडियामा सूचना चुहाए– एम अधिकारी भनेको सीए मनोज अधिकारी हुन्, विराटनगरतिर बस्छन् ।

यो समाचार आउनेबित्तिकै मनोजको फोनमा तारन्तर घण्टी बज्न थाल्यो । मनोजलाई सुवेदी थरका एक व्यक्तिले एमाले पार्टीको तर्फबाट आएको आग्रहअनुसार ‘एम अधिकारी’ बनिदिन मनाएका थिए ।

स्रोतका अनुसार ‘गभर्नरसापलाई साह्रै अप्ठ्यारो पार्ने भए । केही समयलाई तपाईं एम अधिकारी बनिदिनुपर्‍यो, त्यसबापत पछि पार्टीले हेर्छ,’ भनेर सुवेदीले आग्रह गरेपछि शुरूमा मनोज तयार पनि भएका रहेछन् ।

मनोज विराटनगरमा सीए फर्म चलाउँछन् । भारतमा रहेको सुशीललाल एन्ड एसोसिएटसँगको पार्टनरसीपमा उनले हालसालै फर्म सञ्चालनमा ल्याएका हुन् ।

वि.सं. २०४४ मंसिर ६ गते जन्मिएका मनोजको ठेगाना विराटनगर– ५ भनेर नागरिकतामा उल्लेख गरिएको छ ।

हेर्नुहोस्, नागरिकताको कपि :

‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इन्डिया’बाट सन् २०१४ मा सीए परीक्षा उत्तीर्ण गरेका मनोज यसअघि काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सुबोध एसोसिएटसँग जोडिएर विराटनगरमै काम गर्थे । 

हेर्नुहोस्, उनले सीए पास गरेको सर्टिफिकेट :

उमेरले ३५ वर्षमात्र टेक्न लागेका मनोजलाई एमालेले डाक्टर र प्राध्यापक डाक्टरहरूभन्दा अगाडिको वरीयतामा राखेका एम अधिकारी बनिदिन जसोतसो मनाएको थियो ।

तर उनका चिनजानका साथीभाइ, आफन्त र शुभचिन्तकहरूले ‘फस्लास् है भाइ, यो त जेल जाने केश हुन्छ’ भनेपछि उनी फोन सम्पर्क नहुने बनाएर बसेको स्रोतको दाबी छ ।

यो समाचार तयार पार्दासम्म उनको फोनमा सम्पर्क हुन सकेको छैन ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ ।

कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था छ ।

तर, त्यसविपरीत गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागको सदस्य बनेको भन्दै सडकदेखि सदनसम्म उनको राजीनामा मागिएको छ ।

एमालेले यही असार २६ गते जारी गरेको ‘अन्तरपार्टी निर्देशन’मा ‘अर्थ तथा योजना विभाग’को सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।

तर, नक्कली एम अधिकारी बनाउन खोजिएका व्यक्ति खोटाङका भने होइनन् ।

खोटाङमा अर्थ विभागको सदस्य बनाउन योग्य अर्को कुनै एम अधिकारी नभेटिएपछि खोटाङबाट मोरङ झरेको भन्ने आशयमा मनोजलाई एम अधिकारी बनाउन प्रयास गरिएको स्रोतको दाबी छ ।

मनोजलाई शुरूमा एम अधिकारी बनिदिन मनाउने व्यक्ति पनि अडिट पेशासँग नै सम्बन्धित हुन् । उनी एमालेसँग निकट रहेर काम गर्छन् ।

त्यसो त एमालेले २०७३ जेठ २१ मा विभाग गठनपछि जारी गरेको प्रेस वक्तव्यमा अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारी नै सदस्य थिए ।

उनको ठेगाना पनि खोटाङ भनेर नै उल्लेख गरिएको थियो ।

त्यतिबेलै उनले आफू सदस्य नरहेको भनेर पार्टीलाई जानकारी गराएको तथा पार्टीले समेत सोही बेहोराको पत्र पठाएको भनी अहिले पत्रहरू पनि सार्वजनिक गरिएको छ । तर, एमालेको अर्थ विभागका एक सदस्यले महाप्रसाद अधिकारी बैठकमा समेत आउने गरेको भनेर स्वीकारेको ‘अडियो क्लिप’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यता सदनमा पनि सत्तापक्षीय सांसदहरूले एम अधिकारी को हो भनेर प्रश्न गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका प्रभावशाली सांसद नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीवार राष्ट्रिय सभा बैठकमा एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एउटै व्यक्ति भएको आशंका गरिएको भन्दै यदि त्यसो होइन भने चित्तबुझ्दो प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले पनि गभर्नरलाई एम अधिकारीसँग जोडेर कटाक्ष गरेका थिए ।

मौद्रिक नीतिसम्बन्धी केही सरोकार राख्दै गगनले मैले गभर्नर महाप्रसाद अधिकारीलाई भनेको हुँ, एमालेको अर्थ विभागको सदस्य एम अधिकारीलाई हैन भन्ने आशयसहित कटाक्ष गरेका थिए ।

चौतर्फी रूपमा एम अधिकारी को हो भनेर प्रश्न उठिराख्दा एमालेले चित्त बुझ्दो जवाफ भने दिन सकेको छैन ।​( लोकान्तरका सह-सम्पादक, समाचार तथा डेस्क संयोजक रामचन्द्र भण्डारीले यो समाचार तयार पारेका हुन र लोकान्तरबाट साभार गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?