एनआरएनए जापानद्वारा जापानको भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान

-


     जनहित न्युज    
     पौष २८ गते २०८०


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।
नयाँ वर्ष कै दिन जापानको ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भुकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविर मध्य दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।

भूकम्पको अति प्रभावित क्षेत्र मध्य शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरि ४०० त्यसै गरि शनिबार सुजुसी इदा माध्यामिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरि ३२५ जना गरि कुल ७२५ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा जानकारी दिए ।
भूकम्प पश्चात २ सय बढिको ज्यान जानुका साथै सयौ सम्पर्कविहिन रहेको र खानेपानी आपूर्ति विद्युत् नियमितता, सडक सञ्चालनको नियमितता लगायत दैनिक अत्यावश्यक सामग्रीको तथा वस्तुको उपलब्धतामा अझै कठिनाई भोगिरहेका जापानी नागरिकहरुलाई नेपालीको तर्फबाट सकेको सहयोग गरिएको अध्यक्ष निउरेले बताए।

“प्रतिकूल मौषम र भूकम्पका कारण बिग्रिएको सडकका बावजुद पनि भौतिक रूपमै भूकम्प प्रभावित क्षेत्रमा पुगेर विपत्तिका समयमा जापानीहरुसँग नेपाली पनि सँग सँगै छौं भन्ने आभास दिलाउन सफल भएका छौं।” अध्यक्ष निउरेले भने- यस्ता कार्यबाट नेपालीको सहयोगीपनप्रति जापानी नागरिकले खुशी व्यक्त गरेका छन्।

भूकम्पले दिएको पिडा त छदै थियो त्यसैमाथि परेको बाक्लो हिमपातको कारण बढेको चिसोको समयमा तातो तातो खानेकुरा खान पाएकोमा जापानीहरुको मुहारमा मुस्कान देखिएको एनआरएनए जापानको विशेषज्ञ समितिका सदस्य तथा सहयोग टोलीका सदस्य ज़िज्ञानकुमार थापाले बताए।
नेपालमा पर्ने प्राकृतिक विपत्तिका समयमा जापान र जापानी नागरिकले सहयोग गर्दै आइरहेको र जापानमा परेको विपत्तिमा पनि हामीले सक्ने सहयोग विपत प्रभावित क्षेत्रमा नै पुगेर गरेको भनाइ थापाको छ।

जापानमा रहेका हामी नेपालीले जापानका नागरिकलाई परेको अप्ठ्यारो र प्राकृतिक विपत्तिका समयमा आफूले सक्दो सहयोग गर्नु हाम्रो दायित्व सम्झिएर उक्त कार्य गरिएको र यस्ता कार्यले दुई देशको सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।

बिहीबार आवश्यक तयारीका साथ भूकम्प प्रभावित क्षेत्र तर्फ जाने सहयोगी टोलीमा अध्यक्ष नविन निउरे उपाध्यक्ष कृष्ण शर्मा गैरे, महासचिव टिकाराम खरेल, सदस्य तथा सहयोग कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा, सदस्य दिलिप शर्मा, विशेषज्ञ समिति सदस्य जिज्ञानकुमार थापा, विशेषज्ञ समिति सदस्य हरि सापकोटा, बागलुङ समाज जापानका अध्यक्ष यम कँडेल, एनआरएनए जापान कांसाईका उप संयोजक टिआर गौडेल, सुरेन खड्का, गलकोट समाज जापानका सल्लाहकार जगत थापा, सुमित खत्री, गलकोट समाज जापान कांसाईका अध्यक्ष रामु साहनी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?